वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो, समन्वय आवश्यक
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापन क्षेत्रमा चुनौती बढ्दै गएको भन्दै सरोकारवालाले सरकारको सक्रियता र समन्वयात्मक प्रयास आवश्यक रहेको बताएका छन्। नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशले आयोजना गरेको गोष्ठीमा सहभागीहरूले नीति, योजना तथा कार्यान्वयनमा देखिएका कमजोरीका कारण समस्या थप जटिल बन्दै गएको बताएका हुन्।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सीले वन संरक्षण, जैविक विविधता, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वातावरणीय सन्तुलन तथा जलाधार व्यवस्थापनमा पर्याप्त ध्यान नदिए नेपालको जैविक सम्पदा सङ्कटमा पर्न सक्ने चेतावनी दिनुभयो। उहाँले वन क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाबीच गहन छलफल आवश्यक रहेको बताउनुभयो।
गोष्ठीमा वन नीति तथा प्रशासनको आगामी दिशा, जलाधार व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व तथा बाँदर व्यवस्थापन, र दिगो वन व्यवस्थापनका विषयमा विभिन्न विज्ञ तथा पूर्वप्रशासकहरूको सहभागितामा प्यानल छलफल गरिएको थियो। छलफलमा जलवायु परिवर्तनको प्रभाव, वन्यजन्तुबाट कृषिमा बढ्दो क्षति, जलाधार संरक्षण तथा वनलाई उत्पादनमुखी र उद्योगसँग जोड्ने उपायबारे विचार विमर्श भएको थियो।
नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशका अध्यक्ष उत्तम चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन तथा वातावरण क्षेत्रका विज्ञ, सरकारी प्रतिनिधि, संरक्षणकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले दिगो वन व्यवस्थापन र वातावरण संरक्षणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकाले।











