मालपोतको अधिकार वडालाई प्रत्यायोजन हुनुपर्छ

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवसका अवसरमा स्थानीय जनप्रतिनिधिहरु मध्येबाट ५ जनालाई स्थानीय सेवा गौरव महानगर पदक प्रदान गरिएको थियो । यसरी पदक प्राप्त गर्नुहुने मध्ये एक लामो समयदेखि जनप्रतिनिधिका रुपमा रहेर सेवा गर्दै आउनु भएका काठमाडौं महानगरपालिका १९ वडाका अध्यक्ष शशिलाल श्रेष्ठ पनि हुनुहुन्छ । उहाँलाई प्रदान गरिएको पदक, १९ वडाले गर्दै आएका गतिविधि, उहाँको राजनीतिक जीवनी तथा राष्ट्रिय ज्यापु दिवसको सेरोफेरोमा रहेर सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
यहाँलाई काठमाण्डौ महानगरपालिकाको २६ औं महानगर दिवसमा स्थानिय सेवा गौरव महानगर पदक प्रदान गरिएको छ । यसमा तपाई के भन्नु हुन्छ ?
मैले मेरो जिवनको ३० वर्ष सम्म जनताको सेवा गरिसकेको भएर होला मलाई यो सेवा प्रदान गरेको जस्तो मेरो विश्वास छ । किनभने यो सेवा पदक भनि दिइएको छ ।
तपाई राजनितिमा कसरी प्रवेग गर्नुभयो ?
म खास गरि राजनितिमा लाग्छु भनेर लागेको होइन । रातदिन नभनि नगरवासीहरुको सेवा गरेको कारणले उहाँहरुले नै मलाई वडामा प्रतिनिधिका रुपमा उम्मेदवारी दर्ता गराएको हुँ । २०४३ सालमा पहिलो पटक वडा सदस्यका रुपमा मैले स्वत्रन्त्र उमेदरवारी दर्ता गराएकोथिए । जसमा मैले अत्याधिक बहुमत पाउन सफल भए ।
त्यस वेला तपाईले वातावरण कस्तो पाउनु भएको थियो ?
म जनताको सेवाका लागि वडा सदस्यमा निर्वाचित भएको थिएँ । यसैले मैले जितिसकेपछि खानेपानी, ढल तथा सरसफाई सम्बन्धी थुप्रै कार्यक्रममा अगुवा भई काम गरेँ । म २०४६ सालको जनआन्दोलन पछि कांगे्रेसमा प्रवेश गरेँ । त्यसपछिको निर्वाचनमा पनि म सफल भए भने मैले नै ४ जना मनोनित काम सुचारु गरेका थिए ।
पञ्चायत कालमा काम गरेको तपाईको अनुभव कस्तो छ ?
मलाई कुनै व्यवस्था आउँदा पनि केहि फरक परेको छैन । किनकि मैले काम गर्ने बेलामा राजनीति गर्ने मेरो सोच नै हुँदैन । मैले सबैलाई सहयोग गरेको छु । मलाई पक्ष विपक्षको पनि मतलब छैन ।
सदस्य बन्दा र अध्यक्षको भार सम्हाल्दा के कति फरक अनुभव भयो ?
सदस्य र अध्यक्ष त धेरै फरक हुन्छ नि । अध्यक्ष भनेपछि फुल पावरको सिग्नेचर हुन्छ भने सस्दय हुँदा खाली अध्यक्षको कार्यमा सहयोग गर्नु मात्र हुन्छ ।
अध्यक्ष भइसकेपछि तपाईले के के योजना अगाडि ल्याउनु भयो ?
मैले यहि काम गर्छु भनि योजना चाहि बनाएको छैन, तर स्थानिय क्षेत्रमा भएको पहिला देखिको समस्या भने सबैभन्दा पहिला वडामा पाइला राख्नु भन्दा पहिला नै गरिसकेको थिएँ । अरु कसैलाई एकदमै समस्या छ भने उनीहरुलाई अफिसमा नै आउनु भनी म कर गर्दिनँ । समय हेरि म सबैलाई सहयोग गर्छु । बाटोमा जहाँ भएपनि म आवश्यकता अनुसार सिफारिस गरी दिने गर्दछु ।
तपाई जहाँ भएपनि हस्ताक्षर गर्छु भन्नु भयो ? यसले समस्या आउँदैन र भने ?
अहिले सम्म त आएको छैन ।
पञ्चायतकाल, वहुदल काल र गणतन्त्रकालमा तपाईले वडा अध्यक्ष भइ काम गरिसक्नु भएको छ । तपाईलाई चाहि कुन कालमा काम गर्न सहज भयो ?
सवै कालमा मेरो आफ्नै टिम जितेको भएर मलाई काम गर्न कहिले पनि गाह«ो भएको छैन ।
अहिले स्थानिय सरकारको हकमा निर्णय गर्ने अधिकार प्राप्त गर्नुभएको छ । अहिले वडाको काम कति फरक पाउनुभएको छ ?
स्थानिय सरकारलाई अधिकार दिएको भनेता पनि कुनै अधिकार पाएको छैन । अहिलेसम्ममा खाली कर उठाउने सम्मको अधिकार प्राप्त भएको छ । जनताले धेरै दुःख भोग्नु परेको निकाय भनेको मालपोत कार्यालयमा हो । त्यहाँ हुने व्यापक भ्रष्टाचार नियन्त्रण गर्नका लागि मालपोतको सम्पूर्ण अधिकार वडामा दिइनु पर्छ ।
तपाईको विचारमा के कस्तो अधिकार स्थानिय स्तरमा आउनु पर्छ जस्तो लाग्छ ?
मालपोतको काम वडामा आउनु पर्छ किनकि त्यहाँ धेरै भ्रष्टाचार भइरहेको छ । वडामा सर्यो भने यो कम हुने सम्भावना छ । फेरि म भ्रष्टाचार कम गर्नु पर्छ भन्ने मान्छे । स्थानीय प्रतिनिधिहरुको प्रत्यक्ष संलग्नता हुने र जनताको सहज पहुँच हुने भएका कारण वडामा मालपोतको अधिकार प्रत्यायोजन भएको खण्डमा भ्रष्टाचार नियन्त्रणमा धेरै सहयोग पुग्नेछ ।
राष्ट्रिय ज्यापु दिवसलाई कसरी लिनु हुन्छ ?
ज्यापु दिवस भन्दा पहिले योमरि पुन्हिका रुपमा हामीले यो दिनलाई मनाउने गर्दथ्यौं । हामी सानो छँदा त्यःछिंत्यः खेलेर जम्मा भएको धान मरुमा गएर बदामसँग साटेर खाने गथ्र्यौैं । तर आजकाल यो सवै हराइ सक्यो । आजकालका बच्चाहरु ल्यापटप मोबाइलमा मात्र सिमित भयो । ज्यापु दिवस चाहि पछि मात्र मनाउँदै आएको हो । जसमा यटखा टोलबाट पनि सातौ राष्ट्रिय ज्यापु दिवसको संयोजन गरेको थियो । ज्यापु संस्कृति विकास कोषले ज्यापु दिवसको आयोजना गरि लोप भइसकेको परम्परालाई निरन्तरता दिएको छ । योमरि पुन्हिलाई जिवन्त राख्न ज्यापु दिवसले सहयोग गरेको छ ।
यतखा टोलले ज्यापु दिवस संयोजन गरेको समयमा तपाईको पनि संलग्नता थियो, यसमा तपाईको अनुभव भन्नुहोस न ?
नेपाली संस्कृतिको प्रमुख तत्व मध्ये नेवार संस्कृति पनि पर्दछ । यसमा नेवार समुदायका ज्यापु जातिले विशेष गरेर सांस्कृतिक संरक्षणमा भूमिका खेलेको पाइन्छ । ज्यापु दिवसका अवसरमा सांस्कृतिक गुरुहरुको सम्मान तथा अन्य विविध कार्यक्रमले ज्यापु जाति र नेवार संस्कृतिकै उत्थानमा सहयोग पु¥याएको छ जस्तो मलाई लाग्दछ ।
यसलाई निरन्तरता दिन के कस्तो कार्य गर्नुपर्छ जस्तो लाग्छ ?
ज्यापु दिवसमा ज्यापुहरुको मात्र संलग्नता नभई समग्र नेवार समुदायको संलग्नता भयो भने अनि यसमा राजनितिकरण भएन भने यो अझ राम्रो हुँदै जान्छ । योमरीको कुरा गर्दा पहिला नयाँ धान भित्र्याउने समयमा यो पर्व मनाइन्थ्यो । नयाँ धानलाई भकारीमा राख्नको लागि पुजा गरिन्थ्यो । जसको लागि त्यहि धानको पिठो बनाई योमरि बनाई पुजामा राखिन्थ्यो । चारदिन पछि फेरि क्वकाय्गु भनेर छोरी चेलि वोलाई खुवाउने गरिन्छ । अब नयाँ धान कहाँबाट पाउने सवै खेतमा घर उम्रिसक्यो । जसले गर्दा सवै चाडपर्वहरु लोपभएको हो । जसलाई ज्यापु दिवसले केहि मात्रामा ठेगेको छ । त्यसको लागि उहाँहरुले सहयोग मागेको खण्डमा हामी सँधै तयार छौ । हामीले यहाँ भएका स्थानिय स्तरका बाजागाजाको लागि सहयोग गरिरहेका नै छौ हामी खुसी भएर सहभागि पनि हुन्छौ । यहाँ भएका पुचःहरुले पहिला पहिला त्यःछित्यः कार्यक्रम गथ्र्यो जसमा हामीले साथ दिइरहेका छौं र बजेट पनि छुट्याएर दिने गरिरहेका छौं भने यसपालि कोभिडको त्रासले गर्दा यस्ता कार्यक्रमलाई चाहिँ रोक लगाएका छौं ।
तपाईले कोभिडको नाम लिनु भयो । यसबाट बच्न १९ वडाले के कस्तो पहल गरेका छ ?
कोभिडबाट बच्नको लागी हामीले ठाउँ ठाउँमा औषधि छर्ने, पीसीआर चेक गर्ने माक्स वितरण, स्यानिटाइजर वितरण आदि गरिरहेका छौं । यदि कसैलाई कोभिड डोहराइ आयो भने सबैको नाम संकलन गरि पठाउन प्रयास गर्छौ ।
तपाईको वडा सांस्कृतिक क्षेत्र अन्तर्गत परेको छ । यसको विकासको लागि के कस्तो योजना वनाउनु भएको छ ?
अब १९ वडामा प्राय काम सकिसक्यो जस्तो मलाई लाग्छ । अव हाम्रो अभियान भनेको १९ वडालाई राम्रो वनाउन खोला छेउको ठाउँमा पार्क बनाउने योजना रहेको छ । कंकेश्वरी वरीपरि पाटी बनाउने योजना टेण्डर पास गर्न बाकि छ यसलाई हामी पुरा गर्छौं ।
अन्तमा मेरो साप्ताहिकका पाठकलाई यहाँ के सन्देश दिनु हुन्छ ?
जनचेतना अभिवृद्धि यहाँहरुको दायित्व हो । यहाँहरुलाई आवश्यक कुनै पनि किसिमको सहयोगका लागि हामी सदैव तत्पर छौं । मेरा केही कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध