लक्ष्मीदास मानन्धरलाई हेमराज सिरपाः
दुई वर्षमा एकपटक दिइने नेपालभाषाको प्रतिस्थित पुरस्कार ‘हेमराज सिरपाः’ बहुआयामिक व्यक्तित्व, नेपालभाषा अगुवा, समाजसेवी लक्ष्मीदास मानन्धरलाई उहाँकै निवासमा शनिवार लोकसाहित्य परिषद्ले प्रदान गरेको छ ।
लिपि, भाषा, साहित्य संस्कृति सम्बन्धी अनुसन्धानमूलक ७२ वटा कृतिका रचयिता पं. हेमराज शाक्यले स्थापना गरेको पुरस्कार लोक साहित्य परिषद्का संस्थापक शताब्दीपुरुष सत्यमोहन जोशीले दोसल्ला ओढाई प्रा. प्रेमशान्ति तुलाधर र दाता सुरेन्द्र शाक्यले एक लाख रूपैयाँको चेक हस्तान्तरण गरी सम्मान गरीएको हो ।
परिषद्का अध्यक्ष प्रा. तुलाधरले मानन्धरको योगदान र पुरस्कारका बारेमा जानकारी दिनु भएको थियो ।
स्व. हेमराज शाक्यले ३० वर्ष अगाडी १० हजार र ५ हजार रूपैयाँ पुरस्कार दिने गरी स्थापना गरेको उक्त पुरस्कार चार वर्ष अगाडि उहाँका सुपुत्र सुरेन्द्र शाक्यले एक लाख पुर्याएका थिए ।
नेपालमा स्कूलको तथ्यांकअनुरूप शिक्षक दरबन्दी छ तर नेपालभाषा शिक्षकको दरबन्दी शुन्य रहेकोमा मानन्धरले चिन्ता व्यक्त गर्नुभयो ।
परिषद्का सचिव राजित बहादुर श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपालभाषाको माध्यमबाट पढाइ हुने जगतसुन्दर ब्वनेकुथि, नेपालभाषा एकेडेमी, नेवाः एफ एम जस्ता विभिन्न संस्था खोलिएको लक्ष्मीदासकै प्रयास भएको शताब्दीपुरुष जोशीले बताउनु भयो ।
मानन्धरले यौवनावस्थादेखि नै अहिलेसम्म पनि नेपालभाषाको विभिन्न संस्थालार्इ सक्दो सहयोग गर्न तयार रहेको बताउनु भयो ।








