जात्रामा हस्तक्षेप विरूद्ध देय् दबूकाे भर्त्सना
आज राताेमछिन्द्रनाथकाे रथ तान्ने क्रममा भएकाे प्रहरी हस्तक्षेपलाई लिएर नेवाः देय् दबू ललितपुर जिल्लाले भर्त्सना गरेकाे छ ।
जिल्लाका अध्यक्ष हिराकाजी महर्जनले एक विज्ञप्ति जारी गर्दै जात्रामा प्रहरी हस्तक्षेप निन्दनीय भनेकाे छ ।
अध्यक्ष महर्जनले कोभिड-१९ का कारण सरकारले राताेमछिन्द्रनाथकाे रथजात्राका सम्बन्धमा लामाे समयदेखि गैरजिम्मेवारीपूर्वक अनिर्णयीत अवस्थामा राखेर ऐतिहासिक जात्रा र संस्कृति संकटमा पारेकाे कुरा स्थानीय सरोकारवाला संघसंस्था, पुजारी, ज्योतिष, भक्तजन, गुथियारहरूले धेरैपटक गुथि संस्थान, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, केन्द्रीय सरकार र राष्ट्र प्रमुखलाई समेत जानकारी गराइ सकेकाे जनाएकाे छ ।
उहाँले जात्रा अगाडि बढाउन निकासका लागि अनुराेध गर्दा पनि निकास नआएकाे कारण आज ११४० ञलागा पारुका दिन सरकार र सरोकारवालाहरूलाई दवाव दिनका लागि स्थानीय जनता, भक्तजन र संस्कृति सम्पदाप्रेमीहरू ललितपुरकाे पूच्वमा स्वस्फूर्त भेला भएर रथजात्रा अगाडि बढाउने क्रममा सरकारका तर्फबाट गरेकाे लाठीचार्ज, पानीकाे फोहरा, अश्रुग्याँस प्रहार र बर्बर दमनकाे नेवाः राष्ट्रिय संगठन नेवाः देय् दबूका तर्फबाट घोर विरोध गरेकाे जनाएकाे छ ।
हजारौं बर्ष अगाडिदेखि चल्दै आएकाे संस्कृति जात्रा संरक्षणका लागि एक ठोस निकास दिनु पर्ने कुरालाई बेवास्ता गरी स्वस्फूर्तरुपमा आएका स्थानीय जनता, भक्तजन र संस्कृति प्रेमीहरूलाई बल प्रयोग गरी दमन गर्ने कार्यले परिस्थिति झन गम्भिर हुने कुरामा सचेत गराउँदै तत्काल सरोकारवाला सबैसँग छलफल गरी सहमति गरी निकास निकाल्न विज्ञप्तीमा आग्रह गरिएकाे छ ।
विज्ञप्तीकाे अन्तमा प्रहरीकाे झडप र धरपकडका क्रममा घाइते भएकाहरूकाे उपचारकाे व्यवस्था र गिरफ्तार गरिएका भक्तजनहरू बिनासर्त तत्काल रिहा गर्न समेत माग गरिएकाे छ ।








