चाकु ः नेवाः समुदायको अर्गेनिक चक्लेट

नेवार समुदायमा चाकूको बिशेष महत्व रहेको हुन्छ । नङ्ग र मासुको सम्बन्ध भने पनि हुन्छ । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चाड पर्बमा चाकुको माग अझ नेवार समुदायमा यःमरी पुन्हीदेखि नै सुरु भएको हुन्छ । नेवाःहरुको मौलिक परिकार यःमरी बनाउन विशेष गरेर चाकु नै बढ़ी प्रयोग हुने गर्दछ र अन्य तत्व समेत राख्ने गरिन्छ ।
यःमरि पुन्हीमा तिल, चाकु, लट्टे र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार ‘यःमरि’ हो । तसर्थ चाकु नभई नहुने तत्व भन्दा पनि फरक पर्दैन । नेवार समुदायका अधिकांश खानेकुरा ऋतुसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।
मकर सक्रांतिमा पनि नेवार समुदायमा यस दिन देशभर घ्यू, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाएर माघे संक्रान्ति पर्व मनाउने गरिन्छ र नेवाःहरुले ‘घ्यू चाकु सँल्हु’भनेर पनि भन्ने चलन छ । यस माघे संक्रान्तिमा समयबजीका रुपमा चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा राखेर खाने चलन छ ।
त्यसैले चाकुले चिसो फालेर शरीरलाई ताप र ऊर्जा दिने पौस्टिक आहारको रुपमा लिने गरिन्छ । अझ भन्नु पर्दा नेवाःसमाजमा बच्चा जन्मे देखि मर्ने बेला सम्म यसको प्रयोग हुने गर्दछ ।
प्राचीनकालमा बाक्लो लुगा सजिलै नपाइने हुँदा जाडो याममा बालबालिका, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँने हुँदा त्यस बखत उखुको प्रशस्त खेती पनि हुनुले सहज सख्खर चाकु पाइने भएर पनि चाकु खादा चिसो छिट्टै हटने भएकोले चाकु खाने गरिएको बताइन्छ ।
पौष÷माघ महिनाको चिसोमा चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुनुका अलावा काँचो घ्यू र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति, ऊर्जा प्राप्त हुने मान्यता छ । चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्ने चिकित्सक बताउँछन् ।
अन्य जात जातीको तुलनामा नेवाःहरुले बढी प्रयोग वा उपभोग परम्परागत चाकु हुने भएकाले नेपालका अधिकांश नेवाः बस्तीहरु विशेष गरी काठमाडौंको टोखा, ललितपुरको पाटन, काभ्रेको बनेपा धुलिखेल लगायत क्षेत्रमा चाकुको माग र उत्पादन बढी छ । यसलाई हाम्रो नेपालको अर्गेनिक चक्लेट भने पनि हुन्छ । चाड पर्ब नजिकिएसँग चाकुको उत्पादन र व्यापार बढने गर्दछ ।
मुख्यःतया उखु यसको कच्चा पदार्थ हो । आजकल पहाडी भु– भागमा खेती गर्ने चलन हराई सकेको छ । तराईमा भने अझै खेती गरेको पाइन्छ । प्रायः युबाहरु बिदेश प्रतिको मोहले देशमै केही नहुने देखे पछि बिदेसीने परिपाटी बसेको छ ।
चाकु बनाउन शुरुमा उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । चाकुलाई बनाउन पहिले पानीमा सख्खर राखि तामाको भाड़ामा आगोमा लामो समयसम्म पकाउनु पर्दछ । पानी र सख्खर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्नु पर्दछ । तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिटी राख्ने र त्यसलाई तन्काएर ताड्नु पर्छ जसले गर्दा चाकुको रातो रंग आउछ र खानको लागि पनि नरम र स्वादिलो हुन्छ । त्यसपछि आफूलाई चाहिने मात्रामा किसमिस, काजु, बदाम, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने गर्नु पर्दछ वा घरेलु तरिकाले पनि आफूले चाहे अनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ ।
बिदेशबाट आयातित अन्य चक्लेटको तुलनामा यस चाकुलाई देशमै ब्यबसायीकरण एवं बिदेश निर्यात गर्न सके देशको अर्थतन्त्रमा धेरै फाइदा पुग्ने देखिन्छ । ब्यबसायिक हिसाबले पहिले पहिले साधारण खालको चाकु बनाउने गरिएता पनि अहिले मसलेदार र स्पेसल चाकु बनाउन थालिएको पाइन्छ । त्यसैले चाकुलाई अन्तर्राष्ट्रियस्तरमा समेत अर्गेनिक चक्लेटको रुपमा ‘ब्रान्डिङ’ गर्न आवश्यक देखिन्छ ।

मेराे साप्ताहिकमा २०८२ माघ ६ गते प्रकाशित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध