यःमरि पूर्णिमा ः संक्षिप्त परिचय

वर्ष भरिमा आउने १२ वटा पूर्णिमा मध्ये मंसिर महिना वा थिंला पुन्हिलाई यःमरि पूर्णिमाको रुपमा लिने गर्दछ । यःमरि पूर्णिमालाई धान्य पूर्णिमा, मार्ग पूर्णिमा, गैडु पूर्णिमा आदि अन्य नामहरुबाट पनि प्रचलित छन् । नेपालभाषामा ‘यः’ को अर्थ मनपर्ने र ‘मरि’ को रोटी वा मिठाईको रुपमा लिईएको छ । यसको अर्थ सबैलाई मनपर्ने रोटी भएकोले यसको नाम यःमरि रहन गएको हो भन्ने जनविश्वास छ । यसैगरी नेवाःहरुले मनाउने हरेका चाडपर्वहरुको सांस्कृतिक मूल्य र वैज्ञानिक आधारहरु पनि छन् । नेवाःहरुले मनाउने चाडपर्वहरु चान्द्रमानका आधारमा मनाउने गर्दछ ।
यःमरि र जाडोको ठूलो अन्तर सम्बन्ध छ । कडा जाडोमा यःमरिको सेवन गर्नाले शरिरमा उर्जा प्राप्त भई चिसोबाट सुरक्षित हुन्छ भन्ने जनविश्वास छ । यस भित्र चाकु र तिललाई उमालेर लेडो बनाई राख्ने गर्दछ । कसैकसैले विभिन्न किसिमका मसलाहरु जस्तैः काजु, बदाम, छोहरा नरिवल आदिको धूलो बनाएर पनि राख्ने गर्दछ । यसैगरी कसैले खुवा राखेर पनि यःमरि बनाउने गर्दछ ।
आयुर्वेदिक मान्यता अनुसार स्वस्थ शरीरको निम्ति चिसो महिनामा विषेश रुपमा उर्जामूलका पौष्टिक भोजन, रसायन, पाक आदि सेवन गर्नु पर्दछ भन्ने धारणा छ । जसको स्वरुप परापूर्वकालदेखि यःमरि विषेश रुपमा पौष्टिकताले भरिपूर्ण रोटिको रुपमा लिईन्छ ।
नेवाःहरु मध्येमा पनि विषेश रुपमा ज्यापु जातिहरुले बढि धुमधामका साथ यस पूर्णिमालाई मनाउने गर्दछ । ज्यापु जातिहरुले नयाँ धान सुकाई भकारि भित्र भित्रि सक्ने हुनाले धन धान्य पूर्णिमाको रुपमा पनि लिइन्छ ।
यसैगरी पहाडबासीहरुले गाईगोरु राख्ने गोठ सफासुग्घर गरि आपूmलाई खेती गर्दा सहयोग पु¥याएकाले गोठको पूजा गर्ने मंसिर शुक्ल पूर्णिमालाई गैडू पूर्णिमा पनि भन्ने प्रचलन छ ।
यःमरि बनाउँदा सबभन्दा पहिले नयाँ धानको चामल बनाई, चामलको पिठोलाई मुछेर, सोहि पिठोको सानो टुक्रा लिएर स्तूपाकार वा बौद्ध चैत्य आकारको बनाएर भित्रपट्टि चाकुको झोल राखेर बनाईन्छ । ज्यापु समुदायले विषेश गरी नयाँ धानको पिठोको यःमरि बनाई बफाएर चिस्याइ सकेपछि सपरिवार मिलेर खाने, र बाडिचुँडि खाने प्रचलन छ । यःमरि पनि तिहारमा देउसी भैलो खेल्ने जस्तै माग्न आउनेलाई बाँडेकोे खण्डमा कृषिको उत्पादनमा बृद्धि हुने, अन्नको अभाव नहुने, गरिबीबाट छुटकारा आदि फलदायी हुन्छ भन्ने जनविश्वास छ ।
यस दिन अन्नपूर्ण देवीको रुपमा भकारी, गणेश, कुमार, लक्ष्मी, कुवेर आदिका प्रतिक पिठोबाट नै मूर्ति बनाई, देवताहरुको बाहनको रुपमा पिठोबाट मूसो, कछुवा, भुतप्रेत आदीको पनि मूर्ति बनाएर भकारीमा छोपेर चार दिनसम्म राखी अक्षता, अबिर, पूmल, नैबेद्य, फलपूmल आदि पूजा सामग्री राखेर पूजा गर्ने परम्परा छ । जसले गर्दा धन, स्वास्थ्य र समृद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
यःमरि पौष्टिक तत्वले भरिपूर्ण भएकोले पूर्णिमा मात्र नभई विभिन्न किसिमको शुभकार्यहरु जस्तैः बच्चाहरुको जोर वर्षको जन्मदिन बेला सोहि अनुसारको यःमरिको माला उनेर लगाइदिने गरिन्छ । यसैगरी अन्नप्रासनको बेला, बृद्धबृद्धा जंको, थकाली पूजा, गर्भवती महिलालाई दही चिउरा खुवाउने बेला, अन्य विभिन्न गुठी पूजाहरुमा तथा अन्य रथयात्रा आदि शुभकार्यहरुमा यःमरिलाई विषेश स्थान दिई पूजा गर्ने प्रचलन छ । संस्कारगत रुपमा गरिने पूजामा पनि आवश्यक पर्ने यःमरिको रोटी हो । पूजाको लागि बनाउने यःमरिमा ५ वटा अक्षता राखेर बनाइन्छ । यसरी ५ वटा अक्षताले पञ्च बुद्ध वा पञ्च तत्वको संकेत गर्दछ । यसरी पूजामा यःमरि मात्र नभइ लोहँचा मरि पनि बनाइ राख्ने प्रचलन छ । यस लोहँचा मरिलाई गणेशको प्रतिकको रुपमा पनि लिइन्छ ।
ज्यापु समुदायमा कुनै पनि महिलाको बिहे भएको पहिलो सालको भाईटिकामा यःमरि पठाउनु पर्दछ । यःमरि पूर्णिमाको दिन भकारीलाइ ‘धान्यलक्ष्मी’ वा ‘कुथिलक्ष्मी’को स्वरुप सम्झिइ पूजा गरिन्छ । कुथिलक्ष्मीको पूजा गरेको चार दिन पछि छोरीचेलीको हातबाट पूजा गरि प्रसाद स्वरुप ग्रहण गर्ने प्रचलन छ ।
पौराणिक कथन अनुसार पांचाल (पनौती) देशको कुनै गाउँमा सुचन्द्र नामक महाजन बस्ने गर्दथे । उनीहरु पतिपत्नी दुबैजना गरिबहरु प्रति निकै दयालु थिए । एकदिन उनीहरु कति दयालु छन् भनी सोचेर देवता कुबेरले गरिबको भेष धारण गरेर महाजनको घरमा माग्न गएछन् । बाहिर भनेजस्तै महाजनको पत्नीले मिठो मिठो ख्वाएर देवता कुवेरलाई खुशी पारेछ । पछि देवता कुवेरले आफ्नो स्वरुप देखाएर महाजनको पत्नीलाई ज्ञान प्रदान गरि तःसि (विमिरो) पनि दिई अन्तध्र्यान भएछ । महाजनको पत्नीले देवता कुबेरको वचन बमोजिम पिठोको धुलो मुछि यःमरि बनाई त्यस भित्र मसलाहरुको मिश्रित चाकु राखि पिठोको कुबेर तथा विभिन्न देवदेवीहरुको आकृति बनाई नयाँ अन्नमा राखि विमिरोलाई विधिपूर्वक छोपेर चार दिनसम्म पूजा गरेर राखेछन् । जसको प्रभावले धन सम्पत्ति बृद्धि र आम्दानी भएछ । यसैगरी जति दान गर्यो उत्ति अभिबृद्धि भएर आयो र भकारिबाट जति धान झिकेपनि उत्तिको उत्ति नै भैरह्यो भन्ने जनविश्वासको आधारमा यस दिनमा यःमरि पूर्णिमा मनाउने प्रचलन भयो । साथै बनेपाको धानेश्वर मन्दिरमा यस दिन भव्य मेला लाग्ने गर्दछ ।
हिजो आज यःमरि पूर्णिमाको दिन निरन्तर रुपमा राष्ट्रिय ज्यापु दिवस मनाउने प्रचलन छ । वि.सं. २०६१ सालदेखि यस दिन ज्यापु दिवसको रुपमा मनाउँदै आइरहेका छन् । यस दिन काठमाडौंको बसन्तपुरमा राष्ट्राध्यक्षको उपस्थितिमा भव्य समारोह हुनुका साथै ज्यापु समुदाय र अन्य नेवाः तथा विभिन्न व्यक्तित्वहरुद्वारा विभिन्न स्थानको परिक्रमा गरि भव्य रुपमा मनाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध