मधुमेहसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
नेपाल डाइटिसियन संघको आयोजनामा गत शनिवार मधुमेह सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।
नोभेम्वर १४ का दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउने गरिएको र नोभेम्बर महिनालाई मधुमेह महिनाको रुपमा मनाइँदै आएकोमा संघले नोभेम्बरको अन्तिम दिन जावलाखेलस्थित ललितपुर मनपा ४ वडा भवन अगाडि जनचेतनामूलक कार्यक्रम संचालन गरेको थियो ।
कुमारीपाटीको क्याफोदाट कलेजसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा एक सय ५० जनाको बीएमआई, ब्लड सुगर, ब्लडप्रेसर र कमर र हीपको नाप लिने कार्य गरिएको थियो ।
संघको आयोजनामा भएको कार्यक्रममा खानालाई मात्र प्राथमिकता नदिइ मधुमेहका विभिन्न पक्षहरुका बारेमा जानकारी गराइएको थियो ।
सो अवसरमा अमेरिकन डाइटिसियन एशोसिएनको मापदण्ड अनुरुप मधुमेहमैत्री खानेकुराहरुको प्रदर्शन र खाने तरिका, इन्सुलिन लिइरहेकाहरुको इन्सुलिन लिने तरिका र खानपानमा सन्तुलनको विषयमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा व्यायामको महत्वका बारेमा पनि जानकारी गराइएको थियो भने साइकोलोजिष्ट अञ्जु महर्जनले सहभागीहरुलाई मनोसामाजिक व्यवस्थापनको बारेमा बताउनु भएको थियो ।
यसैगरी ग्राण्डी इन्टरनेशनलका डाइटिसियन इश्वरी लोहनीले खुट्टाको हेरचाह सम्बन्धी जानकारी दिनुभएको थियो ।
कार्यक्रममा शरीरको ग्लुकोजको अवस्था निरन्तर जानकारी दिने मेसिनको प्रदर्शन गरिएको संघका अध्यक्ष नानीशोभा शाक्यले बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष शाक्यका साथै उपाध्यक्ष रश्मी बजिमय, सदस्यहरु कविता महर्जन, सूर्जलक्ष्मी महर्जन, रुजा अमात्य, सोनिया शाक्य, आजीवन सदस्यहरु मीरा शाह, उषा शाह, निशा झा, सविता गौतम, मिलन ढकाल, मदन पाण्डे, क्याफोडाट कलेजका प्राध्यापक डा. कल्पना तिवारी र कलेजको न्यूट्रिशन विषय अध्ययन गरीरहेका तेश्रो सेमेष्टरका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।








