लुम्बिनीमा पाँच सय भिक्षु प्रवज्या गरिने

बुद्ध धर्म सम्बन्धी जनचेतना अभिवृद्धिका साथै लुम्बिनीको प्रचारका लागि एकैपटक ५सय मानिसहरूलाई फागुन १४ देखि चैत्र ३ गतेसम्म  अल्पकालीन प्रवजित गरिने भएको छ ।

प्रवज्या सामाजिक नेपालले अखिल नेपाल भिक्षु महासंघ र थाई ईण्डिया-नेपाल धर्मदूतसँग सहकार्य गरी आयोजना गरेको कार्यक्रमका सम्बन्धमा यही माघ १६ गते बुधवार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

फागुन १४ गतेसम्ममा प्रवजित हुन चाहनेले नाम दर्ता गराउन आग्रह गरेको पत्रकार सम्मेलनमा  बुद्ध जन्मभूमि नेपालमा सन् २०११ देखि अखिल नेपाल भिक्षु महासंघ र थाई ईन्डिया-नेपाल धर्मदूतसंगको सहकार्यमा वार्षिक रुपमा कुलपुत्र प्रव्रज्या कार्यक्रम मार्फत् बुद्ध शिक्षा जनमानसमा फैलाई सभ्य समाज निर्माणको उद्धेश्यले कार्यक्रम आयोजना गर्दै आईरहेको जानकारी दिइएको थियो ।

सन् २०११ देखि सुरु गरिएको कार्यक्रममा समयानुसार १११ जना, १११२ जना, १५० जना, १११९ जना ५०० जना, १२५० जना लाई प्रव्रजित गरिसकेको र यसवर्ष ५०० अल्पकालिन कुलपुत्र प्रव्रज्या कार्यक्रममा देशभरका विभिन्न स्थानबाट ५०० जनालाई प्रव्रजित गर्ने (श्रामणेर बनाउने) कार्यक्रम योजना रहेको बताएको छ ।

थाईल्याण्ड लगायत अन्य विभिन्न राष्ट्रहरुबाट प्रतिनिधि सहभागी हुने भएकोले बौद्ध पर्यटकहरुको संख्या वृद्धि भै पर्यटन व्यवसायमा टेवा पुग्ने आयोजकको दाबी छ ।

प्रबज्या सामाजिक नेपालले व्यवस्थापन गर्ने कार्यक्रममा सहआयोजकको रुपमा थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, धर्मोदय सभा, बौद्ध विहार संघ, अक्षेश्वर महाविहार, हिरण्यवर्ण महाविहार, धम्मसाकच्छा संघ, नेपाल मगर बौद्ध सेवा समाज, युवक बौद्ध नेपाल, बुद्ध समाज नेपाल, World Alliance of Buddhist, लुम्बिनी बौद्ध विश्वविद्यालय, नागवहाल टोल सुधार समिति Dhammakaya University, Dhammakaya Foundation र प्रोमिस ल्याण्ड रहेेको छ ।

प्रव्रजित श्रामणेरहरुले यस अवधि भरमा शील ग्रहण गरी पालना गर्ने छन्, र थाईल्याण्डका भिक्षु  Phra Phrom Senabadi को उपाध्यायत्वमा तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविर उपस्थितिमा प्रव्रजित गराईनेछन् ।

यस कार्यक्रममा  प्रव्रजित हुनेहरुले बुद्ध शिक्षाका आधारभूत शिक्षा थाहा पाउने, विभिन्न धर्मगुरुहरुमार्फत गहन ध्यान अभ्यास गर्ने, अल्पकालीन प्रव्रज्या भएकोले प्रव्रजित जीवनको स्वःअनुभव गर्ने र बुद्धकालीन समयमा भगवान बुद्ध शुद्धोदन महाराजाको निमन्त्रणामा बुद्ध भैसकेपछि प्रथम पटक कपिलवस्तु आगमन २०,००० भिक्षुहरु सहित पाल्नु भएको जस्तै धम्मयात्राको अनुभव पनि गर्ने आयोजकको दाबी छ।

मुख्य कार्यक्रमहरुको विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय मिडीया मार्फत् प्रशारण हुने भएकोले बुद्ध जन्मभूमि नेपालको प्रचार प्रसार विस्तृत रुपमा हुने भएको छ ।

यस कार्यक्रममा सहभागी हुन ईच्छुक महानुभावहरुले आउँदो फागुन १४ गतेभित्र सामाजिक प्रव्रज्या नेपालको सम्पर्क कार्यालय अक्षेश्वर महाविहार तथा लुम्बिनी हलमा सम्पर्क राख्न आयोजकले आग्रह गरेको छ ।

अल्पकालीन प्रवज्याका क्रममा फागुन १६ गते ललितपुरको नागबहालमा कपाल खौरने (केशच्छेदन) गरीसकेपछि लुम्बिनी प्रस्थान गरिने छ ।

फागुन २० गते  बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा प्रवज्या समारोह हुनेछ भने फागुन २२ गते लुम्बिनी परिसरमा भिक्षाटन, फागुन २४ गते बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा रहेको  नेपालको राष्ट्रिय झण्डामुन्नि दीप प्रज्ज्वलन गरिने, चैत्र २ गते बिहान देवदह, बुटवल र रामग्राममा धम्मयात्रा र दिउँसो लुम्बिनी गेट, भैरहवामा धम्मयात्रा गरीसकेपछि चैत्र ३ गते प्रमाणपत्र वितरण गरिने भने चैत्र ४ र ५ गते गृहनगरमा भिक्षाटन गराई सकेपछि अल्पकालीन श्रामणेर प्रवज्या सम्पन्न हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध