हिजो, आज र भोलि ः हामी ज्यापु जाति

यहाँ हिजो भन्नाले आज भन्दा २० वर्ष अगाडि, त्यसपछि आजसम्मको २० वर्ष र आजबाट १० वर्ष सम्म हुन सक्ने ज्यापु जातिको आर्थिक अवस्थावारे विवेचना गर्न खाजेको छु । आर्थिक अवस्था भन्नाले ज्यापु जातिको आयव्यय, रहनसहन जीवन आयु आदि वारे विवेचना यहाँ गर्न खोजेको छु ।
सर्वप्रथम हामी ज्यापुजाति भनेको के हो ? को को हुन् चिनौं । ज्यापु जाति भनेको शुद्ध खेतिपातिमा जीवन निर्वाह, गर्ने व्यक्ति परिवार परिवारका समूहहरुलाई जनाउँछ, समग्र रुपमा भन्ने हो भने पूर्व मेचिदेखि पश्चिकम महाकालीसम्मका किसानहरुलाई समेट्न सकिन्छ । तर यहाँ तिन प्रमुख शहर काठमाण्डौ, पाटन र भक्तपुर एवं त्यस शहर बाहिरका गाउँ ठाउँमा बसोबास गरी खेतिपातिमा संलग्न भई जीवनयावन गर्ने वृहत समुहलाई ज्यापुजाति भनिन्छ ।
संकुचित दृष्टिमा विशेष गरेर काठमाडौंमा वसोवास गरी जग्गाधनीको जग्गा खनजोत गरी तल्सिङ्गलाई कुत तिरी चोखो पसिनाको फलबाट जीवनयापन गर्ने, तर हेयको दृष्टिले सम्वोधन गर्ने सच्चा नेपाली आदिवासीलाई ज्यापु भनिन्छ । यो परम्परादेखि सम्वोधन गर्दै आएको चोखो शव्द भैकन पनि अपहेलित दृष्टिकोणले हेरिनु बृहत तवरले अपराध हो भन्ने ठानेर नै यसलाई चिरेर जानुपर्छ भन्ने संकल्पका साथ अगाडि बढ्नका लागि विगतमा सरकारले ज्यापु दिवस मनाउने घोषणा गरेको हो ।
महर्जन, डंगोल, प्रजापति, बलामी, मुनिकार, श्रेष्ठ, सुवाल आदि ज्यापु जातिका थरहरु हुन् ।त्यस्तै भक्तपुरका ज्यापुहरुको थर पनि अनेकौं छन् । खेतिपातिको अलावा अरु पेशामा पनि आवद्ध हुने जस्तो माटाका भाँडा कुडा बनाउने ज्यापुलाई प्रजापति, एक प्रकारको विशेष फुल (मूस्वां)को कारोवार गर्नेलाई मुनिकार, त्यस्तै अरु ज्यापुभन्दा आफु सभ्य भव्य ठान्नेहरु महर्जनबाट श्रेष्ठ, सुवाल थर परिवर्तन गर्नेहरु पनि ज्यापुहरु नै हुन् । यी समग्र ज्यापुलाई उत्थान गर्ने हेतुले ज्यापु दिवस मनाउँदै आएका छौं ।
यसलाई व्यवहारिकरुपमा चिरेर यो ज्यापु शव्दलाई सम्मानका साथ अगाडि बढ्नु पर्छ भन्ने हेतुले अठोटका साथ ज्यापु दिवसलाई नेतृत्वदायी भूमिका खेल्नु हुने ज्यापु संस्कृति विकास कोषका चक्रमान डंगोल र ज्यापु महागुथिका इ. मोहनकृष्ण डंगोललाई हरेक ज्यापु दिवसमा हामीले सम्झनु पर्दछ । जसले ज्यापुको इज्जत मान सम्मान बढाइ दिएको छ । आज हाम्रो सामु हुनु हुन्न तैपनि जयजयकार मान्नु पर्दछ । त्यस्तै ज्यापु महागुथिका संस्थापक, किसान नेता नाति महर्जनको पनि झझल्को आउँदछ ।
भन्ने गरिन्छ ‘ज्यापु शुद्ध भगवान् बुद्ध’ ताकि आफ्नो शुद्ध परिश्रमको फल फलाई अरु जातिलाई विक्री वितरण गरी बाँकी भएको फल आफुले उपभोग गर्ने गर्दथ्यो । अझ समयानुकूल सार्वजनिक पाटी पौवा वनाई, वार्षिक रुपमा कुलो, इनार पाटी पौवा सरसफाई गरिन्थ्यो । मेलापात जात्रा पर्वमा घैटो घैटो वोकेर पानी सेवन गराउने अर्को शुद्ध समाजसेवी होइन भनेर कसले भन्न सक्छ र ?
अब विवेचना गरौं २० वर्ष अगाडिका ज्यापु जातिका दिनचर्या तथा आर्थिक अवस्था । राजा महेन्द्रले मुलुकी ऐन लागु गर्नु भनदा अगाडि ज्यापुहरुको आर्थिक अवस्था दयनीय थियो । आफूले उत्पादन गरेको अधिकांश अन्नबाली तल्सिङ्गलाई बुझाउनु पर्दथ्यो । अझ शारीरिक रुपमा तल्सिङ्गको कामकाज मर्दापर्दा, भोजभतेर, विवाह, व्रतबन्ध, श्राद्ध आदि संस्कारमा थप सहयोग गर्न जानुपर्ने बाध्यता थियो । अन्यथा खेत खनजोत गर्नबाट वञ्चित गरिन्थ्यो । मुलुकी ऐन पश्चात एक रोपनीको २३ पाथि कुत बुझाए पुग्ने प्रथा बसालियो । पछि शारीरिक सहयोग गर्न जानै पर्छ भन्ने बाध्यता भएन । तापनि यो प्रथा चट्टै मेटिएको चाहीँ थिएन । बेलावखत सहयोग गर्न जानु पथ्र्यो । आफुले खनजोत गरेको खेतको आफ्नो हक अधिकार थिएन । पछि ‘जसको जोत उसैको पोत’ भन्ने नारा त घन्किएको थियो तर यो नारामा मात्रै सीमित रह्यो । पछि १÷४ खण्ड मुलुकी ऐनले दिलायो । केही अन्तराल पछि १÷३ खण्ड हकभोग प्राप्त भयो । तत् पश्चात १÷२ खण्ड अर्थात् आधा आफ्नो जोतको हक प्राप्त गरायो ।
त्यसपछि किसान÷ज्यापुहरु आत्मनिर्भर भएका थिए । काठमाण्डौ उपत्यका उब्जाउपूर्ण हराभरा थियो । धुलो, धुँवा, फोहर र आवाजको प्रदूषण थिएन । ज्यापुहरुको घरघरमा तरकारी र अन्नका भकारी थन्कियो । आफुलाई छुट्याएर व्यापार गर्न थालियो । काठमाडौं बाहिर अन्नवाली निर्यात गरेका थिए । बचेका अन्न सागसब्जीलाई विभिन्न परिकार बनाएर सेवन गर्ने ज्यापुहरुको स्वभावमा परिवर्तन आए । त्यसैको परिणाम स्वरुप आजसम्म चाडपर्व र उत्सवमा ँययम ँभकतष्खब िभनेर उपभोक्ताहरुलाई आकर्षित पार्नेहरु पनि ज्यापुहरु नै हुन् ।
हाम्रा जिज्यु बाजेहरुले भन्नु हुन्थ्यो अन्नको भकारी राख्ने ठाउँ नभएर आफ्नो अन्नवाली थाहा नपाउने गरी अरुको थुप्रोमा मिसाई दिन्थ्यो रे र आज त्यसको विपरित भएको छ । वास्तवमा ज्यापुहरु आत्मनिर्भर थिए । आफुले उपभोग गर्ने अन्न लगाउने लुगा, कपडा, जुत्ता (नून तेल मसला वाहेक) सम्पूर्ण आफैले उत्पादन गर्दथे । अन्नवालीको उव्जाउको लागि मलजल अर्गानिक तवरले कालिमाटी र आफ्नै घर खेतको मल प्रयोग गर्दथे । न देसि मल थियो न विषादी नै लगाउनु पथ्र्यो । स्वास्थ्यको लागि लाभदायक भएरै सम्पूर्ण नेपालीहरु निरोगी थिए । जीवन आयु लामो थियो । हाल आएर त्यसको विपरित भएको छ । ज्यापुहरुकै कारणले गर्दा एकातिर काठमाडौं, पाटन र भक्तपुर शहर हरदम सफा भैरहने अर्कोतिर अर्गानिक प्रयोगले गर्दा लाभदायी अन्नबाली प्राप्त हुने गर्दथ्यो । त्यसलै काठमाडौ उपत्यकालाई सुन्दर हराभरा बनाउनेमा आर्थिक दृष्टिकोणले ज्यापु जातिको थोरै मात्र योगदान छ भनेर कसले भन्न सक्छ र ?
अब विवेचना गरौं २० वर्ष अगाडिका पश्चातका २० वर्ष अर्थात् आजकलसम्मको ज्यापुहरुको दिन चर्या ¥हासोन्मुख अवस्थामा परिवर्तन आएको छ । आय व्ययको दृष्टिले आम्दानी भन्दा खर्च बढेको छ । आर्थिक दृष्टिकोणले कुनै पनि कारोवार वा आम्दानीको १÷३ मात्र दैनिक वा मासिक खर्च गर्नुपर्दछ । उदाहरणको लागि हाल चलनचल्तीमा अप्राविधिकको ज्याला दैनिक रू. १,०००।– कायम छ । प्राविधिकको रू. १,५००।– छ । यसलाई मितव्ययीता अपनाएमा अप्राविधिकले सामान्यतया दैनिक रू. ६६६।– र प्राविधिकले रू. १,०००।– बचत गर्नुपर्दछ । यो बचत भवितबि आउने समस्या समाधान गर्न र मागलाई पूर्ति गर्न सकेमा मानवीय ज्यापुहरुको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ । तर त्यसो नभईकन समग्र ज्यापुजातिको जीवनस्तर ओरालो तिर झरेको छ । यसो हुनुमा आम्दानी भन्दा खर्च बढी दैनिकी उपभोग्य वस्तुको मूल्य वृद्धि, परिवारको एक सदस्यले मात्र परिवारका सदस्यहरुलाई पालनपोषण गर्नुपर्ने, विधिव्यवहारमा उताउलोपन, तरकभडक आदि कारणले जीवनस्तर खस्किएको छ ।
विगत २० वर्ष भन्दा अगाडिका आर्थिक अवस्था तुलना गर्ने हो भने त्यसवेला आर्थिक रुपले सम्पन्न भैकन पनि आम्दानी भन्दा खर्च कम, नगदी भन्दा जिन्सी वस्तु बढि भएको कारण थोरै मुद्रावाट धेरै जिन्सी वस्तु प्राप्त हुने गर्दथ्यो । हाल आएर मुद्राको क्रयशक्तिमा ¥हास आएको छ । धेरै मुद्राद्वारा थोरै वस्तु प्राप्त भइकन पनि कम गुणस्तरयुक्त वस्तु बजारमा उपलव्ध हुन्छ । यसले गर्दा स्थास्थ्यमा नकारात्मक प्रभाव पारेको छ । यो प्रभाव पर्नुमा स्वच्छ हावापानी तथा पोषिलो खानपानको अभावको साथसाथै शारीरिक अभ्यासमा कमि आउनु हो ।
२० वर्षभन्दा अगाडि जात्रा पर्व, भोजभतेर आदि आनन्दी र मज्जा मेलाका रुपमा लिइन्थ्यो खेतवारीमा काम गर्दा थकान मेट्ने र मानसिक तवरले रमाइलो गर्ने दिनको रुपमा मनाइन्थ्यो । गाइजात्रा, इन्द्रजात्रा, कुमारी जात्रा आदि हर्षोल्लासका साथ मनाइन्थ्यो । आज बदलिंदो परिस्थितिले गर्दा समायानुकूल मनोरन्जन र आनन्द लिने साधनमा आमूल परिवर्तन स्वरुप मोवाइल, कम्प्युटर, ल्यापटप जस्ता साधनले ठाउँ ओगटेको छ ।
यही गतिमा ज्यापु जातिको जीवन व्यतित भइरहेमा भविष्यमा प्रगतिभन्दा अगति तिर लम्कने सम्भावना प्रवल छ । किनकी २० वर्ष अगाडिसम्म ज्यापु जातिको मूल धन भनेकै भूमि र आफ्नो परिश्रम थियो । हाल आएर यी दुवै शक्ति क्षीण हुँदै गएको छ । हुन त केही ज्यापुहरुका यी दुवै शक्ति कायम नै छन् । ती अपवादका पक्षहरु हुन् । अधिकांश ज्यापुहरुको आर्थिक अवस्था कमजोर भैसकेको छ । विगतकालमा आत्मनिर्भर थिए । अब परनिर्भर भैसकेको छ । अर्थात् अरुको भरमा जीवन यापन गर्नुपर्ने बाध्यताले गर्दा थप धन जगेडा राख्न वा जीवन स्तर उकास्न धौ धौ पर्ने अवस्था आइसकेको छ । उक्त संकटबाट जोगिन अब आउने २० वर्षको अवधि भित्र पुनः आत्मनिर्भर तिर लम्कन निम्न उपायहरु अपनाउन सकेमा ज्यापुजातिको आर्थिक अवस्था उज्ज्वल हुन सक्ने प्रवल सम्भावना देखिन्छ ।
१) हाम्रा पुर्खाहरु जस्तै परिश्रमी बन्ने
२) आय व्ययको लेखा जोखा गरी मितव्ययीता अपनाउने
३) तडकभडकवाट टाढा हुँदै जाने ।
४) बजारका वस्तु तुलना गरेर मात्र खरीद विक्री गर्ने
५) गुणस्तर वस्तु छनौट गरी उपभोग गर्ने ।
६) परनिर्भर भन्दा आत्म निर्भर तिर उन्मुख हुने
७) कुनै पनि निर्णय लिँदा आफ्नो सोचले नभ्याए अरुको पनि सोच बरबुझार गर्ने
८) आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न जान्नु पर्ने
९) वाककलामा अभ्यास गर्ने
१०) ज्यापु वित्तीय संस्थाले सरल र सुलभ व्याजदरमा ऋणको व्यवस्था गर्ने, अझ व्यावसायिक तालिम दिएर ऋण प्रवाह गरी दिने
११) अन्तमा विभिन्न संघ संस्थाले आयोजना गरेको विविध सचेतनामूलक कार्यक्रममा सहभागी हुने र विशेष गरेर ज्यापु जातिका लागि ज्यापु महागुथि नेपाःले विशेष भूमिका खेल्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध