स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं नाराका साथ महानगर दिवस सम्पन्न
काठमाडौं महानगरपालिकाले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं’ कार्यक्रम घोषणा गर्दै २६ औँ स्थापना दिवस राष्ट्रिय सभा गृहमा सम्पन्न गरेको छ । समृद्धिको आधारलाई आत्मसात गर्दै जनस्वास्थ्य सम्वन्धी सेवालाई बढी प्रभावकारी बनाउन स्वीकृत जनस्वास्थ्य नीति कार्यान्वयन गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय र भरपर्दो बनाउने योजनाअन्तर्गत मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा कार्यक्रम घोषणा गरिएको हो । गएको बर्ष महानगर दिवसका दिन मानवीयताको सहर निर्माण अभियान थालिएको थियो ।
‘‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं’’ कार्यक्रम अन्तर्गत वडा–वडामा पिसाव परीक्षण गर्ने, परीक्षण गर्दा रोगको लक्षण देखिएका व्यक्तिहरुको प्रयोगशालामा परीक्षण गर्ने, मिर्गौला बचाउन क्षमता विकासका तालिम दिनेलगायत काम गरिनेछन् । कार्यक्रम पुस १ गतेबाट लागु हुनेछ ।
दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौं महानगरपालिकाले कोरोनो रोकथाम र नियन्त्रणका लागि लकडाउनको समयमा उल्लेख्य भूमिका खेलेको स्मरण गर्दै नेपालका स्थानीय तहलाई कानुनले दिएका अधिकार कार्यान्वयन गर्न महानगरले बाटो देखाउनु पर्ने धारणा राख्नुभयो ।
उहाँले प्रशासनिक नेतृत्वले मात्र नपुग्ने र महानगरले राजनीतिक नेतृत्व पनि गर्नुपर्ने बताउनु भयो ।
नेपालमा अहिले रहेको संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाह वा चन्दा पुरस्कारमा प्राप्त नभएको बताउँदै मन्त्री त्रिपाठीले मुलुकमा प्राप्त व्यवस्थालाई मजवुत बनाउन पनि स्थानीय तहले कानुनबमोजिम आफ्नो हैसियत बनाउन सक्नुपर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले, नेपालमा सहरीकरणको विकास क्रमलाई काठमाडौं महानगरपालिकाले डोहोर्याउनु पर्ने बताउनुभयो । सम्पदा पुर्ननिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा महानगरसका काम उल्लेख्य छन् । आगामी दिनमा सहरलाई प्रबिधिमैत्री र स्मार्ट सहरका रुपमा विकास विस्तार गर्दै लैजानुपर्छ ।
कार्यक्रममा मन्तव्य राख्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले पहिले संस्कार, संस्कृति र परम्परा जोगाउने काम भन्ने वित्तिकै कि त गुठी संस्थानको नाम लिइन्थ्यो कि त पुरातत्व बिभागको नाम लिने गरेकोमा अहिले कामपाले यसलाई अगाडि बढाएको बताउनु भयो ।
सडक र मुख्य चोकलाई सधैं उज्यालो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गको उपस्थितिमा नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सम्झौता गरिसकेको, बिशेषज्ञ स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न अस्पतालहरुसँग सहकार्य गरेको, विकासलाई दिगो बनाउन जनसहभागितामा आधारित योजना सञ्चालन गर्ने मेयर शाक्यको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, चालु आर्थिक बर्षमा महानगरले सञ्चालन गरिरहेका काम र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
समारोहमा काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले तयार पारेको इन्द्रजात्रासँग सम्वन्धित अनुसन्धानमुलक पुस्तक सार्वजनिक गरियो ।
१९७६ पुष ३ गते सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको थियो । त्यही दिनलाई स्थापना दिवस मानेर हरेक बर्ष महानगर दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा १ लाख रुपैयाँ नगदसहित ‘ज्यापू महागुथी नेपाः येँ महानगर समिति’ लाई मेयर्स अवार्डबाट संस्थागत सम्मान गरियो । यसैबर्षदेखि सुरु गरिएको यो अवार्ड मूर्त अमूर्त सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवर्धन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक क्षेत्र, वातावरणलगायत क्षेत्रमा अनुसन्धानात्मक एवं प्रवर्धनात्मक काम गर्ने व्यक्ति तथा संस्थालाई दिइन्छ ।
यसै बर्षदेखि सुरु गरिएको अर्को पुरस्कार ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ पनि हो । काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठको नाममा स्थापना गरिएको यो पुरस्कारबाट २ जना जनप्रतिनिधि र २ कर्मचारीलाई पुरस्कृत गर्न थालिएको हो । जनही १ लाख रुपैयाँ नगद र सम्मान पत्रसहित पुरस्कृत गरिने यो सम्मानमा जनप्रतिनिधि र कर्मचारीमा आधा महिला र आधा पुरुषलाई दिइनेछ । यस वर्ष जनकमान स्वशासन पुरस्कार जनप्रतिनिधितर्फ पूर्व जनप्रतिनिधि चन्द्रानन्द नेवाः र कार्यपालिका सदस्य हीरादेवी पोखरेललाई र कर्मचारीतर्फ निर्देशक बसन्त आचार्य र उप निर्देशक विमला कोइरालालाई प्रदान गरिएको छ ।
यसैगरी यसै बर्षदेखि स्थानीय सेवा गौरव र महानगर सेवा पदकबाट सम्मान गर्न थालिएको छ । १ लाख रुपैयाँ नगदसहित यो पदक हरेक बर्ष ५ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई दिइनेछ । पदकमा १ तोला सुन र १ तोला बराबर नै चाँदी राखिएको छ ।
यस वर्ष स्थानीय सेवा गौरव, महानगर सेवा पदक जनप्रतिनिधितर्फ क्रमशः वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष दीपक के. सी., वडा नं. १९ का अध्यक्ष शशिलाल श्रेष्ठ, वडा नं. २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्की सम्मानित भएका छन् भने कर्मचारीतर्फ निर्देशक रामबहादुर थापा, नगर प्रहरी सहायक निरीक्षक रामहरि भट्टराई, कार्यालय सहयोगी नारायणी थापा, सवारी चालक महेश शाक्य र कुचीकार शोभा पोडेनी सम्मानित भएका छन् ।
यी पुरस्कारसँगै यस बर्ष विगतको जस्तै १७५ जना परम्परागत बाजागुरुहरुलाई नगद ३० हजार रुपैयाँसहित सम्मान गरियो । यसरी सम्मान पाउनेमा ज्यापु समुदायका परम्परागत ६३ गुथी, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरू हुनुहुन्छ । यसै अवसरमा किलाघः की जीवित देवी रेसुका महर्जन र मखनकी जीवित कुमारी प्रकृति महर्जनलाई मासिक १५ हजार रुपैयाँका दरले अहिलेसम्मको रकम ७५ हजार रुपैयाँ जनही र सम्मान पत्रबाट सम्मानित गरियो ।
त्यस्तै आम सञ्चारमाध्यमबाट काठमाडौं महानगरपालिकाका विषयमा नियमित कलम चलाउने १० जना पत्रकारलाई सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरियो । यस सम्मानमा नगद ५० हजार रुपैयाँसहित सम्मान पत्र दिने गरिएको छ ।
यस वर्ष कान्तिपुर टेलिभिजनका सिर्जना बास्तोला, खवर हवका सविना कार्की, थाहा खवरका अतिन आचार्य, नयाँ पत्रिकाका प्रकाश धौलाकोटी, बिजमाण्डुका दिनेश खड्का, नामी साप्ताहिकका श्याम स्मृत, लहना न्युज डटकमका सुरेन्द्रभक्त श्रेष्ठ, नेवाः यूट्यूबका बिजयरत्न असंबरे र संस्थागततर्फ नेपाल भाषा टाइम्स र न्युज एजेन्सी नेपाललाई पुरस्कृत गरिएको छ ।
यसैगरी महानगर कर्मचारी पुरस्कारबाट इञ्जिनियर मोहन पौडेल, कम्प्युटर अधिकृत सुधा शाक्य, नायव सुब्बा मोक्षप्रसाद दुलाल, हेल्थ असिस्टेन्ट ऋषिप्रसाद भुषाल, ल्याव टेक्निसियन राधिका कुइँकेल, नगर प्रहरी सहायक निरीक्षक श्रीमाया श्रेष्ठ, कार्यालय सहयोगी भीमकुमारी परियार, कार्यालय सहयोगी शम्भु नेपाल, सवारी चालक सानुभाइ पोडे र कुचीकार रामबहादुर वाइवा पुरस्कृत भएका छन् ।
यसै बर्ष ‘मानव संशाधनको अभ्यासहरु र नेपालका नगरपालिकाहरुको संस्थागत उन्नति’ बिषयमा विद्यावारिधी गर्नुभएका राजस्व बिभागका प्रमुख शिवराज अधिकारीलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा महानगरको सन्देश, आदर्श र पहिचान झल्काउने भिडियो सार्वजनिक गरिएको थियो । यसै गरी गीतका रचनाकार एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीसहित गायक गायिका र भिडियो उत्पादनका लागि काम गरेका कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।
समारोहमा बज्र कलाकुञ्जले कुमारी नृत्य प्रस्तुत गरेको थियो भने नगर प्रहरीहरुले महानगरको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।








