‘मातृभाषा पत्रकारिताको बहस राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित हुँदै’ संयोजक सुनिल महर्जन
नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा यही जेठ ३० र ३१ गते दोश्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौं उपत्यकाको ललितपुर र भक्तपुरमा आयोजना गर्ने भएको छ । गत वर्ष पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलनको आयोजना गरेको दबूले नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यले ‘बुद्धधर्म’ पत्रिका प्रकाशन गरेको सय वर्ष पुगेको अवसरमा आयोजना गरेको थियो । यस वर्ष सय वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको सम्मेलनको बारेमा दबूका वरिष्ठ उपाध्यक्ष एवम् सम्मेलनका संयोजक सुनिल महर्जनसँग मेरो साप्ताहिकका लागि सम्पादक रत्नकाजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
दोश्रो अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनको आयोजना किन ?
नेपालमा मातृभाषा पत्रकारिताको विषय जुन रूपमा बहस हुनुपर्ने र जुन रूपमा नीतिगत रूपमा उठान हुनुपथ्र्यो त्यो अपेक्षाकृत भइरहेको पाइँदैन । त्यसकारण नेपाली समाजको जुन बहुल जाति बहुल भाषा छ, त्यो समाजको विकासका लागि मातृभाषा पत्रकारिता अनिवार्य छ र यो कुरा नीतिगत रूपमा स्थापित गर्नुका लागि नेवाः पत्रकार राष्ट्रिय दबूले आदिवासी जनजाति पत्रकार महासङ्घ, दक्षिण एसियाली पत्रकार मंच लगायत सबैको सहयोग र सहकार्यमा यो दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन गर्न लागेको हो ।
यो सम्मेलनको तयारी कुन चरणमा पुगेको छ?
सम्मेलनको तयारी लगभग हामी अहिले अन्तिम चरणमा छौँ । अहिले मूलभूत रूपमा यसको सैद्धान्तिक विषयवस्तुहरू फाइनल भइसकेको छ र अहिले हामी अन्तिम तयारीमा छौँ।
सम्मेलनमा सहभागिताका लागि के कस्तो प्रावधानहरू छन् ?
सम्मेलनमा हामीले जोसुकै मातृभाषा प्रति, यो इस्यू प्रति मतलब राख्ने बुझ्न चाहने र यसमा काम गरिरहेका मानिसहरूले सहजै सहभागीको रूपमै सम्मेलनमा सहभागी हुनुसक्ने छ । सहभागिताको लागि हामीले न्यूनतम दर्ता शुल्कको व्यवस्था गरेका छौँ ।
दुई दिने सम्मेलन पहिलो दिन हामीले राष्ट्रिय पर्यटन संरक्षण कोषमा हुनेछ भने दोश्रो दिन भक्तपुरको मध्यपुर थिमिमा रहेको थिमी बैंक्वेटमा हुनेछ र सहभागी हुने चाहनेलाई सहजै सहभागी हुन सक्ने अवस्था छ ।
यो सम्मेलनमा कुन कुन देशबाट सहभागी हुनेछ ?
अहिलेसम्ममा हामीलाई प्राप्त जानकारी अनुसार भारत, बङ्गलादेश, भुटान, श्रीलंका लगायत चार देशबाट सहभागी हुने अवस्था छ भने अरू अरू देशका पत्रकारहरुसँग पनि पत्राचार हुने क्रममा छ र उहाँहरू आउनका लागि उत्साहित हुनुभएको छ ।
विदेशबाट पनि आउँदै हुनुहुन्छ । मातृभाषा पत्रकारितामा संलग्न हुने बाहिर जिल्लाका पत्रकारहरू पनि आउनुहुन्छ होला । यसरी विदेश र बाहिर जिल्लाबाट सहभागी हुने पत्रकारहरूको लागि चाहिँ के कस्तो व्यवस्था गर्नुहुन्छ ?
बाहिरबाट विदेशबाट आउने अथवा काठमाडौँ बाहिरका बाहिरबाट आउने साथीहरूलाई हामीले तीन दिनको उहाँहरू आवास तथा खानाको व्यवस्था नेवाः पत्रकार राष्ट्रिय दबूले मिलाएको छ ।
तपाईंहरू धर्मादित्य धर्मचार्यले नेपालभाषा र पत्रकारिता शुरु गरेको अवसरलाई मातृभाषा पत्रकारिता दिवसको रूपमा लिनुभएको छ। पत्रकारिताको इतिहास हेर्यौ भने त पत्रकारिता मातृभाषाबाट नै शुरू भएको देखिन्छ । यो धर्मादित्य धर्मचार्यले पत्रकारिता सुरु गरको दिनलाई चाहिँ किन मातृभाषा पत्रकारिता दिवस भन्नुभयो ?
हामीले पहिलो अन्तर्राष्ट्रिय राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनबाट एउटा निष्कर्षमा पुगेका थियौँ । नेपालमा नेपालभाषाको पत्रकारिता सुरुआत भएको जुन धर्मादित्य धर्माचार्यले बुद्ध जयन्तीको अघिल्लो दिनलाई हामीले मातृभाषा पत्रकारिता दिवसको रूपमा मनाउनुपर्छ । मातृभाषा पत्रकारिता संबंधी एजेन्डा, मातृभाषा पत्रकारिता संबंधी समस्यालाई राज्य राज्यका तत्वाधिकारबाट निरूपणका लागि र मातृभाषाको पत्रकारिता बहसका लागि हामीले मातृभाषा पत्रकारिता दिवस मनाउँदै आइरहेका छौँ ।
तपाईंहरूले गत वर्ष पनि अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन गर्नुभएको थियो । त्यतिखेर १० बुँदे घोषणापत्र पनि जारी गर्नुभएको थियो, होइन ? त्यो घोषणापत्र कार्यान्वयनको चरणमा कतिको उपलब्धिमुलक पाउनुभयो ?
एउटा अब घोषणापत्र जुन उत्साहका साथ जारी गरिएको हो, व्यवहार त्यो उत्साहका साथ नभएको हामी पनि महसुसै गरेका छौँ । तर एउटा उपलब्धि के रुपमा पायौँ भने यसले दक्षिण एशियाली पत्रकारहरूकाबीच एउटा आपसी अनुभव साझा गर्ने स्थान, साझा सम्बन्ध विकास गर्न पायौं । हामीले धर्मादित्य धर्माचार्यज्यूले भारतको कलकत्ताबाट आजभन्दा १०१ वर्षअगाडि जुन पत्रिका निकाल्नुभएको थियो, उहाँको योगदान, व्यक्तित्वलाई अन्तर्राष्ट्रिय रुपमा चर्चा परिचर्चा गर्ने एउटा मौका पाएका थियौं । त्यो एउटा उपलब्धि हो र त्यो घोषणापत्र ल्याएका जुन कुराहरू छ त्यसको कार्यान्वयनको हुनेक्रममा छ, हुनु बाँकी नै छ ।
नेपाल सरकार समक्ष घोषणापत्रका मुदाहरू पुगेका छन् कि छैन ?
हामीले राष्ट्रपतिदेखि लिएर सभामुख र मन्त्रीहरुलाई यसको जानकारी गराएका छौं । हामीले गत आइतवार पनि सभामुखलाई भेट्यौ, सञ्चार मन्त्रीलाई भेट्यौं । हाम्रा मागहरु र अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको बारेमा जानकारी गरायौं । त्यो भइरहेको छ र नेपाल सरकारले पनि अब मातृभाषा पत्रकारितालाई अगाडि ल्याउनुपर्छ, यसलाई विकास गर्नुपर्छ भन्ने कुरा बल्ल बुझ्न थालेका छन् । अरू हाम्रो हिसाबले भन्ने हाृ भने सरकार अहिले बुझ्ने क्रममा नै छ भन्नुपर्ला । अनि यसमा अब सरकारले जुन सरकारी सञ्चार माध्यममा भाषाभाषीको समाचार दिन थालेको छ, त्यो पनि एउटा राम्रो प्रयासका रूपमा रहेको छ । यद्यपि त्यो काम पर्याप्त छैन र त्यसो भएका कारण धेरै कामहरू हुन बाकी छ ।
यो अहिलेको परिवेश जुन प्रविधिको क्षेत्रमा हेर्ने एकदमै विकसित परिवेश छ । अहिलेको अवस्थामा चाहिँ मातृभाषा पत्रकारिताको अवस्था कस्तो पाउनुभएको छ ?
अहिले मातृभाषाको पत्रकारिता अरू पत्रकारिताको दाँजोमा अलिकति विकास हुन कठिनाइ छ । तर विकास भइरहेको अवस्था पनि छ र मातृभाषा पत्रकारिता बजारको भरभन्दा पनि एउटा भावनाको हिसाबले, राज्यको सहायताको हिसाबले र एउटा विशेष भावले चल्नुपर्ने पत्रिका हो । यस कारण यो अहिले अपेक्षाकृत धेरै विकास भइरहेको छ । तपाईंको अनलाइनमा हेर्नुहोस्, न्यु मिडियादेखि हेर्नुहोस् । होइन धेरै पुरा पत्रपत्रिका पनि छन् । तर हिजो भन्दा विकास हुँदै गएको छ । तर कठिनाइ त छ नै । कठिनाई चाहिँ सरकारबाट सम्बोधन हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ ।
सरकारी नीतिगत रुपमा हेर्यौ भने मातृभाषा पत्रकारिताका लागि अब के गर्नुपर्छ जस्तो लाग्छ ?
एउटा मातृभाषा पत्रकारिताको लागि सबैभन्दा ठुलो कुरा भनेको मातृभाषा पत्रकारिता बजारले मात्रै बाच्न नसक्ने स्थिति छ, होइन? तपाईं हरेक कुरा त्यसकारण यसको विज्ञापनमा अलिकति सहूलियत, विशेष सहूलियत हुनुपर्ने आवश्यकता छ । त्यो पहिलो कुरा म देख्दछु । दोस्रो, मातृभाषी पत्रकारलाई उहाँहरूलाई विशेष तालिम, क्षमता वृद्धि, वृत्ति विकासको कुराहरू पनि जोडिनुपर्छ । दुई काम गर्दै गयो भने चाहिँ धेरै कुराहरू गर्न सकिन्छ, हुन्छ भन्ने लाग्दछ ।
यो सम्मेलन जुन आयोजना गर्दै आउनु हुन्छ । यो सम्मेलनबाट समग्र पत्रकारिता जगतले त कस्तो उपलब्धि पाउँदैछ ?
वास्तवमा यो सम्मेलन भनेकै नेपाली पत्रकारिता, नेपाली पत्रकारिताको विकासका लागि महत्वपूर्ण पहलकदमीका रूपमा रहेको छ । किनभने नेपालमा जुन रूपमा मातृभाषा पत्रकारिताको बहस छलफल नभइरहेको अवस्थामा मातृभाषा पत्रकारिताको अवस्था र नेपालमा मात्र होइन दक्षिण एसियाको अवस्था र यहाँका समस्याहरू, यहाँका चुनौतीहरू विषयमा हामीले नीतिगत रूपमै सरकारलाई जानकारी दिएका छौं । समग्र पत्रकारिता र मातृभाषा पत्रकारिताका लागि नेवाः पत्रकार राष्ट्रिय दबूले गरेको एउटा प्रयासका रूपमा लिनुपर्दछ । त्यसलाई लिनेछ भन्ने हामी विश्वास गर्न चाहन्छु । यो सम्मेलनबाट अन्तर्राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको अवस्था कस्तो छ, विदेशमा मातृभाषा पत्रकारहरुप्रति गरिने व्यवहार कस्तो छ भन्ने जानकारी हामीले पाउन सक्छौं । जुन नीति निर्माताहरुका लागि समेत महत्वपूर्ण हुनेछ ।
यो दुई दिनको जुन कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ, यसको स्वरूप चाहिँ कस्तो हुन्छ ?
हामीले यो सम्मेलनका क्रममा महत्वपूर्ण तीन चारवटा कुराहरू यसपालि ल्याउने छौं । एउटा अहिले लोकतान्त्रिक सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको अवस्थामा सरकारी संचार माध्यममा मातृभाषा पत्रकार, मातृभाषाको प्रयोगको अवस्था मातृभाषाको के के छ भन्ने कुरा हामी त्यहाँबाट थाहा पाउँछौं । त्यसका चुनौतीहरू, त्यसका कमजोरीहरू त्यसमा सुधार गर्नुपर्ने कुरा, धेरै कुरा आउँछ । अर्को समुदाय स्तरबाट गरिने कामहरू के के छन्, के के भैरहेका छन् ? समुदाय स्तरबाट स्वरोजगार मिडियाबाट मातृभाषाको लागि के भइरहेको छ भन्ने आउँछ । तेस्रो पक्ष भनेको नेपाली पत्रकारिताको विकासको लागि मातृभाषा पत्रकारिता महत्वपूर्ण छ भन्ने कुरा उठ्छ । दक्षिण एसियाको मातृभाषा पत्रकारिताको अवस्था के छ भन्ने विषयमा एउटा अनुभवीहरू त्यसका अभ्यासकर्ताहरूबाट मनोविज्ञान रूपमा छलफल, बहस, चिन्तनहरू हुनेछ ।
यसका साथै हामीले मातृभाषा पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्वहरुलाई यस कार्यक्रममा सम्मान गर्ने, नेवाः पत्रकार राष्ट्रिय दबूको मुखपत्र आज्जुको विशेषांक प्रकाशन गर्ने योजना रहेको छ । साथै यस कार्यक्रमको अन्त्यमा विभिन्न देश तथा मातृभाषी पत्रकारहरुले सम्मेलनमा उठाएका महत्वपूर्ण विषयहरु समावेश गरी एक घोषणा पत्र पनि जारी गर्नेछौं । जुन अन्तर्राष्ट्रिय दस्तावेजको रुपमा रहनेछ ।
आर्थिक व्यवस्थापनको लागि के कस्तो योजना छ ?
यसमा हामीलाई हाम्रो सहयोगी भनेको स्थानीय तहहरू हुन् । विभिन्न दाताहरू हुन् । हामीलाई ललितपुर महानगरपालिका, काठमाडौँ महानगरपालिका, मध्यपुर थिमी नगरपालिकाले सहयोग गरेको छ ।
यहाँलाई यस्तो व्यस्त समयका लागि बावजूद समय दिनु भएकोमा धन्यवाद छ ।
मेरो साप्ताहिक पत्रिकाका सबैलाई धन्यवाद दिन चाहन्छु ।








