अब सम्झनामा मात्र गायक विदु शर्मा, मेरो विद्या काका
‘जुन कुराको डर थियो, आज त्यहि नै भइगयो
कसैलाई पार लाउँदा आफु त्यहिँ नै डुबि गएँ’
गायक विदु शर्माले गाउनुभएको एउटा गीतको बोल हो यो, रचना पनि उनकै । साँच्चिकैमा यस्तै नै भइदियो । जसको जन्म हुन्छ, त्यसको मृत्यु एकदिन त निश्चित नै छ । तर सबैलाई मृत्युको डर पनि रहन्छ । गायक विदु शर्मा रहेनन् । कसको मृत्यु कहिले कसरी हुन्छ, कसले भन्न सक्छ र । कसैले रोकेर रोक्न सकिने पनि होइन । तर पनि समय भएको थिएन, तर गायक विदु शर्माको निधन भयो, गत विहिबार असोज २२ गतेका दिन ।
नेपालको सांगितिक क्षेत्रमा उनलाई विदु शर्मा भनेर चिनिन्छ । औपचारिक रुपमा उनको नाम विद्वत्तम राज शर्मा हो । परिवारमा उनलाई विद्या भनेर बोलाउने गरिन्छ । मेरो लागी उहाँ विद्या काका । मलाई लाग्छ विद्या नाम नै उनलाई सबैभन्दा बढि सुहाउँछ । उनलाई मैले वाल्यावस्थादेखि चिनेको भनेकै विद्या नामबाटै भएकोले पनि होला, उनलाई यही नाम सुहाउने जस्तो लागेको । तर उनको स्वभावले पनि उनलाई विद्या भनेर सम्वोधन गर्नु नै उचित देखिन्छ । निकै अध्ययनशील, संगीतको विषयमा होस्, संस्कृति, संस्कार वा कुनै पनि विषय होस्, अध्ययन गर्न खुब रुचाउनु हुन्थ्यो उहाँ । विद्या आर्जन गर्ने चाहना उनमा निकै भरिएको थियो । त्यसैले पनि उनलाई विद्या नै भन्नु उचित होला ।
वर्षको हिसाबले ७० वर्ष भएका थिए । साँच्चिकैमा भन्नुपर्दा यो उमेर भनेको देह त्याग्ने उमेर थिएन । ७ वर्षपछि उहाँको पास्नी गर्नुपर्छ, त्यो बेला यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ । परिवार, नाता कुटुम्बमा सबै यस्तै किसिमले योजना बुन्दै थिए होलान्, सपना देख्दै होलान् । तर के थाहा थियो कसैलाई, भख्खरै कुरा गर्दै, अलि विसन्चो जस्तो भयो, एकछिन सुत्छु भनेर सुतेको मान्छे त्यसपछि कहिल्यै बिउँझिने छैनन् । हो, गत असोज २२ गते विहिबारका दिन विहानै उनको निधन भयो ।
वि.सं २००७ कार्तिक कृष्ण अष्टमीका दिन जन्मेका उनी केही वर्ष अगाडीबाट नै अलि अस्वस्थ थिए । केही वर्ष अगाडीबाट उनलाई दम रोगले च्यापेको थियो । दमले च्यापेपछि पहिलाका दिनहरुमा जस्तै उनलाई छिटोछिटो हिँड्डुल गर्न, ग¥हुँगो सामान उठाउन, भ¥याङ चढ्न अलि गार्हो भइसकेको थियो । तैपनि उनी विस्तारै हिँडिरहन्थे । सक्ने कामहरुमा व्यस्त भइरहन्थे । दम रोगले उनलाई सताएपनि उनको निधनको कारण भने मधुमेह रोग बन्न पुग्यो । बुधबारमात्र मधुमेहको औषधी सेवन गर्न थालेका थिए उनले । बुधबार बेलुकी पनि परिवारजनसँग बसेर आफ्नो गीत बजाउँदै गीतको बारे विश्लेषण, छलफल गर्दै बसिरहेका थिए । विहिबारको विहान पनि कहाँ त्यस्तरी रोगले च्यापेको थियो र, कि कसैले एकछिन पछिको समयलाई कल्पना गर्न सकोस् । विहान उठेर नित्यकर्म सकाइवरी हल्का नास्ता गरेर केही छिन आराम गर्छु भनी सुतेका थिए, त्यसपछि कहिल्यै उठेनन् ।
आफ्नो जीवनकालमा संगीत क्षेत्रमा उनी निकै सक्रिय रहे । गीत रचना, संगीतवद्ध गर्ने, गायन, रेकर्डिङदेखि लिएर संगीत सिक्ने काम पनि उनले निरन्तर गरीरहे र आफुले सिकेको ज्ञान पनि अरुलाई बाँड्दै बसे । संगीत प्रशिक्षणको सवालमा मेरो व्यक्तिगत अनुभव पनि यहाँनेर उल्लेख गर्नु सान्दर्भिक नै हुनेछ । स्कुले विद्यार्थी जीवनमा गायक बन्ने रहर चलेको थियो । तर गाउने कसरी थाहा छैन । सुर के हो, ताल कुन चराको नाम के थाहा । एकपल्ट एउटा पारिवारीक जमघटमा कुरैकुरामा मेरो यहि इच्छा मैले सबैलाई सुनाएँ । अनि विद्या काकाले नै ‘ल, तिम्रो यस्तै इच्छा छ भए, मैले जानेको म तिमीलाई सिकाउँछु’ भन्नुभयो । र त्यो बेलाबाट उहाँ हप्ताको तीन दिन घरमा आउनुहुन्थ्यो र मलाई सरगमको रियाज गराउनुहुन्थ्यो । भख्खरको कलिलो उमेर, टिनएज बेलाको काँचो दिमाग, बरु सिक्ने मान्छे म गम्भीर भइन, उहाँ मलाई सिकाउने मान्छे निकै गम्भीर । उहाँको हप्ताको तीन दिन मेरै लागि । त्यो दिन उहाँले कतै समय दिनुहुन्नथ्यो । मलाई रियाज गराउन हरेक दिन आउनुहुन्थ्यो ।
२०५० सालतिर हुनुपर्छ, उहाँले आफ्नो पहिलो एकल स्वरमा एल्बम ‘मेरो बोली’ बजारमा ल्याउनुभएको थियो । उक्त एल्बमबाट भनिदेउ उनलाई कसैले, घुमिफिरी आँखा मेरो लगायतका गीतले लोकप्रियता पाएको पनि थियो । त्यो बेला कक्षा ९ मा पढ्दै थिएँ । स्कुले विद्यार्थी जीवनमै क्यासेट वितरणको काममा हात हालिसकेको भएकोले वितरण क्षेत्रको बारे केही थाहा थियो । त्यसैले विद्या काकाको पहिलो एकल एल्बम मेरो बोलीको वितरणमा पनि उहाँसँग केही सहकार्य भएको थियो । भख्खरको उमेर, कमाई पनि शुरु भएको थिएन । क्यासेट बजारमा लिएर गएको पहिलो दिनको २ घन्टा जतिमा मैले सय वटा क्यासेट विभिन्न ठाउँमा पु¥याइदिएँ । पहिलो दिनको २ घन्टा जतिमै सय वटा क्यासेट बिक्री भएपछि उहाँले मलाई खुसी भएर सय रुपैयाँ दिनुभएको आज झलझली सम्झिन्छु । एक त भख्खरको उमेर, त्यसमा पनि त्यो बेलाको सय रुपैयाँ । मेरो लागी त धेरै ठुलो रकम थियो त्यो । आज त्यो क्षण सम्झिँदा रकम होइन, उहाँको माया याद आउँछ ।
त्यसपछि उहाँले नेपालभाषाको एकल एल्बम बांलाःम्ह मय्जु गन दु प्रकाशन गर्नुभएको थियो । यसको टाइटल गीत ‘बांलाःम्ह मय्जु गन दु’ निकै लोकप्रिय भएको थियो । उक्त गीतको म्यूजिक भिडियो नेपाल टेलिभिजनबाट प्रसारीत नेपालभाषाको पहिलो कार्यक्रम हसनाबाट निरन्तर प्रसारण भएको थियो । यसैगरी उहाँले ‘भावना मेरो’ एल्बम पनि आफ्ना श्रोतालाई दिनुभएको छ । साथमा विभिन्न भजन गीतहरु पनि उहाँले हाम्रो लागी श्रृजना गर्नुभएको छ । पछिल्लो समयमा त उहाँ प्रायः जसो भजनमै सक्रिय रहनुभएको थियो । घर नजिकको भजन मण्डलहरुमा गएर पनि उहाँ भजन गाउने गर्नुहुन्थ्यो भने भजन श्रृजनामा पनि उहाँ निरन्तर लाग्नुभयो ।
आज उहाँको नश्वर शरीर हामी माझ छैन । तर उहाँकै गीतहरुबाट उहाँ हामीसँग सधैं रहनुहुनेछ ।








