“मचातीयाः”मा देखाइने भोटो जात्रा
काठमाडौलाई कुनै बेला सुवर्ण प्रणाली भन्ने गरिन्थ्यो । कुुुसुमवियालाछि, थँहितिको सुवर्ण प्रणालीको ढुंगेधारा माथि चैत्य स्थापना गरिराखेको देखिन्छ । त्यस्तै पशुपति क्षोत्रको जगवागेश्वरी निरको ढुंगे सुन्धारा चक्रपथ बाटो बनाउँदा पुरिएको भनिन्छ ।१ मूर्त अमूर्त सम्पदाको रुपमा रहेको खुल्ला संग्रहालय अन्तर्गत पशुपती क्षेत्रका प्रमुख जात्राहरुमा ग्वलको मचातीया (त्रिशुल) जात्रा अग्रिम जात्राको रुपमा रहेको छ । प्रत्येक वर्ष असार बदि तछलागा अष्टमी भलभल अष्टमीका दिन देवपातन सुवर्ण प्रणाली नगर ग्वलमा मचातिया जात्रा हुन्छ । यसलाई त्रिशुल जात्रा पनि भनिन्छ । बच्चाहरुलाई त्रिशुलमा उन्नेर खटमा राखि नाय्खिं बाजा बजाएर गरिने जात्रालाई त्रिशुल जात्रा भनिएको छ । ग्वल देवपाटनमा विभिन्न टोलबाट ९ वटा खट जात्रा हुनेमा विशेष गरी राजराजेश्वरी, भुवनेश्वरी, जयवागेश्वरी देवपाटन गरी तीन स्थलबाट तीनवटा खटमा शुलले उने झंै गरी ५ जना बालबालिका राखेर जात्रा गरिने परम्परा रहेका छन् । बच्चाहरुलाई शूलले नभई मचातीया लठ्ठीमा उन्ने परम्परा भए अनुरुप त्यस जात्रालाई त्रिशूल यात्रा भनिराखेको कुरा त्यहाँका बुढापाकाहरुको भनाइ रहेको उल्लेख पाइन्छ ।
मचातिया जात्राको प्रादुर्भाव बारे देवमाला वंशावली, भाषा वंशावलीमा विभिन्न विवरणहरु पाइनुका साथै भिन्न भिन्न अनुश्रुतिहरु पनि सुन्न पाइन्छ । भाषा वंशावली अनुसार लिच्छवि राजा नरेन्द्रदेवको पालामा भएको उल्लेख पाइन्छ भने देवमाला वंशावलीमा राजा अमर मल्लको पालामा ने.सं. ३३४ सालतिर पुजारी भूमि बन्धु आचार्यसँग सल्लाह गरी तन्त्र विधिले ९ प्रकारका रथ वनाई कुमार कुमारीहरु ९ जनालाई रथमा चढाइ जात्रा गर्ने रीत चलाई धेरै खेत गुठी राखि दिएको उल्लेख पाइनुका साथै त्रिशुल जात्रा प्रारम्भ गरेको बताइन्छन् । यहाँ अनुश्रृति अनुसार नागार्जुन डाँडा वरपरका अमानुषी राक्षसले मानव वस्ती देवपाटन वरपरका बच्चाहरुलाई अपहरण गरेर मारी मानिसहरुलाई सताएको पाइन्छ । तर त्यस बेलाका देवपाटनका मानिसहरुले आफ्ना बच्चाहरुको हेरचाह गर्न नमानेको स्याहार नगरेकोले त्यस्तो भएको देखिन्छ । आफ्नो साथमा रहेका आफन्तको साथमा रहेका बच्चाहरु हराएको अपहरण भएको देखिँदैन । आफुले आफन्तकहाँ छोडि राखेका एक्लै सुताइराखेको भर्खका बच्चाहरु हराएको चोरिएको अपहरण परेको भन्ने बुझिन्छ । यो मचातीया जात्रा भनेको नेपालभाषामा मचा भनेको बच्चा भर्खर जन्मेको रातो बच्चा हो । तीं भनेको मचाकठ्ठी तीनवटा बाडेर त्रिकोण आकार बनाई बच्चा सुताएर मचाकठ्ठी राखी कपडाले छोपेर घाममा कौसिमा, कोठामा, बार्दलीमा सुताइन्थ्यो । यस्तो नगरेका त्यतिकै सुताएका कारण देव पाटनका बच्चाहरु हराएको अमानुषी राक्षसले टिपेर, चोरेर लगि मारेको मान्न सकिन्छ । पछि मचा कठ्ठी राखेर कपडा बेरी छोडे पछि वच्चाहरु हराउन चोरी हुनबाट बचेको मानिन्छ । त्यसैले भर्खरको बच्चाहरु सुताएर एक्लै छोड्नु परे मचा कठ्ठी राखेर कपडाले छोपी जानुपर्ने चलन रहँदै आएको पाइन्छ । त्यसको स्मरणमा मचातिया जात्रा भनी प्रत्येक वर्ष देवपाटनमा गर्दै आएको पाइन्छ । मचाकठ्ठी त्रिशुल आकारको तीनकुने हुने भएका कारण सोही मचाकठ्ठी लाई मचातीया जात्रा पछि गएर अपभ्रंश भई मचातीया जात्रा बच्चाहरु त्रिशुलमा उन्नेर गरिने जात्रा हुन गएको मानिन्छ । लिखित प्रमाण नभएका कारण त्रिशुल यात्राको सम्वन्धमा देव पाटनका मानिसहरुको भिन्नभिन्न लोक उपख्यानहरु भएका हुन् ।
त्रिशुल यात्राको भिन्नभिन्न अनुश्रुति मध्ये एक अनुश्रुति मध्ये यस प्रकार रहेको छ । पहिले पहिले नागार्जुन डाँडा वरपर अमानुषी राक्षसहरुको बसोबास रहेको मानिन्छ । त्यहाँका अमानुषीहरु मानववस्ती भएका ठाउँमा गएर बच्चाहरुलाई अपहरण गरि लैजान्थे । एकताका अमानुषी राक्षसले देव पाटनका बच्चाहरुलाई खुब सताउन थालेछ । प्रजाहरु त्राहि त्राहि भएको आफ्नो बच्चाहरुलाई बचाउने उपाएको खोजी गर्ने क्रममा उनीहरुले राक्षसका बच्चाहरुलाई मारी बदला लिने निधोमा पुगेछ । एकदिन अमानुषी राक्षसका बच्चाहरुलाई समाती मारेर देवपाटनमा घुमाएर पश्चिम सिफलको डाँडाबाट अमानुषीहरुले देख्ने गरी खटमा राखी त्रिशुलले घोचेर प्रदर्शन गर्दछ । त्यसवेलादेखि देवपाटनमा अमानुषीहरुले दुःख दिन छाडेछ । त्यसैको स्मरणमा प्रत्येक वर्ष त्रिशुल यात्रा गर्ने परम्परा वसेको हो भन्ने उल्लेख रहेको पाइन्छ ।
अर्को जनश्रुति अनुसार उहिले एक अमानुषी नागार्जुन डाँडामा बस्दथे । ऊ हेरक दिन देवपाटनमा आउदथे र वच्चाहरु अपहरणमा पारी चोरेर लग्थ्यो । त्यस घटनाले देवपाटनबासी दुःखीत थिए । राजा नरेन्द्रदेवको पालामा गुरु वन्धुदत्त अचार्यसँग त्यस अमानुषीलाई मार्ने बारे विचार गर्दा तान्त्रिक वन्धुदत्तले ३०÷३५ जना सिपाहीहरु मागे र अस्त्रशस्त्र दिइ अमानुषीलाई समाउन बाटोमा धुकेर बसे । त्यो कुरा अमानुषीले थाहा पाएर आसन त्यसपछि राजा, बन्धुदत्त र सिपाहीहरु नागार्जुन पर्वतमा पुगी अमानुषीलाई त्रिशुलले मारे । त्यसपछि देवपाटनवासी हर्षित भएर त्यसैको सम्झनामा प्रत्येक वर्ष त्रिशुल जात्रा गरेको भनी जनश्रुति रहेको पाइन्छ ।
त्रिशुल जात्रा सँगसँगै भुस्वाको लाश बनाएर जात्रा गर्ने चलन भूमि आचाजुसँगको घटनासँग सम्वन्धित आख्यान रहेको छ । भुमि आचाजुले यो मूल पूजा कोठा केही दिनसम्म नखोल्नु भनी आफ्नो श्रीमतिलाई सुनाएर भोटे ताल्चा लगाइ गएकोमा बाहिरी आइमाइको कुरा सुनी श्रीमान् भूमि आचाजुको विश्वास नगर्दा भूमि बन्धु आचाजु जस्ता महापुरुष र छोरा गुमाउनुका साथसाथै अमृतमय वस्तुबाट ग्वलका देवपाटनवासीले हात धुनु परेका कारण बाहिरको आगो भित्र लैजाँदाको परिणाम भोग्नु परेको घटनाको स्मरणमा त्रिशुल जात्रा पछिपछि भूमि आचाजुको छोराको शव यात्रा गरिँदै आएको पाइन्छ । भित्रको आगो बाहिर ल्याउन नमिल्ने, बाहिरको आगो भित्र हुल्न नमिल्नेबाट देवपाटन वासीले पाठ सिक्नु पर्दथ्यो । सुनाउनु नै नपर्नेलाई सुनाउनु, देखाउने नहुने कुरा देखाउनु भनेको वच्चाहरुलाई हातहतियार समाउन दिनु जस्तै हो । के थाहा बच्चाहरुलाई त्यसले घाउ चोटपटक लाग्ला भनेर त्यसको परिणाम दुर्घटना निम्त्याउनु हो । देवपाटनवासीले त्यस्तोवाट पाठ सिकिनु पर्दछ ÷पर्दथ्यो । जात्रामा गाली गलौच भन्दा आफ्नै मान्छेको कारण त्यस्तो घटना घटन गएको ग्लानी महसुस गर्नुपर्दथ्यो । आफूहरुलाई सुधार्नु पर्दछ । मचाकठ्ठी नराखी भर्खरको वच्चाहरु एक्लै सुताउँदाको अपहरण शैलीमा चोरी मृत्यु दुःखद घटनाको परिणाम भोग्नु परेको देवपाटनवासीले मचाकठ्ठी राखेर कपडाले छोपी बच्चा सुनाउनु पर्दछ भन्ने पाठ सिक्न सिकाउन यो त्रिशुल यात्रा मचातीया मचाकठ्ठी जात्रा गर्दै आएको मानिन्छ ।
पशुपती भुनवनेश्वरीका पुजारी भूमि आचाजुसँग त्रिशुल यात्राको अुनभुति यसप्रकार उल्लेख रहेको पाइन्छ । धेरै धेरै वर्ष पहिले पशुपति क्षेत्र जंगल भइरहेको बेलामा यहाँ अमानुषीले हमला गर्दथ्यो । त्यसबेला भूमि आचाजुले भुवनेश्वरी मन्दिरको पहरा दिँदै गरेको वेला अमानुषी राक्षसले हमला गरेछ । तान्त्रिक भूमि आचाजुले आफ्नो बल प्रयोग गरि लड्दा अमानुषी राक्षस भागेर शहरतिर पसेछ । भनिन्छ त्यसवेला अमानुषी राक्षसको ५०० बच्चाहरु थिए । अमानुषी राक्षसको अनुनयन विनयले यतैतिर एउटी आइमाइले उसलाई लुकाई राखे । भूमि आचाजु उनी राक्षससँग मुरमुरिरहेका थिए । त्यसवेला बाटोमा भेटे जति राक्षसका बच्चाहरु समात्दै तान्त्रिक विधिले त्रिशुलमा रोप्दै टोल टोलमा देखाउँदै घुमाएको उल्लेख पाइन्छ ।२
तान्त्रिक भूमि आचाजुले देखाउँदै गरे । जस्तै त्यसको स्मरणमा देव पाटनवासीले प्रत्येक वर्ष असार कृष्ण भलभल अष्टमीका दिन त्रिशुल जात्रा गरिँदै सिफल चौरमा पुगेर त्रिशुलमा उनेको बच्चा देखाउँदै तेरो बच्चाहरु पनि मारे भन्दै राक्षसले मारेका बच्चाहरुको लत्ता कपडा प्वाकलं रत्न जडित भोटो देखाउँदै आएको पाइन्छ । त्यहाँ सिफलमा पुगेर नानाभाती गाली गलौचको शव्द निस्कने भएर मोटो हेर्नेैको मतलव विहिन भएर गएको देखिन्छ । त्रिशुल यात्राको विधि विधान जेष्ठ शुक्ल षष्ठी सिठुठी नखः देखि शुरु हुन्छ त्रिशुल यात्राको निमित्त आवश्यक पर्ने ५ जना केटकेटीहरु गुठीयारहरुमा जयवागेश्वरी तर्फबाट २ जना बालिका १ जना बालक, भुवनेश्वरी र वज्रधर गुठीबाट १÷१ जना बालक छान्ने चलन रहेको पाइन्छ । त्यस दिन सम्वन्धित देवीदेवताको पूजा आजा गरी ती केटाकेटीहरुलाई त्रिशुल जात्राका दिन लगाउने पोषाक भोटो जयवागेश्वरीको परिधि हाताभित्र पनि देखाइन्छ । त्रिशुल यात्राका दिन खटहरु सिगार्ने क्रममा ती लुगाहरु भोटो पनि झुण्ड्याउने परम्परा रहेको देखिन्छ । जुन लुगाहरु राक्षसको प्रतीकको रुपमा लिइन्छ ।३
पशुपति क्षेत्र भित्र त्रिशुल जात्राको क्रममा असार कृष्ण अष्टमी भलभल अष्टमीका दिन भुवनेश्वरी र सिफल चौरमा ५ वटा प्वाकलं भोटो प्रर्दशन गरेर देखाइने चलन रहेको उल्लेख पाइन्छ । अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डंगोलका अनुसार भोटोको गलामा आकर्षक धातुको बुट्टा भएको सातवटा प्वाकलं भोटो मध्ये दुइवटा कामै नलाग्ने भइसकेको वाकी ५ वटा धातु जडित आकर्षक भोटो. उस्तै खालको दुरुस्त छ । त्रिशुल यात्रा मचातीया जात्राको बेला सोही आकर्षक भोटो देखाउछ भनी उल्लेख गरिएको छ । सोही त्रिशुल जात्राको वेला खट सिफल चोर पुग्दा गाली गलैच गर्ने भएका कारण त्यहा देखाइने आकर्षक भोटो हेर्ने र देखाउने मतलव विहिन भएर गएको देखिन्छ । धातु जडित भोटो हेर्नेको रौनक घट्दै गएको पाइन्छ । उसवेला नागार्जुनका अमानुषी राक्षसले पशुपती देवपाटनका बालवच्चा मार्न थाले पछि तिम्रो वच्चा पनि बदलामा यसरी नै मारिदिन्छौ भनी वालवच्चालाई मचाती मचाकठ्टठीमा त्रिशुलमा उन्नेको भान गरि देखाएर जात्रामा सहभागी गराउने चलन रहेको छ । अमानुषी राक्षसले मारेको बालबच्चाको उही बेलाको यो धातुजडित भोटो यसै अष्टमी भलभल अष्टमी तिथिका दिन यही त्रिशुल जात्राको खट जात्राको बेला प्रत्येक वर्ष सो गलामा आकर्षक धातु जडित भोटो प्वाकलं देखाउँदै आएको हो भन्ने उल्लेख रहेको छ । डंगोलका अनुसार भोटो प्रदर्शन जात्रा सकिएपछि यो भोटोलाई भुवनेश्वरी पीठमा पूजारी रवि कर्माचार्यको जिम्मामा वर्ष दिनको लागि थन्क्याइन्छ भन्ने रहेको छ । जात्रामा २÷३ बालिका बालक सहभागी हुन्छन् । पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत भएर पनि अमूर्त कला अन्तर्गतका यस्ता महत्वपूर्ण प्राचीन ऐतिहासिक मचातिया जात्रा–त्रिशुल जात्राको भोटो जात्रा छुटिराखेकोले विश्व सम्पदा सूचीमा पार्न पहल भइरहेको र सम्बन्धित निकायले प्राथमिकतामा राखेर अगाडि बढाओस् ।४ यहाँको मचातिया अन्तर्गतका अमूर्त कला जात्रा छिट्टै विश्व सम्पदा सूचीमा परोस् भन्ने कामना छ ।
सोही प्वाकलं भोटोको दर्शन गर्न पाउने निरन्तरता पाओस्, त्यसको लागि त्यहाँ जात्रामा हुने गाली, गलौच, अश्लिल शब्द प्रयोग जस्ता रुढीवादी विकृति परम्परा माथिल्लो निकायबाट नियन्त्रण गरी भोटो देखाइनेमा सहजीकरण गरे सो भोटो प्रदर्शनी पनि विश्व सम्पदा सूचीमा पर्नेछ भन्ने विश्वास लिएको छु । सबैले पहल गरे छिट्टै सम्पदामा पार्नेछ भन्ने विश्वास गर्दछु । प्रत्येक वर्ष ज्यावलखेलमा देखाइने भोटो जात्रा सबैले मनकारी भलाकुसारी गरि हेर्दछन् । तर पशुपति क्षेत्रको भुवनेश्वरी, सिफल चौरमा मचातिया जात्राको क्रममा देखाइने प्राचीन ऐतिहासिक प्वाकलं गलामा धातु जडित आकर्षक भोटो सात वटा मध्ये बाकी ५ वटा भोटो प्रदर्शनी हुँदा पनि त्यस बेला गाली गलौच अश्लिल शब्द प्रयोगका कारण भोटो हेर्नेको मतलबबिहीन भएर गएको हेर्ने नभएको भनी उल्लेख गरेको पाइन्छ । देवपाटनबासीले त्यसरी जात्रामा गाली गलौच गर्न छाडेर त्यस्ता शब्द प्रयोग नगरी बाहिरको आगो भित्र लैजान हुँदैन, भित्रको आगो बाहिर ल्याउनु हुँदैन भन्ने पाठ सिकेर प्राचीन ऐतिहासिक भोटो हेर्नेतिर दर्शकहरुलाई झुकाव बढाइ दिनु पर्दछ । अनि मात्र विश्व सम्पदा सुचीमा छुटेका अमूर्त कला अन्तर्गतका त्रिशुल जात्रा मचातिया जात्रा भोटो जात्रा विश्व सम्पदा सूचीमा पर्न सजिलो हुँदै जानेछ । यसका कारण जात्राको रौनक बढ्दै जानेछ ।
सन्दर्भग्रन्थ सूची
१. कोलिय वंश वृतान्त
२. पशुपतिका सांस्कृतिक सम्पदाहरु – सरला मानन्धर
३. पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन – १, गोविन्द टण्डन
४. गोरखापत्र २०७५ असार २५, पृ. १३
५. देवमाला वंशावली
६. भाषा वंशावली
७. नेपालका आराध्यदेव भगवान श्री पशुपतिनाथ, कुलचन्द्र कोइराला, ने.रा.प्र.प्र.
८. जीवन्त संस्कृतिहरु, रेखा शाक्य तथा शरण डंगोल, वि.सं. २०७५ आश्विन
९. सोधपुछ – सिताराम मिश्र र सरिता मिश्र ।











