आगामी सरकारको लागि अवसर र चुनौति
चुनाव हुन्छ कि हुन्न भन्दाभन्दै चुनाव सम्पन्न भयो । यो पटकको चुनाव कसैले नसोचेको भएको छ । कुनै पार्टी भन्दा पनि घण्टी ब्राण्डको अध्यधिक जित भएको छ । जनताले यसपटक उम्मेदवारको योग्यता क्षमता, उसको योगदान, आवश्यकता भन्दा पनि यो पटक घण्टी मात्र भनेको सुनियो । जे भए पनि घण्टी, जस्तो भएनी घण्टी, केवल घण्टी, भन्ने हुरी चल्यो, सबै पुराना दलहरु सँगै बढारिए ।
यो हुनुको कारण एक त पुराना दलहरु प्रतिको वितृष्णा हो । अर्को नेपाली मददाताहरुको एकोहोरो सोचाई पनि हो जता हावा चल्यो उतै पात हल्लियो भने जस्तै हो । अर्को विदेशी मिडियाको हुइयाँ पनि हो । फागुन २१ ग्ते चुनाव सम्पन्न भएर नतिजा प्रकाशित भएको पनि धेरै भै सकेको छ तर सरकार बनाउन रास्वपाले अझै सकिरहेको छैन । झण्डै दुइतिहाई मत ल्याएर पनि सरकार बनाउन किन ढिला भएको छ त्यो सबैले अचम्म मानिरहेका छन् । जनताका चाहाना तमाम छन् । विश्व परिवेस पनि फेरिएको छ । जनताको अभिमत अनुसार बुझ्नु पर्छ कि सरकार चाँडै बन्नु पर्छ र डेलिवरी छिट्टै प्राप्त हुनु पर्छ । पैंतिस बर्षदेखि जनताले पुराना दलहरुबाट आशा गरे तर भनेजस्तो पाउन सकेनन् । नयाँ पार्टीबाट धेरै आशा गरेको कुरा त मतको परिणामबाट प्रष्ट छ । यो कुरालाई रास्वपाले बुझ्नु पर्छ र तुरुन्त सरकार बनाएर जनताको आशा अपेक्षा पूरा गर्न लाग्नु पर्छ । पार्टी भित्रको आन्तरिक कुरा मिलाएर तुरुन्त सरकार गठन गर्नु पर्छ । विश्वमा युद्ध चर्किरहेको छ । तेल र ग्यासको आपुर्तिमा समस्या आएको छ । महंगी बढ्ने अवस्था छ । देश भित्र उत्पादन छैन । विदेश खास गरी खाडी क्षेत्रमा गएका नेपालीको अवस्था नाजुक भैरहेको छ । त्याहाँ बरोजगारी बढ्ने अवस्था छ । लाखौँ नेपालीहरुको बेहाल हुने र विदेशबाट फर्कन पर्ने हो कि भन्ने अवस्था छ । रेमिट्यान्टमा आधारित हाम्रो अर्थतन्त्र रेमिटठ्यान्ट घटेर देशमा आर्थिक शंकट आउने पो भन्ने अवस्था छ ।
भदौ २३ गतेको जेन जीहरुको हत्यामा संलग्न अपराधीहरु, २४ गतेका अपरधीहरु, सिंहदरवार, सर्वोच्च अदालत, अक्तियार, व्यवसायिक प्रतिष्ठान जलाउने र जेल तोड्नेहरु माथि कारवाही भैरहेको छैन । छानविन आयोगको रिपोर्ट अन्तरिम सरकारले नै सार्वजनिक गरेर दोषीहरुलाई कारर्वाही गर्नु पर्नेमा हालसम्म भएको छैन । त्यो काम पनि आगामी सरकारको जिम्मामा नै आएको छ । यी यावत कुराले गर्दा पनि सरकार छिट्टै बन्नु पर्ने अवस्था छ ।
सरकारमा राम्रा मानिसहरु जानु पर्छ विज्ञहरुलाई मन्त्रालयको जिम्मा दिनु पर्छ । पाँचबर्ष सरकार चलाउने जनमत पाएको छ । झिनामसिना कुरामा अलमल नगरी राष्टिय सहमती बनाएर अगाडि बढ्ने हो भने विशौँ बर्ष सरकार चलाउने रास्वपलाई अवसर मिलेको छ । यो अवसरको उपयोग गर्न जान्नु पर्छ । सर्ब सहमती विना तानासाही पाराले चल्नु राम्रो हुँदैन । के कसरी समाधान गर्ने त्यो पनि सर्बसहमतिको स्थिति जुटाएर अगाडि बढ्नु पर्छ । जनताका आशा अपेक्षाहरु धेरै छन् । त्यो पूरा गर्नु छ । जनताका न्युनतम मागहरु खान, बस्न, लाउन, शिक्षा, स्वास्थ्य, रोजगारी नै पूरा गर्नु पर्ने अवस्था छ । रुग्ण उद्योगहरु चलान, नयाँ आद्योगिक सम्भावनाको खोजी गर्न, रोजगारीका बाटाहरु खोल्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिहरुको अन्त्य गर्न, विदेशीहरुसँगको दौत्य सम्वन्ध सुमधुर गर्न, देशलाई आत्मनिर्भरता तर्फ लैजान, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन कायम गर्न योजना बनाएर अगाडि बढ्नु छ ।
निकट भविष्यमा बन्ने सरकारहरुलाई जति धेरै अवसरहरु रहेको छ त्यति नै चुनौति पनि छ । यो अत्यधिक बहुमत प्राप्त दल भएर पनि यस भित्र विवादहरु पनि त्यति नै देखिन सक्ने अवस्था छ । रास्वपा सिद्धान्त, निित, आदर्श, मार्गदर्शनको आधारमा बनेको दल हैन । यहाँ जस्ता पनि मानिसहरु जम्मा भएका छन् । जस्तालाई पनि टिकट दिइयो जस्ताले पनि जितेर आए । कोही राम्रा छन् । कोही अवसरवादीहरु छन् । कोही दलहरुबाट पलायन भएर आएका मानिसहरु छन् । कोही विदेशी एनजिओका जागिरदारहरुछन् । कोही विदेशी खुफिया एजेन्सीहरुका कर्मचारीको भूमिका निभाएको केही निर्दिष्ट उद्धेश्यले खडा गरिएका मानिसहरु छन् । कोही भदौ २४ गतेका अपराधीहरु छन् जस्ले सांसद पद जितेर पनि आएका छन् ।
यी सबैखाले मानिसका आआफ्ना उद्देश्य छन् । यी सबैको बीचमा साझा सहमति कायम गर्नु पर्ने हुन्छ । पुराना दलहरुका आआफ्ना सिद्धान्त थिए । एउटै विचारमा गोलबन्द भएका व्यक्तिहरुलाई त विदेशीहरुले प्रयोग गरेर दलहरुको अहिले यो हविगत भएको छ । उनीहरुले पनि बहुमत प्राप्त गरेका थिए । काँगे्रसले अत्यधिक बहुमत ल्याएर पन्ध्र साल, अड्चालिश सालमा बहुमत ल्याएकै हो तर टिक्न सकेन । माओवादी पनि कुनै वेला ठूलो दल बनैकै हो, एमाले पनि ठूलो दल कुनै बेल ाबनेकै हो । तर ठूलो दलको हैशियतले न देश । जनताको निमित्त काम गर्न सके न ठूलो दलको रुपमा टिक्न नै सके । यसरी हेर्दा त रास्वपालाई झनै चुनौती छ । किनकि यहाँ विभिन्न खालमा फरकफरक चाहना भएका मानिसहरुले जितेर आएका छन् । कोही त २४ गतेको अपराधमा संलग्न मानिसहरु पनि सांसदमा जितेर आएका छन् । धेरै त अवसरवादीहरु नै छन् । अर्को सरकार चलाउन कर्मचारी तन्त्र पनि सहज र सहयोगी हुनु पर्छ तर कर्मचारीतन्त्र भ्रष्ट छ । पुराना दलहरुलाई पनि गलत काममा सहयोग गर्नेहरुको संख्या धेरै छ । ती बानी विग्रेकाहरुबाट काम लिनु छ । सुरक्षा निकायहरुमा पनि त्यस्तै खालका मानिसहरु छन् । तिनीहरुबाट काम लिनु छ । आगामी सरकारलाई काम गर्न कानुनको अभाव छ । कानुन बनाएर पास गर्न उपल्लो सधनमा रास्वपाको सदस्य छैन । त्यहाँ पुराना दलहरुको बाहुल्यता छ । उनीहरुसँग सहमति नजुटाई त्यो काम सम्भव हुन सक्दैन ।
विश्व भूराजनीति पनि पहिले भन्दा फरक छ । हामीले विश्व राजनिितलाई नबुझी पुरानै तरिकाले चल्दा काम विग्रन सक्छ । छिमेकी र भित्रराष्टहरुसँगको सम्वन्धलाई पनि समसामयिक हिसावले सुमधुर र तटस्त भएर चल्न सक्नु पर्छ । छिमेकीहरुको विरुद्ध कुनै पनि काम यहाँबाट हुनु हुँदैन । फ्रिटिवेट मुभमेन्ट र भारतको अखण्डता र शान्तिमा खलल मच्चाउने तत्वहरुको पनि घुसपैठ हुने सम्भावना त्यहाँ छ । एमसिसि कार्यान्वयन, यसपिपि पासको लागि दवाव पनि झेल्नु पर्ने छ । यसले पनि आगामि सरकारलाई चुनौति थपेको छ ।
रास्वपाले अत्यधिक बहुमत ल्याएर पुराना दलहरु जस्तै घमण्ड गर्नु चाही हुँदैन । जनताले लडेर ल्याएको बहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामा नेताहरु जनताको सेवक होलान् र जनताका आधारभूत अधिकार जस्तै– गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका साथै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्लान् भन्नेमा जनताले विश्वास गरेका थिए । तर, व्यवस्था परिवर्तन त भयो तर जनताको अवस्था बदलिएन । ठूला पार्टी बनेकामा दलका नेताहरुमा घमण्ड, अहंकार, शासकीय मनोवृत्ति बढेर गयो । उनीहरुले विगतमा आफुहरुले पाएको दुःख, भोग्नु परेको जेलनेल सबै विर्से र जनता भन्दा हामी त माथिल्ला वादशाहा हौ भन्ने सोच्न थाले ।
उनीहरुमा अहंकार बढ्दै गयो र राजाहरु र एकदलीय निरंकुश शासक भन्दा पनि बढि देखिन थाले । देशको स्रोत र साधनको दुरुपयोग गरे । आफूले त अथाह लुटे जनतालाई ऋणमा डुबाए । जनताद्धारा चुनिएका उनीहरु जनताको असल सेवक बन्नुपर्नेमा उल्टो उनीहरुमा अहंकार र फाँसीवादी मनोवृत्ति सवार हुन पुग्यो । जस्ले गर्दा उनीहरु देश र जनता प्रति गैर जिम्मेवार बने । यो जनताले सहिरहन सकेनन् । अहिले पुराना दलहरुलाई हराएर रास्वपालाई जिम्मेवारी सुम्पेका छन् । यसलाई रास्वपाले विर्सनु हुँंदैन । रास्वपाले यो अवसर गुमाउनु हुँदैन । देशको लागि केह ीगर्न सक्यो भने जनताले फेरि पनि मौका दिइरहने छन् । अव ढिला नगरी ६ हप्तामा नै जनताले परिवर्तन देख्न पाउनु पर्छ । यसको लागि शुभकामना ।









