सत्रौं राष्ट्रिय ज्यापु दिवस सम्पन्न
ज्यापु संस्कृति विकास कोषको आयोजना र गोफः त्वाः माकः गल्ली ज्यापु समाजको संयोजनमा आज काठमाडौंको राष्ट्रिय सभागृहमा सत्रौं राष्ट्रिय ज्यापु दिवस मनाइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ज्यापु संस्कृतिको संरक्षणका लागि स्थापित विकास कोषको अक्षयकोष १ करोड पु¥याउन सरकारले सहयोग गर्ने जनाएको छ ।

कार्यक्रमका विशेष अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले ज्यापु दिवसको शुभकामना ज्ञापन गर्दै हाल कोभिड–१९ को कारण बन्द कोठाभित्र कार्यक्रम गर्नु परेको प्रसंग कोट्याउँदै सबै सचेत भएर कोभिड–१९ बाट बच्नु पर्ने बताए ।

यस्तै विशेष अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको सांस्कृतिक संरक्षणमा विशेष योगदान पु¥याउँदै आएको ज्यापु समुदायको सम्मानमा हालै सम्पन्न २६ औं महानगर दिवसका अवसरमा ज्यापु महागुथि येँ महानगरसमितिलाई मेयर्स अवार्ड प्रदान गरिएको र यो सम्पूर्ण ज्यापु जातिको सम्मानमा प्रदान गरिएको बताए ।

ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका अध्यक्ष गोविन्द महर्जनले स्वागत गरेको थियो ।

कार्यक्रममा नेपालमण्डल टेलिभिजनका अध्यक्ष, आर.बी डायमण्डका प्रोपाइटर रमेश महर्जनलाई ज्यापु रत्न, श्री रुद्रायणी देपा दाफा खलः, थलाछि, खोकनाका मूगुरु काजीलाल डंगोललाई सांस्कृतिक गुरु, मनमैजु माध्यमिक विद्यालयका प्रधानाध्यापक रबिना महर्जनलाई ज्यापु सरस्वति पदक र एघारौं राष्ट्रिय ज्यापु दिवस समारोह समिति २०७१ का संयोजक परम्परागत ओलाछि त्वाः खलःका अध्यक्ष मदनवीर महर्जनलाई ज्यापु सांस्कृतिक धरोहर सम्मान प्रदान गरिएको थियो ।

समारोहमा प्रदान गरिएको सम्मान तथा पदकका बारे पुरस्कार सिफारिस समितिका संयोजक एवम् कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी प्रदान गरेको थियो । उनले गत वर्षमा जस्तै विविध विधामा पुरस्कार वितरण गर्ने परिस्थिति नभए पनि सम्मानको परम्परा कायम राख्न सांकेतिक रुपमा मात्र सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रमकाे सुरूमा परम्परागत नरदेवी टाेलबाट यःमरि पुन्ही र ज्यापु दिवसकाे महत्व दर्शाउने नृत्य प्रस्तुत गरी स्वागत गरिएकाे थियाे ।









