स्वर्णविजेता शारीरिक सुगठक सगेन्द्र सिंह सम्मानित
हालै भुटानको थिम्पूमा आयोजित १६ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता शारीरिक सुगठक सगेन्द्र सिंहलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
काठमाडौं महानगरपालिका १२ वडाको आयोजनामा उहाँलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
काठमाडौं मनपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा वडासचिव सन्जुमा महर्जनले स्वागत गरेको थियो ।
कार्यक्रममा छोटो मन्तव्य राख्दै सम्मानित व्यक्तित्व सिंहले शारीरिक सुगठन खेलको लागि आहारमा विशेष ध्यान दिनु पर्ने बताउँदै खेलको तीन दिन अघिदेखि पानी समेत पिउन नहुने बताए । वडाले आफूलाई गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त गरेको बताउँदै उनले आगामि खेलमा पनि यस्तै नतिजा ल्याउन आफूले प्रयास गर्ने बताए ।

कार्यक्रममा ज्यापु संस्कृति विकासका कोषका अध्यक्ष मंगलकृष्ण सिंहले मखन ज्यापू गुथिका सदस्य गजेन्द्रमान सिंहका छोरा सगेन्द्र सिंहले स्वर्णपदक जितेकोमा खुसी व्यक्त गर्दै ज्यापुहरु हरेक काम गर्ने क्षेत्रमा अगाडी रहेको र खेलकूदमा पनि अगाडि छ भन्ने कुरा यस स्वर्णपदकले पुष्टी गरेको बताए ।
यस्तै ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जनले शारीरिक सुगठनमा पहिले स्वर्ण जितेका महेश्वर महर्जनलाई सम्झनु हुँदै ज्यापु समुदायले शारीरिक सुगठनमा गरेको उपलब्धी उल्लेखनीय रहेको बताए । उनले निकट भविष्यमा नै महागुथिबाट पनि सिंहलाई सम्मान गर्ने योजना रहेको पनि सुनाए ।
कार्यक्रमको औचित्यबारे वडा सदस्य पुष्परत्न प्रजापतिले प्रष्ट पारेको कार्यक्रममा अर्का वडा सदस्य श्यामकृष्ण खड्गीले सम्मानपत्र वाचन गरी सुनाए ।
वडा सदस्य नानीहेरा महर्जनले संचालन गरेको कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष महर्जनले निकट भविष्यमा श्रेष्ठलाई अझ बृहत सम्मान कार्यक्रम गर्ने उद्घोष गरे ।












