नारायण परिवार क्लबको ५१औँ वार्षिक उत्सव सम्पन्न, स्व. चक्रमान डंगोलको नाममा सभाकक्ष नामकरण
नारायण परिवार क्लबको ५१औँ वार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा ज्यापु महागुथि नेपाःका अध्यक्ष सत्यनारायण डंगोल, वडा सदस्य पुष्परत्न प्रजापति, महिला बौद्ध समूहकी अध्यक्ष श्रीमिला सुवाल, मिसा लिधंसा पुचःकी अध्यक्ष गंगादेवी डंगोल, रुद्र विनायक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष श्रीकृष्ण खड्गी, क्लबका कार्यसमिति सदस्य द्वारिकामान महर्जन, परम्परागत धर्मचक्र तःननी खलःका अध्यक्ष तीर्नारायण महर्जन तथा क्लबका सल्लाहकार निर शाक्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले क्लबको ५० वर्षको यात्रा, समाजसेवा तथा सांस्कृतिक संरक्षणमा क्लबले पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो।
उक्त अवसरमा प्रमुख अतिथि महर्जनले क्लब भवनस्थित सभाकक्षलाई पूर्व अध्यक्ष स्वर्गीय चक्रमान डंगोलको नाममा नामकरण गर्दै उद्घाटन गर्नुभयो। साथै, क्लबको स्वर्ण जयन्तीका अवसरमा स्थापना गरिएको शिलापत्रको समेत अनावरण गर्नुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि महर्जनले १२ वडामा भएका संघसंस्था मध्ये नारायण परिवार क्लब एक उत्कृष्ट क्लब भएको उल्लेख गर्नुहुँदै क्लबले स्व. चक्रमान डंगोलको योगदानको कदर गर्दै सभाकक्ष नै उहाँको नामबाट नामाकरण गरेको कार्यको सराहना गर्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका–१२ का वडा सदस्य नानीहेरा डंगोल, परम्परागत ओन्दे त्वाः खलःका अध्यक्ष पूर्णमान महर्जन, ज्यापु संस्कृति विकास कोषका महासचिव रमेश महर्जन, चक्रमान डंगोल स्मृति प्रतिष्ठानका सचिव चमितमान डंगोल तथा खोल्चापाखा स्पोर्ट्स क्लबका अध्यक्ष न्हुछे खड्गीलगायतको उपस्थिति रहेको थियो।
क्लबका सदस्य–सचिव सन्तकुमार महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव प्रविन महर्जनले गर्नुभएको थियो भने उपाध्यक्ष निरजकुमार महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो।










