ज्यापु संस्कृतिको पहिचान “मू धिमे” र “धुन्या”–१
परापूर्वकालमा हरेक किसिमका काम गर्न सक्छु भनेर काम मात्र धेरै गरेर जिविकोपार्जन अर्थात् धेरै बल प्रयोग हुने र धेरै मेहनतको काम गर्न सक्ने भएकोले “ज्या यायेफू”, “ज्या=काम”, “यायेफू=गर्न सक्ने” रहेको छ, पछि धेरै समयको अन्तरालसँगै यस शब्द अप्रभंस भएर “ज्याफू” हुँदै “ज्यापु” भएको भन्ने कथन छ । त्यसैकारण ज्यापु भन्ने शब्दलाई पनि एक प्रकारले गर्वको रुपमा लिनु पर्दछ ।
यसैगरी खेती कार्यमा परापूर्वकालदेखि नै निरन्तरता दिँदैआईरहेका परिश्रमी, मेहनती तथा सामाजिक परम्परालाई पनि निरन्तरता दिंदै आईरहेको स्वाभिमानी जाति नै ज्यापु हो । यो जातिले आफ्नो कार्य कहिले पनि रोक्दैन । काम गर्नमा सिपालु, मेहनती, ईमान्दार आदि छन् । यसैकारण निरन्तर रुपमा आफ्नो कार्य गरी स्वतन्त्र र मौलिक रुपमा कार्य गर्दै आईरहेका परिश्रमी तथा सामाजिक क्रियाकलाप गर्नमा सक्रिय तथा कृषि कार्यमा निरन्तरता दिंदै आईरहेका ज्यापु जातिलाई “भाबो”को रुपमा पनि लिइएको छ । यसरी निरन्तरता दिने क्रममा अनन्त कालसम्म ज्यापु जातिले धिमे बाजा तथा धुन्याको प्रचलन तथा विभिन्न सांस्कृतिक सम्पदालाई जिवितै राखेको छ । शाक्यमूनि गौतम बुद्धको बुद्धत्वको ज्ञान प्राप्त भए पश्चात् नेपाल आगमन भ्रमणको क्रममा स्वागतको कार्यक्रमको लागि २५०० वर्ष अघिको समयमा धिमे बाजा र धुन्याको प्रयोग भएको भन्ने विभिन्न तस्विर मार्फत् देख्न सकिन्छ । विभिन्न प्रकारको सूर तथा ताल दिनमा र कस्तो किसिमको राग गायनको रुपमा प्रस्तुत गर्ने हो त्यसको प्रस्तुतिकरण सदाबहार रुपमा भईरहेको छ । धिमे बाजा नेपालको काठमाडौं उपत्यका भित्र बसोबास गर्ने नेवार जाति, जसमा पनि ज्यापु जातिले धेरै मात्रामा बजाउने धिमे बाजा हो ।
धिमे बाजाको वाद्य समूह अन्तर्गत धिमे बाजा नै मुख्य बाजा हो । यस समूहमा धिमे बाजा, भुस्या, छुस्या, ताः, कँयेपु, तिनिमुनी, पाेंँगा आदि बाजाहरु पर्दछन् । साथै धिमे बाजाको अघि अघि घुमाइने धुन्या पनि यसै बाजा समूह अन्तर्गत पर्दछ ।
धिमे बाजा सिसौ, उतिस, हलो आदि रुखका काठहरुबाट बनाईन्छ । एउटा बेलनाकार काठको मुढालाई दुवैतिरवाट खोक्रो हुने गरी भ्वाङ बनाईन्छ । त्यसको दाँयाको भागलाई खाली छालाले मात्र तन्काएर मोडिएको हुन्छ भने बाँया भागमा छाला भित्रबाट मसला राखी मोडिन्छ । जुन मसला साल्धुप, तेल र अल्पुबाट बनेको हुन्छ । यसरी दुबैतिर छालाले मोडिसकेपछि छालाकै तानले बीचबाट बेसरी कसेको हुन्छ ।
धिमे बाजा उठेर बजाइने भएकोले घाँटीमा झुण्ड्याउनको लागि छालाको डोरी नै दुई छेउमा बाँधेर लामो गरी राखिन्छ । धिमेको दाँयापट्टिको भागलाई नासः र देब्रे पट्टिको भागलाई मांका वा हईमा भनिन्छ । मांका भित्रबाट मसला राखिएको हुनाले घोर (धोद्रो) आवाज निस्कन्छ भने दाँयाबाट तिखो स्वर निस्कन्छ ।
ठूलो धिमे ज्यादै ठूलो आकारको तालबाजा हो । एक डेढ हात अर्धव्यास भएको गोलो काठलाई खोपेर दुबै तर्फ जनावरको छालाले मोडेर यो बाजा बनाइएको हुन्छ । काठमाडौंमा आदिबासीको रुपमा बसोबास गर्दै आईरहेका ज्यापु समुदायको ज्यादै पुरानो र रमाईलो बाजाको रुपमा धिमे बाजालाई लिईएको छ । यसलाई बायाँपट्टि हात दायाँपट्टि बृतको पौ धिमे कथिले ताल दिएर बजाईंन्छ । ठूलो धिमेको स्वर ठूलो नै मात्रामा घन्किने तथा आनन्दमय हुन्छ ।
नेपालमा रहेका सबै ज्यापु जातिहरुले धिमे बाजा बजाउने गर्दछ । तर यस्तो किसिमको धिमे बाजासँगै धुन्या घुमाउने प्रचलन भने काठमाडौंमा पाइन्छ । ठूलो धिमे बाजा सिथि नखः (कुमार षष्ठी)देखि गठेमंगल (घण्टाकर्ण चतुर्दशी)सम्म बाहिर ल्याईंदैन । नासः द्यःलाई झिंगाले छोएकोसम्म मन नपर्ने कारणले गर्दा गठे मंगलको भूत, प्रेत सबै बाहिर गईसकेपछि मात्र नासःद्यः विधिवत् पूजा गरि ठूलो धिमे बाजालाई बाहिर निकालिन्छ ।
ठूलो र सानो धिमे बाजा उपत्यकामा बसोबास गर्दै आईरहेका “कुलु” भन्ने जातिद्वारा बनाउने गर्दछ ।
(बाँकी अर्को अंकमा)








