स्वस्थानी व्रतको नियम

पौष शुक्ल पूर्णिमाबाट स्वस्थानीको व्रत सुरु भएको छ । व्रत भन्नासाथ एक छाक मात्र सात्विक भोजन गरेर गरिने ईश्वरको उपासनालाई लिने गरिन्छ । बैज्ञानिकहरुले हामीले एक छाक मात्र खाँदा हाम्रो शरीरलाई राम्रो हुने र स्वास्थ्य राम्रो हुने बताएको छ ।
कुनै पनि व्रत बस्नु र त्यसको निमयमा बस्न सुरु सुरुमा गा¥हो हुने गर्दछ । तर यसको पालना गर्दै जाँदा हामीलाई सजिलो हँुँदै आउँछ । स्वस्थानी व्रतको पनि आफ्नै विधान र नियम रहेको छ । स्वस्थानी व्रतका सम्बन्धमा प्रकाशित नियमहरुका सम्बन्धमा यहाँ केही विश्लेषण गर्ने जमर्को गरिरहेको छु ।
पहिलो नियमका रुपमा यो व्रतको संयोजक हुनेले यःमरी पूर्णिमाको दिन साँखुको ब्रम्हपुरमा गएर राजोपाध्याय पूजारी, नगरपालिकाका प्रमुख र स्थानीय वडा अध्यक्षका साथै अन्य भद्रभलाद्मीहरुको रोहवरमा श्रीमाधवनारायणको शुवर्ण प्रतिमामा श्रीमान्श्रीमती दुबैले किसलिं (माटोको पालामा चामल, पैसा र सुपारी राखिएको संकल्प सामग्री) चढाउनु पर्दछ । यसैगसै दोश्रोमा श्रीमाधवनारायणको शुवर्ण प्रतिमा समाउनेले पनि सोही दिन किसलिं चढाउनु पर्दछ ।
यो नियमले आफू व्रत बस्ने निश्चय गरेको रुपमा लिइन्छ । नेवार परम्परा अनुरुप कुनै पनि ठूलो कार्य गर्दा किसलिं चढाउने गरिन्छ । किसलिंलाई आफ्नो आत्माको प्रतिकका रुपमा लिने गरिन्छ । आत्मा साक्षी राखेर आफूले गर्न लागेको काम पूरा होस् भनेर किसलिं चढाइने हो ।
यसरी नै सरसफाईलाई पनि स्वस्थानीया व्रतका क्रममा त्यतिकै ध्यान पु¥याइएको पाइन्छ । व्रत बस्नेले पालना गर्नुपर्ने नियमका रुपमा व्रत वस्नेले हातगोडाका नङ्ग काट्नु पर्ने र केटाहरुले दा¥ही, कपाल खौरिनु पर्ने नियम छ  । यसैगरी साँखुको ज्योतिर्लिङ्गेश्वरमा रहेको राजकुलोमा स्नान गरेर ब्रम्हपुरको माधवनारायणलाई भेटी चढाई जलप्रसाद लिएर नाम लेखाउनु पर्ने नियम छ । यसले व्रतालुहरुको अभिलेखीकरणको कार्य गर्दछ ।
माधवनारायणको जलप्रसाद लिई सकेपछि पशुपंक्षी र सर्वसाधारण मानिसहरुबाट अलग्ग बस्नुपर्दछ । महिलाहरु आफ्नै घरमा अलग्ग बस्न सक्छन् भने पुरुषहरु साँखुको शालिनदी किनारमा रहेको धलंपुली पाटीमा बास बस्नु पर्दछ ।
व्रत बस्ने समयमा शरीरमा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएका कारणले यो समयमा अरु मानिस वा जीवजन्तुको संसर्गले संक्रमण हुने सक्ने भएका कारण यस्तो नहोस् भन्नका लागि अलग्ग बस्ने नियम बनाइएको हुनुपर्दछ ।
व्रत बस्दा खानपानका विषयमा पनि निश्चित नियम बनाइएको छ । एक महिनासम्म नून र नुनिलो खानेकुरा खानु हुँदैन । ब्रतालुहरुले दूध, घिउ, चाकु, चिनी, भात, चिउरा, लप्सी, सुन्तला, केरा, रातो मुला, पालुङ्गो, अदुवा, केराउ, उखू, पिडालु, तरुल मात्र खान मिल्छ । अन्य खानेकुरा बर्जित छ । खानामा अन्य केही मिसावट भएमा खाना त्याग गर्नु पर्दछ । खाएर उठीसकेपछि पुनः खान मिल्दैन ।
यसैगरी खानामा कपाल, तील, जौ, मकै, गहुँ, कोदो आदि देखिएमा पनि खान हुँदैन । पकाउनु पूर्व नै केलाएर मात्र खाना पकाउनु पर्ने नियम छ । भोजनको स्वच्छताले स्वास्थ्य राम्रो हुने गर्दछ । यसैले खानामा कुनै पनि किसिमको गरिष्ठ पदार्थ नपरोस् भनेर यो नियम बनाइएको देखिन्छ ।
व्रतका अवधिमा व्रतालुहरु खाली खुट्टा नै बस्नु पर्ने नियम छ । जुत्ता लगाएकाहरुलाई छुन समेत मिल्दैन । सवारीसाधन प्रयोग गर्न बर्जित छ ।
पुरुष ब्रतालुहरुले महिनाभर नै १०८ गेडा भएको तुलसीको माला लगाउने गरिन्छ । देशदर्शनका क्रममा अष्टांङ्गप्रणाम गर्दा तुलसीमालालाई बुढी औंलामा अड्काई नमस्कार गर्नुपर्छ ।
परसरेको महिला ब्रतालु चारदिनसम्म अलग्ग बसेर व्रत बस्नुपर्दछ । दैनिक नुहाएर मात्र शालिनदी पुग्नु पर्ने नियम छ ।
पौष शुक्ल पूर्णिमादेखि ब्रत बस्नु अगाडि नै पर सरेका भए महिलाहरु पहिलो दिनदेखि नै अलग बसेर शुद्ध भई व्रत बस्न सक्छन् । चोखो भएपछि अन्य व्रतालुहरुसँग बस्न सक्छन् ।
पर सरेको समयमा महिलाको शरीरबाट रक्तश्राव भइरहेको हुन्छ । यसका साथै शरीरमा अन्य विकार पनि हुनसक्ने भएका कारण अरुलाई यसबाट असर नपरोस् भनेर नै अलग्ग बस्ने व्यवस्था गरिएको हुनुपर्छ ।
ब्रत सुरु गरिसकेपछि परिवारजनको निधन भए पनि शोकमा बस्न नहुने र व्रत पूरा गर्नुपर्ने नियम रहेको छ  । महिला ब्रतालुहरुले नित्यपूजाको समयमा अनिवार्य रातो टीका लगाउनु पर्दछ । रातो पहिरण र रातो नै पछ्यौरी चाहन्छि । पुरुष व्रतालुहरुले टाउकोमा सेटो फेट्टा र शरीरमा सेतो कपडाको जोडी धोती मात्र लगाउन पाउँदछ ।
पुरुष ब्रतालु सकेसम्म जोडी हुनु पर्दछ । जोडीमा एक जना उठेर अष्टाङ्ग प्रणाम गर्नेलाई माधवनारायणको मूर्तिसहितको सहश्रजलधारा घडा भएको छ्वालीले बनाइएको कलश चाहिन्छ ।
महिला ब्रतालुहरुलाई एउटा पुजाथाली धलंपीचा चाहिन्छ । यदि कुनै महिला व्रतालुको दूधेबालक छ भने बच्चालाई ब्रतालुसँगै राख्न किन्छ । दैनिक पूजामा पनि साथै राख्नु पर्दछ । दूधे बालकको पौष्टिक आहार भनेको नै आमाको दूध हो । आमाको दूधले बालकमा रोग प्रतिरोधात्मक शक्ति विकास गर्दछ । यसैले बच्चालाई आमाबाट टाढा राख्नु हुँदैन भनेर नै यो नियम बनाइएको हुन सक्छ । यही नियमलाई आत्मसात गरेर बच्चालाई पनि आमासँगै राख्ने व्यवस्था गरिएको हुनुपर्दछ ।
व्रत बस्न जति कठिन छ, व्रत बसीसकेपछि आफ्नो मनको इच्छा पूरा भएको पनि व्रत बस्नेहरुले बताउने गरेका छन् । स्वस्थानी व्रत र कथाको सम्बन्धमा एकजना विदेशीले विद्यावारिधि समेत गर्नुभएको छ ।
यो व्रत बस्दा गेडा भएको कुनै पनि फलफूल खान नहुने भनाई रहेको छ । साथै साँखुको माधवनारायण दर्शन गर्न जाँदा पनि ब्रत बसेका आफन्त भएमा उनीहरुलाई हेर्न जाने भनेर भिजाएको सानो केराउ, लप्सी, पालुङ्गो वा केही पनि सामग्री लैजाँदा सबैलाई बराबर पुग्ने गरेर लानु पर्ने र बराबर बाँड्नु पर्ने यिमन छ । यसैले यो व्रतले समानताको सन्देश पनि दिइरहेको छ । यो व्रत बस्नेले कुनै पनि आफन्तले हेर्न आएको खण्डमा उनीहरुको नाममा पनि व्रत बस्नेले पुजाआजा गरी दिनु पर्ने नियम छ । यसले यो व्रत बस्नेहरुका आफन्तलाई पनि व्रतको पुण्य प्राप्त हुने विश्वास रहेको छ ।
यो व्रतका क्रममा जुत्ता चप्पल लगाउन नहुने नियम आजको युगमा अलिक पुरानो भएको हो कि जस्तो देखिन्छ । पहिले मानिसहरुको जुत्ता लगाउने चलन थिएन । तसर्थ जुत्ता लगाउनु र नलगाउनुमा कुनै फरक रहेन । तर अहिलेको समयमा जुत्ता सर्वसुलभ छ । यसले खुट्टाको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसमा विचार गर्नु आवश्यक देखिन्छ  ।
व्रतका नियम अपरिवर्तनीय हुन्छन् तर त्यसमा आवश्यक संशोधन गर्नै नहुने भन्ने हुन सक्दैन । यसर्थ समय अनुरुप व्रतका नियममा पुनर्विचार गर्नु आवश्यक छ ।
हाम्रो संस्कृति सम्पदाको रक्षाका लागि हामी सबै एकजूट भएर लाग्नु आजको अपरिहार्यता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध