जागरुकको चौथो रक्तदान कार्यक्रम सम्पन्न

जागरुक युवा समाजले काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा गत शनिबार काठमाडौंको इतुंबहालमा रक्तदान कार्यक्रम गरेको हो ।
ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा आयोजित कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए ।
पछिल्लो समयमा जागरुक युवा समाज विशेष गरी काठमाडौंका भित्रि वस्तीमा फुटपाथ पसल हटाउ अभियानमा सक्रिय रहँदै आएको छ ।
अहिले महामारीको समयमा कुनै पनि विरामीले रगतको अभावका कारण ज्यान गुमाउन नपरोस् भनी समाजले रक्तदानलाई पनि तीव्रता दिएको समाजका सह सचिव साथै रक्तदान कार्यक्रम संयोजक राजीव श्रेष्ठले बताए ।


‘एक त महामारीको अवस्थामा रगतको माग पनि बढेको देखिन्छ भने अर्कोतर्फ आवश्यक कामबाहेक सर्वसाधारण घरभित्रै बस्ने भएको हुँदा रगतको अभाव हुने सम्भावना पनि बढेको छ,’ सह सचिव श्रेष्ठले भने । ‘त्यसैले यहाँ रगतको अभाव हुन नदिन हामीले निरन्तर रुपमा रक्तदान कार्यक्रमको आयोजना गरीरहेका छौं ।’
सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमलाई सुरक्षित ढङ्गले सम्पन्न गर्न ब्लोदानका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), मास्क र सेनिटाइजर लगायतका आवश्यक सुरक्षा सामग्रीहरु २४ वडाका वडाअध्यक्ष बालकृष्ण श्रेष्ठले सहयोग गर्नुभएको आयोजकले जानकारी दिएको छ ।


‘रगत भनेको अरु औषधीहरु जस्तै बजारमा गएर पनि किन्न सकिन्न, भन्नेवित्तिकै पाउन पनि गार्हो हुनसक्छ,’ २४ वडाका सदस्य साथै ब्लोदानका केन्द्रीय सदस्य र जागरुकका सल्लाहका विनोद तुलाधरले भने । ‘आजको विषम परिस्थितीमा रगतको अभावबाट कसैको अकालमा मृत्यु नहोस् भनेर हामीले रक्तदान कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै निरन्तर रुपमा रक्तदान कार्यक्रम गरिरहेका छौं ।’
कार्यक्रममा केन्द्रिय रक्त संचारका निर्देशक डा.मनिता राजकर्णिकार, केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति लगायत ब्लोदानका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।
समाजले यस अघि पनि काठमाडौंको थँहिति, त्यौड, पुरानो ढल्को लगायतका क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध