बसन्त पञ्चमीको संक्षिप्त परिचय

सिल्लाथ्व (माघ शुक्ल) पञ्चमीको दिनलाई हिन्दू धर्मावलम्बीहरुले सरस्वती पूजाको रुपमा मनाउने गर्दछन् । बसन्त ऋतुको पहिलो पञ्चमी भएकोले यस दिनलाई वसन्त पञ्चमीको रुपमा पनि लिइन्छ । बौद्ध धर्मावलम्वीहरुले श्री पञ्चमीका दिनमा महा–मञ्जुश्रीलाई पूजा गर्दै आइरहेका छन् । यस दिन विद्या कि देवी सरस्वतीको विशेष पूजा आराधना गरिन्छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन यस पर्व ठूलो उत्साह सहित मनाइन्छ । यस दिन देवी सरस्वतीले पहेंलो वस्त्र धारण गर्दछिन् । देवी सरस्वतीलाई विशेष गरी ज्ञान, भाषा र शीपकी देवीको रुपमा पूजिन्छ । बौद्ध धर्मावलम्बीहरुले महा–मञ्जुश्रीलाई बोधिसत्वको रुपमा लिने गर्दछन् । इतिहासकारहरुले बोधिसत्वलाई नै मन्त्रको प्रतिपादन र विक्रम सम्बतको शुरुवात यिनैको पालामा भएको मान्ने गर्दछन् ।
यस दिन सरस्वतीको पूजा पाठ गरी जप तप गरि आराधना गरे अज्ञानी मानिस ज्ञानी बन्छ भन्ने धारणा छ । यस दिन देवी सरस्वतीको पूजा गरी अक्षर सिकेमा ज्ञानी गुणी भई सर्वसिद्धि प्राप्त गर्छ भन्ने हेतुले यस दिन प्रत्येक विद्यालयहरुमा देवी सरस्वतीको विशेष पूजा आराधना गराइन्छ । विद्यार्थीहरुलाई सरस्वतीको विशेष स्तुति गान गराई, सरस्वतीको प्रसाद ग्रहण गराउनुको साथै नयाँ बालबालिकाहरुलाई यस दिन कलम समाई कापीमा अक्षर उतार्न वा लेख्न लगाउने प्रचलन छ । नेवाः परम्परा अनुसार यस दिन सरस्वतीको मन्दिरहरुमा आप्mना बालबालिकाहरुलाई विभिन्न स्थानहरुमा अवस्थित सरस्वतीको मन्दिरहरुमा विशेष पूजा आराधना गराई, मन्दिरहरुमा चकले आफ्नो नाम लेख्ने र प्रसादको रुपमा पाँचवटा अक्षता दातले नछुवाईकन निल्न लगाउने गर्दछ । साथै देवी सरस्वतीको टिका प्रसाद निधार तथा घाँटीमा लगाउने प्रचलन छ । यस दिन विभिन्न स्थानहरुमा अवस्थित देवी सरस्वतीको मन्दिरहरुमा बढि मात्रामा श्रद्धालु भक्तजनहरु तथा बालबालिकाहरुको विशेष घूइँचो लाग्ने गर्दछ । कुनै पनि प्रकारको सिप सिकाई वा बुनाईको क्रममा नेवाः समुदायले देवी सरस्वतीको पूजा आराधना गरी सिकाई तथा बुनाई प्रक्रिया शुरुवाट गरिन्छ । जसले गर्दा कुनैपति कार्य सफलता पूर्वक सम्पन्न हुृने र भइरहेको पनि अनुभव गर्न सक्दछौं ।
देवी सरस्वतीको मूर्ति प्रतिस्थापन विभिन्न स्थानहरुमा गरिएका छन् । यसैगरी स्वयम्भूको पश्चिममा रहेको महा–मञ्जुश्रीको मन्दिर काठमाडौमा सबभन्दा प्रख्यात देवीको रुपमा लिइएको छ । पौराणिका ग्रन्थका अनुसार महा–मञ्जुश्रीका विभिन्न शिष्यहरु मध्ये सर्वज्ञमित्र एक जना शिष्य थियो । जो नेपालमा आएर महा–मञ्जुश्रीको बारेमा वर्णन गर्न आएका थिए । यसै क्रममा एक दिन महा–मञ्जुश्रीले एक बृद्धको रुप धारण गरी सोहि कथा भन्ने ठाउँमा आएर कथा सुन्न अएको बेला महा–मञ्जुश्रीको शिष्यले आप्mनो गुरुलाई चिनेको र गुरुको लवाई र अवस्थाको कारणले लाजले बोल्न नसकेको, अन्तमा गएर सबै भक्तजनहरु गई सकेपछि महा–मञ्जुश्री गुरुको चेला सर्वज्ञमित्रले आप्mनो गुरुको साष्टांग दण्डवत् गर्दा खेरी गुरुलाई नदेखेको भनि भूmठो शब्द बोलेको कारणले गर्दा उनका दुबै आँखा गुरुको खुट्टा मूनि झर्यो । यसरी पैताला मूनि आखाँ भएको कारणले सो पैतालालाई महा–मञ्जुश्रीको पैतालाको रुपमा स्वयम्भूमा पूजिन्छ । सो आखाँ भएको पैतालाको कारणले मानिस जतिसुकै ज्ञानी गुणी भएतापनि आप्mना गुरुलाई हेला गर्नु हुँँदैन भन्ने पाठ यसले सिकाउने गर्दछ ।
यसैगरी विभिन्न मानिसहरुको घर, विद्यालय, पुस्तकालयहरुमा देवी सरस्वतीको मूर्ति वा तस्वीरहरु राख्ने प्रचलन छ । यसरी सरस्वतीको एकचित्त रुपमा पूजा गरी कुनै पनि नौलो कार्यको थालनी गरेको खण्डमा गरिने कार्यहरु सफल हुन्छ भन्ने जनविश्वास छ । प्रायजसो मानिसहरुको घर अगाडि देवी सरस्वती र गणेशको मन्दिर स्थापना गर्ने गर्दछ । यसको अर्थ कुनै पनि कार्य गर्दा सर्वसिद्धि, रोग ब्याधि नष्ट होस् र मंगलमय होस् भनि गणेशको मूर्ति स्थापना गर्ने गर्दछ । यसैगरी सोही घरको सबै व्यक्तिहरु ज्ञानी, गुणी र बुद्धिमानी होस् भनि देवी सरस्वतीको मूर्ति राखिन्छ ।
यसैगरी श्रीपञ्चमीको दिनलाई शुभ कार्य गर्ने दिनको रुपमा नेवाः तथा अन्य समुदायले लिने गर्दछ । यस दिन विशेष गरी शुभ कार्य अन्तर्गत संस्कारगत कार्य जस्तै विवाह, ब्रतबन्ध, जंको आदि कार्य अधिक मात्रामा हुने गर्दछ । यसैगरी अन्य शुभ कार्य अन्तर्गत नौलो घर, मठ मन्दिरको निर्माण कार्यको शुरुवात, गृह प्रवेश आदि गर्दा साइत हेर्नु पर्दैन भन्ने चलन छ । यस दिनमा दिनभरि जुनसुकै समय नै पूजा, धर्म, कर्म तथा संस्कारगत कार्य गर्नको लागि राम्रो साइत भएको दिनको रुपमा लिने गर्दछ । नौलो कार्यको थालनी पनि यस दिन गर्दा धेरै नै शुभ हुन्छ भन्ने नेवाः तथा अन्य समुदायमा छ । यस दिनमा ज्ञान गुणका कुरा सिक्ने, बुद्धि विवेकको अभिबृद्धि हुने भएकोले शुभकार्य गर्ने प्रारम्भिक दिनको रुपमा लिने गर्दछ । यसैगरी यस दिन ब्रत बसी कुनै कार्य सिकेको खण्डमा राम्रोसँग सिक्न सक्दछन भन्ने धारणा छ ।
यसैगरी सरकारमा रहेका उच्च पदस्थ अधिकारीहरुलाई काठमाडौंको हनुमान ढोकामा बसन्त ऋतुको धुन सुनाउने भएकोले बसन्त श्रवण भन्ने गर्दछ । पहिले बसन्त श्रवण गर्न राजाहरु आउने गर्दथे भने हिजोआज राष्ट्रपति अन्य उच्च पदस्थ व्यक्तिहरु आउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध