आदिकवि भानुभक्तको सालिक अमेरिकामा स्थापना

नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको सालिक अमेरिकाको क्यालिफोर्निया राज्यस्थित रिचमण्ड सहरमा स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) उत्तर क्यालिफोर्निया च्याप्टरको आयोजनामा जुलाई १२ मा सम्पन्न भानुभक्तको २१३औँ जन्मजयन्ती समारोहका अवसरमा सालिक अनावरण गरिएको हो।

उत्तर क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बाबु आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नवराज लम्साल तथा रिचमण्डका मेयर एडुआर्डो मार्टिनेजले संयुक्त रूपमा सालिक अनावरण गरेका थिए। कार्यक्रममा अनेसास उत्तर क्यालिफोर्निया च्याप्टर मुख्य आयोजक तथा न्यान्स (NANSC) सह–आयोजकका रूपमा रहेका थिए।

Open photo

समारोहमा अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, हर्कुलस सिटी काउन्सिल सदस्य दिल्ली भट्टराई, अनेसास लस एन्जलस च्याप्टरका अध्यक्ष मोहन निउरे, अनेसास उत्तर क्यालिफोर्नियाकी उपाध्यक्ष रीता देवी प्रधान, रेडियो बुलबुलका सञ्चालक अच्युत घिमिरे, अनेसास बोर्ड अफ ट्रस्टी सदस्य धर्मराज कोइराला, मुक्तिनाथ धामका अध्यक्ष राजेश थापा, न्यान्सका अध्यक्ष प्रितेश कार्कीलगायत साहित्यकार, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै रिचमण्डका मेयर मार्टिनेजले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सालिक स्थापनाले रिचमण्ड सहरको सांस्कृतिक विविधतालाई थप समृद्ध बनाएको बताए। आयोजकका अनुसार अमेरिकामा आदिकवि भानुभक्तको सार्वजनिक सालिक स्थापना गरिएको यो पहिलो अवसर हो।

सोही अवसरमा खुला कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा जमुना भट्टराई प्रथम, गीता बजगाईं द्वितीय तथा जनकराज शर्मा तृतीय भएका थिए। प्रतियोगिताको निर्णायक मण्डलमा ऋषभदेव घिमिरे, पद्मप्रसाद नेपाल र केदारनाथ खनाल रहेका थिए। कार्यक्रममा अन्य स्रष्टाहरूले पनि आफ्ना सिर्जना वाचन गरेका थिए।

कार्यक्रमकै अवसरमा ‘समुद्रपारिका सिर्जना’ भानु विशेषाङ्कको समेत लोकार्पण गरिएको थियो। उक्त विशेषाङ्कका लागि कवयित्री तथा गीतकार मीरा उजेलीले रचना सङ्कलन गरेकी थिइन्।

प्रतियोगिताको दोस्रो पुरस्कार धर्मराज कोइरालाले प्रायोजन गरेका थिए भने अन्य पुरस्कारहरूको व्यवस्थापन आयोजक संस्थाले गरेको जनाएको छ। कार्यक्रमको सञ्चालन उपाध्यक्ष दीपक पाठक र महासचिव नारायण भट्टराईले संयुक्त रूपमा गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष दीपक पाठकले, धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष रीता देवी प्रधानले तथा समापन अध्यक्ष बाबु आचार्यले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध