ज्यापु संस्कृतिको पहिचान “मू धिमे” र “धुन्या”–३

धिमे सिक्ने सिकाउने गुरु शिष्य परम्परामा आधारित शिक्षा विधि हो । धिमे बाजा शिक्षण विधि परम्परागत रुपमा निरन्तर चल्दै आईरहेको छ । यो श्रुति परम्परामा आधारित छ जसमा वैदिक तान्त्रिक र धार्मिक पुजा गरी दुई विधिमा सिकाईन्छ । त्यतिबेला अशिक्षाले भुल्यो कि हराउने बेफाइदा थियो तर कण्ठ गरेको बोल र प्रयोगात्मक हुने भएकाले ननासिएको र यसले निरन्तरता पनि पाईरहेका छन् ।
परम्परागत हिसाबमा धिमे सिकाउने समय नेवारहरुको चाड गथांमुग (श्रावण कृष्ण चतुर्दशी) पछि हो । यो चाड असार महिनाको पछाडि पर्ने हुनाले बाजा सिक्नको लागि समय फुसर्दिलो हुन्छ । ज्यापूहरु असार महिनासम्म आफ्नो खेतबारीमा धान रोप्न व्यस्त हुन्छन् । असार सके लगतै तथा प्रायः सबैको धान रोप्ने काम सकिसकेपछि केही समयको लागि काम नभएर खाली बसेको समयमा धिमे बाजा सिकाउने परम्परा छ । धिमे सिक्नको लागि खासै उमेरको हदबन्दी छैन । जुनसुकै उमेरका इच्छुक व्यतिmहरुले पनि सिक्न सक्छन् तर पहिला पहिला यो बाजालाई ज्यापू बाहेक अरुहरुले सिक्नु हुँदैन भन्ने सोचाई थियो । साथै महिलाहरुलाई पनि यो बाजा सिक्न बन्देज लगाइएको थियो । तर समयको परिवर्तनसँगै पछिल्लो सयममा ज्यापु बाहेककाहरुले पनि यो बाजा सिकेको पाईन्छ भने महिलाहरुले पनि सिक्न र बजाउन थालेका छन् । धिमे बाजा सिकाउने समय यति नै भनेर तोकिएको छैन । ५ वा ६ बर्षमा एकचोटी अथवा सिक्नेहरु धेरै भएर गुरुलाई अनुरोध गरेमा पनि सिकाईन्छ । यो बाजा सिक्ने र सिकाउने कुराको सहमति वसुवार (बिहिवार) को दिन गरिन्छ । त्यसदिन सिक्न चाहने सवै शिष्यहरुले एउटा एउटा किसलिं (माटोको सानो पालामा अक्षता, एउटा सिंगो सुपारी तथा दक्षिणा) राखी नासःद्यःको संकल्प गरी कजिछेँ (संयोजकको घर) मा राखिन्छ । अर्को बिहिवार नासःद्यः सालेगु (नाट्येश्वरलाई वाद्यप्रशिक्षण स्थलमा प्रतिस्थापन गर्ने) गरिन्छ । सबै किसलीहरुलाई एउटा ठूलो धकि (निगालोले बुनेको भाडो) मा राखेर कजि छेँको एउटा छुट्टै कोठामा नासःद्यः को थापं (स्थापना) गरिन्छ । यसरी नासःद्यः स्थापना गर्दा धकिं (सेतो कपडामा नाट्यश्वरको आकृति चित्रित कपडा) पनि स्थापना गरिन्छ, जसलाई नासःद्यःकै रुपमा पूजिन्छ । आफ्नो गाउँ, टोलको नासःद्यः भएको ठाउँमा गई पूजा गरिन्छ र कजिछेँमा स्थापना गरिएको नासःद्यःकहाँ ल्याएर बलि दिइन्छ । जुन ठूलो धकिंमा बली चढाईन्छ, नास द्यः त्यसैमा आएर विराजमान भईरहेको हुन्छ भन्ने जनविश्वास गरिंदै आईरहेका छन् । त्यस धकिंलाई दिन दिनै पूजा गरिन्छ । शिष्यहरु सबै त्यसलाई नास द्यः मानेर ढोग्न जान्छन् । यो नास द्यःसालिगु काम रातिको समयमा गरिन्छ । त्यस दिनदेखि धिमे सिकाउने काम शुरु गरिन्छ ।
धिमे बाजा सिकाउँदा पहिला धिमे बाजामा बजाइने बोल तथा तालहरु कण्ठ गराईन्छ । जब बोलहरु सबैलाई कण्ठ हुन्छ त्यसपछि मात्र धिमे बजाउनको लागि शुरु गरिन्छ । बोल करिब १ देखि २ महिना भित्रमा कण्ठ गरि सक्छन् । पहिला पहिला बोलहरु लेख्नु हँुदैन भनेर लेख्न दिइन्न थियो । गुरुले जे बोल्यो त्यसैलाई आफूले सम्झिनु पर्ने हुन्थ्यो तर अहिले समयको परिवर्तनसँगै सबैलाई बोलहरु लेखिदिने तथा लेखिएका बोलहरु कण्ठ गराउने गरिन्छ ।
माधिमे सिकाउने अवधि माधिमे करिब २ देखि ३ महिनाको हुन्छ । यलय्प्वः धिमे भने प्रशिक्षार्थीहरुको क्षमता अनुरुप ढिलो चाँडो हुने गर्दछ । तर अहिले प्राय लेखेरै सिक्ने भएका कारण सबैले छिटो छिटो बोलहरु कण्ठ पार्नाले ४ देखि ५ महिना भित्रमै सिक्न सकिन्छ ।
माधिमे प्रशिक्षण दिँदा दशैंको लागि धिमे बाजा सिकाउन सकिसक्ने गरी धिमे सिकाइने गरिन्छ । धिमे बाजा प्रायः जसो सबैलाई समय अनुकूल हुनेगरि सिकाईन्छ । धिमे सिकाउन थालेको करिब एक देखि डेढ महिनामा कसले कति जान्यो भनेर मूल्याङ्कन गर्ने गरिन्छ । बा पूजामा बढी जान्नेलाई जलका र कम जान्नेलाई खलका भनेर छुट्याउने गरिन्छ । यो बा पूजा गरेको दिन पनि भोज गरिन्छ । नासः द्यः तानिसकेपछि प्रत्येक बिहिवार नासःद्यः पुजा गरेर समय बजी (चिउरा, छोइला, बारा, भटमास आदि) खाईन्छ । समय बजीसंग एउटा काँचो अण्डा पनि पालैपालो ल्याईन्छ र नास द्यःलाई चढाएर एक जनाले त्यो अण्डा काचो नै खाने गर्छन् । त्यो अण्डा उसिनेर वा पकाएर खान हँुदैन भन्ने मान्यता रहिआएको छ ।
धिमे बाजा सिक्न जाने शिष्यहरुले त्यो समयमा गाँउ–ठाउँ वरपरका कुखुरा, हाँस आदि चोरेर नास द्यःलाई बलि दिने गर्दछन् । यसरी नास द्यःलाई बलि चढाएमा नास द्यः प्रसन्न भएर आफूले धिमे बाजा राम्रोसँग बजाउन सक्ने बनाईदिने जनविश्वास रहिआएको पाइन्छ । यसरी यस्तो चोरीको कार्यलाई समाजले पनि नासःद्यःले नै मागेको भनेर कुनै विरोध गर्दैन तर आफ्नो कुखुरा तथा हाँसहरुलाई सुरक्षित ठाउँमा भने राखिन्छ । यसरी चोरेर खानेलाई नेवारीमा चासी खाने भन्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध