मिलेरै अगाडि बढ्न पूर्व राष्ट्रपति यादवकाे आग्रह
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा तेजतीर्थ ट्रष्टद्वारा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै पूर्व राष्ट्रपति डा. रामवरण यादवले देश विकास र देशकाे अस्तित्व रक्षाका लागि मेलमिलापकाे विकल्प नरहेकाे बताउनु भएकाे छ ।
तेजतीर्थ ट्रष्टकाे आयाेजनामा पत्रकारिता, लाेकतन्त्र र मानव अधिकारका क्षेत्रमा विशेष याेगदान पुर्याउने व्यक्तित्वहरूकाे सम्मान तथा पुरस्कार वितरण समाराेहलाई सम्बाेधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले लाेकतन्त्रमा पार्टीहरू खम्बाका रूपमा रहने जिकिर गर्नु भयाे ।उहाँले अाज पार्टीहरू विभाजित अवस्थामा रहेकाेले सन्ताेष जनक अवस्था नरहेकाे बताउनु भयाे ।
उहाँले ‘अहिलेकाे परिस्थिति जुन छ, लाेकतन्त्र, संविधान, संविधानवाद, राष्ट्रियता सबैमाथि नै दूरगामी प्रभाव पार्ने र अनिश्चितताकाे माहाैलमा देश अहिले गइरहेकाे छ भन्ने मलाइ लागिरहेकाे छ । यसकाे टुंगाे कसरी जाने हाे ? याे सँधै जाे सरकार कार्यकारीद्वारा असंवैधानिक ढंगबाट भंग भयाे, त्यसलाइ कसरी संवैधानिक मार्गमा ल्याउने हाे ? सबै चेतनशील नागरिक, पत्रकार देशवासीकाे कर्तव्य हाे ।’
अहिले संविधानकाे ब्याख्याता न्यायालयमा याे मुद्दा रहेकाे सन्दर्भमा अदालतले यसमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा स्वागत गर्दै ट्रष्टका अध्यक्ष पूर्वराज्यमन्त्री तीर्थराम डंगाेलले लाेकतन्त्रकाे पक्षमा अगाडि बढीरहेका विभिन्न व्यक्तित्वहरूलाइ गरिएकाे सम्मानकाे बारेमा जानकारी दिनु भयाे । उहाँले नेपालभाषा साहित्यका क्षेत्रमा विशिष्ट याेगदान दिने एक महिला र पुरूष, पत्रकारिताकाे क्षेत्रबाट लाेकतन्त्रकाे रक्षाका लागि कार्य गर्ने एक महिला र पुरूष तथा मानवअधिकार तथा लाेकतन्त्रका लागि याेगदान दिने व्यक्तित्वहरूलाइ याे पुरस्कार प्रदान गरिने जानकारी दिनु भयाे ।
विगतमा प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, लाेकतन्त्र दिवस जस्ता अवसरमा प्रदान गरिँदै आएकाे पुरस्कार तथा सम्मान यस वर्ष काेभिड–१९ का कारण राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा प्रदान गरिएकाे उहाँले बताउनु भयाे ।
पुरस्कृत व्यक्तित्वहरूकाे बारेमा जानकारी दिनु हुँदै पुरस्कार सिफारिस समितिका सदस्य समेत रहेका ट्रष्टका उपाध्यक्ष तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानले लाेकतन्त्र, पत्रकारिता र साहित्यकाे क्षेत्रमा पुरस्कृत हुने सबैलाइ बधाइ ज्ञापन गर्नु भयाे । उहाँले सञ्चार जगत स्थायी प्रतिपक्ष भएकाे तथ्य उजागर गर्दै देशमा भएका विकृति विसंगतिहरू हटाउनका लागि पत्रकार तथा सञ्चार जगतले सदैव भूमिका खेल्नु पर्ने बताउनु भयाे ।


कार्यक्रममा नेपालभाषा साहित्यका तर्फबाट पुरस्कृत व्यक्तित्वहरू कवयित्री नारायणदेवी श्रेष्ठ र लेखक याेगेन्द्रमान श्रेष्ठकाे याेगदानकाे चर्चा नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठले गर्नुभयाे ।


कार्यक्रममा पत्रकारिता तर्फ अजयबाबु शिवाकाेटी र निर्मला आचार्यलाइ सम्मान गरिएकाे थियाे भने लाेकतान्त्रिक आन्दाेलनका अगुवा काभ्रेका शिव कंगाल बराललाइ सम्मान गरिएकाे थियाे ।

पुरस्कृत व्यक्तित्वहरूलाइ नगद ५० हजार र सम्मानित व्यक्तित्वलाइ नगद १ लाख प्रदान गरिएकाे थियाे ।

लाेकतन्त्रका पक्षमा लाग्नेलाइ प्राेत्साहन प्रदान गर्न पूर्वराज्यमन्त्री डंगाेलले अाफ्नाे घर बेचेर आएकाे रकमबाट याे सम्मान तथा पुरस्कार प्रदान गर्न काेष स्थापना गरेका थिए ।
कार्यक्रमपूर्व प्रथम राष्ट्रपति डा. यादवले वीपीकाे तस्वीर र शहीदहरूकाे नामांकित शिलापत्रमा माल्यार्पण गर्नुभएकाे थियाे ।








