नेपाल ओलम्पिक कमिटीसँगको सहकार्यमा बौद्ध इन्टरनेसनल स्कुलद्वारा विद्यालयस्तरमै पहिलो एन्टी–डोपिङ सचेतना कार्यक्रम
बौद्ध इन्टरनेसनल स्कुलले नेपाल ओलम्पिक कमिटीसँगको समन्वयमा विद्यालयका खेलाडीहरूका लागि एन्टी–डोपिङ सचेतना कार्यक्रम सञ्चालन गर्दै नेपालमै पहिलो पटक विद्यालयस्तरमा यस्तो कार्यक्रम सुरु गरेको छ।
साउन १४ गते आयोजित कार्यक्रममा विद्यालयका ५० जना खेलाडी सहभागी भएका थिए। कार्यक्रममा डा. ज्ञानेन्द्र विक्रम शाहले प्रशिक्षण दिँदै स्वच्छ र नैतिक खेल संस्कृतिको महत्व, निष्पक्ष प्रतिस्पर्धा तथा खेलकुदमा प्रतिबन्धित औषधि र विधिको प्रयोगबाट हुने असरबारे जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बौद्ध इन्टरनेसनल स्कुलका प्राचार्य हरि लामाले विद्यालयस्तरदेखि नै एन्टी–डोपिङसम्बन्धी अवधारणा र शब्दावलीसँग विद्यार्थीलाई परिचित गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। उनले सानै उमेरदेखि यस विषयमा सचेतना फैलाउन सके भविष्यका खेलाडीहरू जिम्मेवार, अनुशासित र नैतिक बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो। उनले युवा खेलाडीबीच एन्टी–डोपिङ शिक्षा विस्तार गर्दै स्वच्छ खेल संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
विद्यालयका अनुसार नेपाल ओलम्पिक कमिटीसँगको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम विद्यालयस्तरमा एन्टी–डोपिङ सचेतना अभियानको पहिलो पहल हो। यसले खेलाडीको समग्र विकास, खेलकुदमा इमानदारी, निष्पक्षता तथा नैतिक मूल्य प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ।











