विश्व कीर्तिमानी सजन डंगोललाई सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन

फुटबलमा विश्व कीर्तिमान राख्नुभएका टोखाका सजन डंगोललाई टोखा केब मिनि फन पार्कको आयोजनामा सम्मान गर्नुका साथै विश्व कीर्तिमान राख्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएका महानुभावहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।

टोखा केबका अध्यक्ष सुशान्त डंगोलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखाका मूनायः हेमराज श्रेष्ठ उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुँदै टोखा केबका संचालक एवम् कीर्तिमानी डंगोलका पिता मणिराज डंगोलले स्वागत गर्नुहुँदै टोखाका मूनायःले टोखाको संस्कृति र परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

कीर्तिमानी डंगोल फर्किने कार्यक्रम रहेकोले उहाँकै अनुरोधमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बधाई ज्ञापन गर्नुहुँदै टोखाबाट नेपाललाई चिनाउने धेरै व्यक्तित्व रहेको स्मरण गर्नुहुँदै चाकुको नामबाट प्रख्यात टोखाकै चेली खुसि डंगोलको पनि सम्झना गर्नुभयो ।

कार्यक्रममा मन्तब्य राख्नुहुँदै सरस्वती उमाविका प्रधानाध्यापक बाबुलाल भण्डारीले विश्व कीर्तिमानी डंगोलको सफलतामा बधाई दिन र नयाँ पुस्तालाई प्रेरणा दिनका लागि यो कार्यक्रम आयोजना भएको बताउनुभयो । उहाँले डंगोलले आफ्नो ठाउँको, कूलको मात्र होइन देशकै नाम राख्न सफल भएको बताउनुभयो ।

विश्व कीर्तिमान भनेको सानाेतिनाे दौडमा विजयी भएको होइन विश्वका अर्वौं मानिसले गर्न र सोच्न नसकेको काम गर्ने मानिस हो भन्नुहुँदै यस्तै अर्बौं मानिसहरूका बीचमा सजन डंगोलले काम गर्नुभएको बताउनुभयो ।

कार्यक्रमपूर्व विश्व कीर्तिमानी सजन डंगोललाई टोखा चाकुको ब्रान्ड एम्बेसडर समेत घोषणा गरिएको थियोे ।

कार्यक्रममा मिस नेपाल पिस विजेता एवम् मिस नेपालको टप फाइभमा पुग्न सफल टोखाकी लसता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्तब्य राख्नुहुँदै टोखा नपा वडा नं. ३ का सदस्य हरिकृष्ण श्रेष्ठले विश्व कीर्तिमानी सजन डंगोललाई बधाई ज्ञापन गर्नुहुँदै आफूले जुन क्षेत्रमा लगानी गरेको हो त्यसै अनुरुप फल प्राप्ति गर्ने बताउनुभयो ।

टोखा नपाका ईन्जिनियर विजेन्द्र श्रेष्ठले वैदेशिक यात्रा कठीन हुने र त्यहाँ बसेर अध्ययन तथा रोजगारी गर्दै विश्व कीर्तिमान राख्नु सजिलो नभएको बताउनु हुँदै यस्तो अवस्थामा पनि विश्व कीर्तिमान राख्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले टोखाको सांस्कृतिक सम्पदा संरक्षणमा मणिराज डंगोलको योगदानलाई सम्झनुभयो । उहाँले मणिराज डंगोलकै नेतृत्वमा टोखाको नासःद्यः, गणेश मन्दिर लगायतका सम्पदा पुनःनिर्माण सम्पन्न भएको बताउनुभयो ।

टोखा चाकुका अध्यक्ष कृष्ण  बहादुर श्रेष्ठले विश्व कीर्तिमानी सजन डंगोललाई टोखा चाकुको ब्रान्ड एम्बेस्डर बनाउनुको कारण बताउनुहुँदै टोखामा नै उब्जिएको उखूबाट चाकु निर्माण गर्नका लागि टोखा परम्परागत चाकु समाजबाट प्रयास भइरहेको बताउनुभयो ।

उहाँले श्रीखण्डलाई श्रीखण्ड भन्न नसक्नु टोखाबासीको समस्या भएको बताउनुभयो ।

कार्यक्रममा मन्तब्य राख्नुहुँदै कार्यक्रमका सभापति सुशान्त डंगोलले टोखा केबको स्थापना फरक ढंगले पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन गरिएको बताउनु भयो । उहाँले सजन डंगोललाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुनेहरूलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुँदै विश्व कीर्तिमानी सजन डंगोलले निरन्तर मेहेनत गरेको खण्डमा विश्व कीर्तिमान राख्न सफल हुन सकिने बताउनुभयो ।

टोखालाई चिनाउन काम गर्ने हामी नै हौं । आआफ्नो क्षेत्रबाट सबैले मेहनत गर्ने हो भने विश्वमा टोखालाई चिनाउन सकिन्छ ।

बेलायतमा रहँदा पार्कमा ट्रेनिङ गरिरहँदा केही थप गरौं भन्ने अपेक्षामा किकअप अभ्यास गरिरहेको र पार्कमा घुम्ने मानिसहरुको प्रेरणाले विश्व कीर्तिमान राख्न सफल भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध