म त्यति भाषणमा विश्वास गर्दिन जति काममा ः डा. शाक्य

मा. डा. अजयक्रान्ति शाक्य
प्रदेशसभा सदस्य, बागमती प्रदेश
वर्तमान परिस्थितिका सन्दर्भमा बागमती प्रदेशसभाका सदस्य मा. अजयक्रान्ति शाक्यज्यूसँग मेरो साप्ताहिकका सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
संगितकर्मिबाट राजनितिक जीवनमा प्रवेश गर्नुभएको छ । अहिले तपाईको जीवन कसरी वितिरहेको छ ?
मेरो जीवनमा संगीत संगसँगै साहित्य समाजसेवा यो सबै मैले सँगसँगै गर्दै आइरहेको थिएँ । पछिल्लो समयमा मेरो राजनीतिमा सक्रिय भएको मात्र हो । सवैलाई समेटेर अगि बढिरहेको छु ।
आजभोलि चाहि केमा बढि बेस्त हुनुहुन्छ ?
अहिले म प्रदेश सभाको निर्वाचित भइसकेपछि प्रदेश सांसदको हैसियतले जनताहरुको सेवामा समाजसेवामा व्यस्त छु ।
तपाईको अहिलेको झुकाव हेर्दा सांस्कृतिक सम्पदाको संरक्षणमा देखिन्छ । यो क्षेत्रमा तपाई कसरी पर्नुभयो ?
अब सम्पदा संस्कृति भनेको हाम्रो नसा नसामा छ । हाम्रो प्रत्येक श्वासमा संस्कृति सम्पदा छ । त्यसैले हाम्रो सम्पदाको संरक्षण गर्नु हामी सैवको दायित्व हो । म सांसद भइसकेपछि दुईतीनवटा विषयमा फोकस गरेको छु । ती मध्ये पहिलो संस्कृति सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, त्यसपछि पुर्वाधार विकास त्यसपछि समाजिक कार्य हुन् । यी कुराहरुमा समर्पित भएर दिन बितिरहेको छ । संस्कति सम्पदाको विशेष गरेर प्रदेश सभाको सांसदको हैसियतले आफु संस्कृतिकर्मिको हैसियतले नेपालमा विशेष गरेर काठमाडौं उपत्यकामा भएको संस्कृति सम्पदा त्यसमा पनि मूर्त अमूर्त संस्कृति सम्पदा संरक्षण प्रवद्र्धनमा विशेष जोड दिएको छु । प्रदेश साझेदारी विकास अन्तर्गतको छनौट गर्ने हामीलाई ३ करोड सम्मको अधिकार छ । त्यो कार्य क्षेत्रको प्रमुख कार्य मैले संस्कृति विशेष गरेर पुननिर्माणको सम्पदा प्रवद्र्धनमा लगाएको छु ।
तपाई प्रदेश सभा सांसद भइसकेपछि प्रदेशको भौतिक विकासका लागि पनि ध्यान दिनुपर्ने होइन र ?
भौतिक विकासको लागि पनि ध्यान दिएको छु । मेरो बानि के छ भने म त्यति भाषणमा विश्वास गर्दिन जति काममा । म निर्वाचित भइसकेपछि क्षेत्र नं ९ सम्पूर्ण जनप्रतिनिधिहरुले हामी सवै नेकपा एमाले आवद्ध छौं । हामीहरु तीनै तहमा एउटै पार्टीका भएर हामीलाई काम गर्न सजिलो भएको छ । यसलाई मैले अवसरको रुपमा लिएको छु । म निर्वाचित भइसकेपछि पहिलो वर्षमा नै जनताको विचमा जुन प्रतिबद्धता जाहेर गरेको थियो जुन निर्वाचनको दौरानमा गरेका थियौ । त्यो प्रतिबद्धता पुरा गर्नको लागि योजना संकलनको लागि शुरुको वर्षमा अभियान चलायौ । मैले चाहि टोलटोलमा गएर योजना अभियान संकलन गरिरहेका छौ । संकलन भएको योजनालाई प्राथमिकताको आधारमा योजना बैंकमा राख्यौ । योजना बैंकमा राखेर ५ वर्षको योजनामा प्राथमिकता आधारमा पहिलो वर्ष यो यो योजना बनाउने अर्को वर्ष अरु योजना गर्ने भनि प्राथमिकतामा राखेका छौ । त्यहि प्राथमिताका आधारमा हामीले काम गरिरहेका छौ ।
हाम्रो क्षेत्र नं ९ मा संघीय सांसद म काठमाडौ नगरपालिकाको मेयर साहेव वडा अध्यक्ष ज्यु हामी चारै जना मिलेर नै हामी लागेका छौ । सम्भवत छोटो समयमा नै हामीले धेरै कामहरु गरिसकेका छौ । पहिला पहिला जुन निर्वाचित भएका आएको यो क्षेत्रको जनप्रतिनिधिले कति काम गर्नु भयो र हामीले कति काम गर्यो यसलाई सापेक्षताको रुपमा तुलना गर्ने हो भने दुइ साढेदुइवर्षमा हामीले धेरै उल्लेख्य काम गरिसकेका छौ । त्यसमध्ये सम्पदाहरु पुन निर्माणमा विशेष जोड दिएर भित्रि शहरमा हामीले पुननिार्माण धमाधम गर्दै आइरहेका छौ । अमूत सम्पदाहरुको लागि पनि बजेट छुटाएका छौ । १४ नं वडाको खाला गाउँका स्थानियहरुले हामी काठमाण्डौ उपत्यकामा रहेर पनि पिछडिएको छौ । काठमाण्डौ महानगरपालिकाले हेरेन भन्ने उहाँको गुनासो थियो । नेकपा हामी तिनै तहका निर्वाचित भइसकेपछि खड्का गाउँमा गएर हेर्नुस त्यहाँ यति धेरै विकास भइसकेको छ । पहिला पानिको हाहाकार थियो प्रदेश सरकारको साझेदारि अन्तर्गत त्यहाँ २ लाख ४० हजारको पानी ट्यांकि बनायौ, दिप बोरिङ्ग बनायौ फिल्टर ल्पान बनाउदै छौ । पाइप वितरण पनि गर्दे छौ । यसरी हामीले पानीको समस्या सुल्झायौ । अब केहि दिनमा यहाँ घर घरमा पानि पुग्ने छ ।
अमूर्त संस्कृतिहरुको संरक्षणको लागि चाहि के के गरिराख्नु भएको छ ?
विशेष गरेर भाषाको क्षेत्रमा भयो, बाजाहरुको संरक्षणमा भयो । यसपालि बाजा संरक्षणका लागि ज्यापु महागुथिको लागि २० लाख रुपैया बजेट छुट्याएको छ । यसमा अझ थप गर्नु पर्छ भनेर हामीले माग गरेका छौं । अरु विभिन्न जातजातिहरुको बाजाहरु संरक्षणमा पनि हामी लाग्दै छौं । विभिन्न चाडबाडहरु अमूर्त सम्पदाहरुको जगेर्ना गर्न आर्थिक सहयोग प्रदान गरेर सहभागि भएर संरक्षण गन हामी लागिरहेका छौ ।
अब एकैछिन राजनितितर्फका कुरा गरौ । अहिले नेकपामा अहिले एउटा विवाद चर्केको छ । जुन पदिय व्यवस्था भनौ एककिसिमले एक पक्षले ओलिको राजीनामाको माग गर्दैछ भने एक पक्षले राजीनामा दिनुहुन्न भन्ने कुरा पनि आइरहेको छ । यो विषयमा हजुरको धारणा के छ ?
यो पार्टीको नितान्त आन्तरिक विषय हो । यसलाई बजारमा छटाछुल्ल पार्नु त्यति राम्रो काम होइन । म सँधै पार्टीको एकताको पक्षमा छु । मुलुकको विकासको लागि विखण्डन भन्ने कुरा हुँदैन । कुनै पनि पार्टी विखण्डन हुनुहुदैन त्यो चाहे कांग्रेस होस वा नेकपा होस वा अरु पार्टी नै किन नहोस् । सवै पार्टी विखण्डन नभई एक ढिक्का भई जबसम्म मुलुक समृद्ध हुँदैन । हाम्रो प्रधानमन्त्रीले भने जस्तै “समृद्ध नेपाल सुखी नेपाली” यो नार पुरा नभएसम्म हामी सवै एकढिक्का भइ काम गर्नुपर्छ । म पार्टी एकता भएको हेर्न चाहने मान्छे । हाम्रा आदरणिय नेताहरु पनि पार्टीको एकताको लागि उठेर पार्टी विखण्डन नहुने हिसावले व्यवस्थापन गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।
पार्टी विखण्डनको कुरा त भइरहेको छैन तैपनि यो विवाद यति लामो किन भइरहेको छ ? यसको समाधानको उपाय के हो ?
एउटै मात्र समाधान भनेको सहमति एकता नै हो । यो भन्दा बढी समाधान हुने कुनै कुरा छैन । सहमतिको लागि उहाँहरु बीचमा भएको मिसअण्डस्र्टान्डिङ्ग छ त्यो हट्नु पर्छ । सहमतिको विकल्प सहमति नै हो । एकताको विकल्प एकता नै हो । त्यो बाहेक अव मुलुकको लागि केहि हुँदैन । पार्टी विखण्डन भयो भने पार्टीको लागि मात्र होइन देश र जनताको लागि पनि हानि हुन्छ । पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउनु पर्छ ।
स्थायी समितिको कुरा गर्ने हो भने विगतमा केहि दिन अगाडि अध्यक्ष प्रचण्डको नेतृत्वमा स्थाइ समितिको छलफल बहुमतमा बस्यो है । त्यसले अध्यक्ष के.पी ओलीको प्रधानमन्त्रीको फिर्ता माग्ने सम्मको पनि निर्णय गर्यो भन्ने सुन्नमा आएको छ । यो निर्णय जाएछ हो कि वा दु्वै अध्यक्षहरु सहमति भएर एउटा निस्कर्षमा पुग्नु पर्ने हो तपाईको विचारमा ?
उहाँहरुले पार्टी एकता गर्नु हुँदा खेरी जुन उत्साहका साथ गर्नुभएको थियो । त्यहि उत्साहपूर्वक पार्टी एकटा र नेपालमा कम्यूनिष्टहरुको जुन वर्चश्व भयो उहाँहरुको निर्णयले गर्दा पार्टी एकता भएर यसलाई निरन्तरता दिनुपर्छ । अब अहिले कसैले कसैको राजीनामा माग्नु कसैले कसैलाई निषेध गर्नु भनेको उचित होइन । उहाँहरुले राम्ररी बुझ्नु भएको छ र यसको व्यवस्थापन पनि राम्ररी गर्नुहुन्छ । कहिले काहि विभिन्न आफ्ना दृष्टिकोण विचारहरु कार्यशैलीहरु सबै नेताहरुमा आफ्नो आफ्नै हुन्छन् । त्यसबीचमा अन्तरविरोध हुनु भनेको सामान्य कुरा हो । अन्तरविरोधले नै गति लिने भएको हुनाले माक्र्सवादले पनि त्यहि भन्छ । गतिलिनलाई अन्तविरोध अन्तरसंघर्ष हुन्छ । त्यसबाट नै गति लिन्छ । त्यसकारण अहिलेको अन्तरविरोध अन्तरसंघर्षले पनि गति लिन्छ र पार्टीलाई अझ उचाइसम्म लान सहयोग मिल्छ भन्ने मेरो विश्वास छ ।
चुनाव पनि नजिकिँदै छ । दुईवर्ष पछि त फेरी चुनाव हुँदैछ यस्तै अवस्था रहने हो भने भोलि नेकपाको भविष्य कस्तो देखिनु भएको छ ?
होइन यो केहि समयको लागि मात्र हो । चाँडै नै यसको समाधान हुन्छ । यो आन्तरिक विवाद भएको हुनाले । यसलाई पार्टीका नेताहरुले आन्तरिक छलफल र समझदारीबाट नै समस्याको समाधान गर्छ भन्ने मलाइ विश्वास लाग्दछ ।
अहिले संगित क्षेत्रमा के गरिराख्नु भएको छ ?
करिव करिव २० वर्ष भइसक्यो मैले नयाँ संगीतहरु रिकर्ड नगरेको । तर यो दौरानमा मैले कविताहरु लेखेको छु । करीव करीव ३ सयवटा कविता लेखेको छु । निकट भविष्यमा मेरो कविता संग्रह प्रकाशित हुनेछ । त्यस्तै गरि यो दौरानमा मैले पि.एच.डि. पनि गरेँ । यसै बीच कितावहरु लेखेको छु । चारवटा कितावहरु तयारी भइसकेको छ । यो छिट्टै नै प्रकाशन हुने छ । संगीततर्फ मैले रिकर्डिङ्ग चाहि गरेको छैन तर रियाज र संगीतबाट भने टाढा भएको छैन । समय अभावले त्यो गर्न नसकेको हो अब यसलाई म फेरि निरन्तरता दिनेछु ।
अन्तमा मेरो साप्ताहिकका पाठकहरुलाई केहि सन्देश राख्न हुन अनुरोध गर्दछु ?
मेरो निवाससम्म आएर मेरो कुराहरु राख्न मौका दिनुभएकोमा तपाईको टिमलाई म धन्यवाद दिन चाहन्छु । आदरणिय दर्शक महानुभवहरुलाई म के भन्न चाहन्छु भने राजनिति भनेको एउटा हतियार मात्र हो । राजनीति भनेको देश र जनताको लागि हो । राजनिति नै सबथोक होइन, राजनीति नै अन्तिम सत्य होइन । त्यसकारण राजनीति भन्नु नै अन्तिम प्राप्ति होइन । यो हतियारलाई जनता र देशको लागि प्रयोग गरि समर्पित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध