चार धामको यात्रा महाजात्रा
मेरो धेरै समयदेखि एउटा धोको थियो उत्तराखण्डको ४ धामको यात्रा गर्ने । हुन त मैले झण्डै १० वर्ष अगाडि अमरनाथको यात्रा गरेदेखि नै मनमा चारधाम यात्रा गर्ने इच्छा जागेको हो । २०८१ बैशाख ३० गते ख्वप ट्राभलमार्फत् यो मौका मिल्यो । सो दिन हामी (श्रीमान् र श्रीमती) बिहान ४ः४५ बजे नै चारधामको यात्राका लागि निस्कियौं । चार धाम घुमाउने जिम्मा नेपाल सोर्भस् ट्राभल्सले लिएको थियो । यात्राका क्रममा हामी पहिलो रात दाङ्गको देउखुरीमा र दोश्रो रात नेपालको महेन्द्रनगर पारी भारतको वनबासा भन्ने ठाउँमा रात बितायौं ।

पहिलो पटक महाकाली नदी देख्दा मनमोहित भयो । महाकाली नदीमा पुग्दा नेपालतिर सानो नाली जस्तो पानी प्रवाह भइरहेको थियो भने सारदा नहरको नाममा ब्रिटिस सरकारको बेला बनेको नहरबाट नदीको पानीलाई आधा पानी अर्को नदी जस्तो देख्ने गरी भारतको जग्गामा सिँचाइ गर्न लगेको देखेर मन कुतुक्क खायो ।
तेश्रो दिन बिहान सबेरै हामी हरिद्वारतर्फ लाग्यौं । दिउँसो १ बजेतिर पुग्यौं र खाना खाएर त्यही दिन ऋषीकेश र देहरादुन घुम्न गयौं । ऋषीकेशमा नदीमा बत्ती चढाई पुजा गरी हातमुख धोइ केही फोटोहरु लियौं । त्यो नदीलाई भागीरथी नदी भन्दो रहेछ । नदीलाई बाँध हालेर थुनेकोले ठूलो नदी झन् ठूलो देखिनु स्वभाविक नै भयो । उक्त नदीमा नुहाउन सजिलो होस् भनेर खोलामा बार लगाएको थियो । कतै फलामको सिक्री राखेको थियो । त्यही सिक्री समातेर दर्शनार्थीहरु नुहाउनका लागि पानीमा पस्ने गर्दथ्यो । राती हामी हरिद्वारमा नै बास बस्यौं ।
चौथो दिन हामी बिहान ६ बजे उठेर नदीमा गयौं । कोही वरपरको दृश्य हेर्न तिर लागे । कसैले श्राद्ध गरे । उक्त घाटमा श्राद्ध गर्न बाहुनहरु पनि थिए तर हाम्रो यात्राको गाडीमा एकजना पुरोहित पनि भएकोले नेपालीहरु सबैले वहाँबाटै श्राद्ध गराउनु भयो । उहाँ स्वयम्ले भने भारतीय बाहुनको हातबाट गराउनु भयो ।
यसपछि हामी दिनभर १ जनाको भारु ५०० तिरेर हरिद्वार घुम्यौं । चण्डी, मानसादेवी तथा अन्य नजिकका देवदेवीहरु घुम्यौं । तर सा¥है अस्तव्यस्त थियो हरिद्वारमा । त्यसमाथि गल्ली गल्लीमा ट्याम्पु लाने । यता मन्दिर, उता मन्दिर भन्दै पैसा चढाउने गर्दथ्यो । त्यही बेला हाम्रो यात्रामा संलग्न एक जना यात्रीको ब्यागबाट १२ हजार भारुका साथै नेपाली नागरिकता चोरी भयो । हामी मनकामना केबुलकारमा बसेकोले होकी त्यहाँको केबुलकार पहिलाको काठमाडौंको विक्रम ट्याम्पूमा बसे जस्तो महसूस भयो । जहाँ चारैतिर खुल्ला थियो । भारतमा गर्मीको बिदा रहेछ । जताततै मान्छेको भीडभाड देखिने । जता गयो लाइनमा बस्नुपर्ने । पैसा तिर्यो भने लाइनमा बस्न नपर्ने । गर्मी त्यतिकै थियो । जसले गर्दा ४ घण्टा लाइन बस्दा पनि पालो नआएपछि मानसादेवी धोकाबाट दर्शन गरी फर्कियौं । भारतमा भगवानको मन्दिर र नेपालको भगवानको मन्दिर आकाश जमिनको फरक थियो । एक जना यात्रीले त चण्डी र मानसादेवी बाहेक सब कार्टुन देवता देखाएर हामीलाई ट्याम्पूले ठग्यो पनि भन्यो ।

त्यसैले सबै यात्रुलाई के भन्न चाहन्छु भने हरिद्वारमा घुम्ने भनेको चण्डीदेवीको मन्दिर मानसादेवीको मन्दिर र गंगा नदीको किनारमा अवस्थित हरिद्वार घाट मात्र घुम्नु अन्त नघुम्नु कल्याण हुन्छ । नत्र बेलुकी हरिद्वारमा गरिने आरती छुट्न सक्दछ जहाँ लाखौंको मान्छे ओइरिन्छ जसले गर्दा नजिकबाट आरती हेर्न चुक्न सक्दछ । हरिद्वारमा घेरै भिडभाड हुने भएकोले पैसा मात्र होइन, आफै पनि हराउन सक्दछ । नभन्दै हाम्रो यात्राका एक महिला हरायो । जसले गर्दा केही समय त महिलाका श्रीमानलाई मानसिक तनाव पनि भयो । त्यो रात त्यहिँ हरिद्वारमा नै बितायाैं ।
पाँचौ दिन हामी बिहान ३ बजे उठेर यमुनोत्री तर्फ लाग्यौं । जब उकालो लाग्न थाल्यौं, चिसो महसुस भयो । बाटो एकदम राम्रो थियो । कहिँ कतै जल्तिन खाएन । नेपालमा जताततै खाल्डो धुलो तर भारतमा जताततै बाटो राम्रो साथै पहाडको बाटोमा पहिरोको राम्रो रोकथाम तथा जंगलको संरक्षण र गाडीको दुर्घटना होला भनि बाटोभरि फलामको बार, कहिँ ढुङ्गाको वालले यात्रीलाई सुरक्षा प्रदान गरेको देखियो जसले गर्दा बस खस्ला भन्ने डर नै भएन तर बाटोभरि गाडीको घुइँचो थियो । दुर्भाग्य यात्राको क्रममा यमुनोत्रीको पास चाहिँ लिएको तर तिथीमिति केहि उल्लेख नभएकोले हामीलाई बीच बाटोबाटै फिर्ता पठाइ दियो । त्यस बेला हामीले धेरै अनुनयविनय पनि ग¥यौं । नैतिक दवाव दिन स्वास्थ्य क्याम्पमा गएर ५० वर्षभन्दा माथिको सुगर प्रेसर जाच्नु पर्यो भनेँ । ट्राभल्सले पनि हामीलाई विना खबर लगेर बाटैबाट फिर्ता गर्यो । जुन सरासर गलत थियो तर सोध्दा हामीभन्दा २ दिन अगाडिको गाडीलाई अनुमति दियो भन्ने थाहा पायौं तर हामीलाई दिइएन । त्यो ठाउँमा धेरै मान्छे फसेको देखियो । किनकी २०,००० को सितमा ४०,००० मान्छे भेला भएकोले फेरि दुर्घटना होला भनी हामी गएको दिनदेखि कडा गरेको रहेछ । अन्तमा धेरै गाडीहरु त्यहाँबाट फिर्ता आए । हामीलाई सीताको माइतीबाट आएकोलाई हामी पठाइदिन्छु एकछिन कुर्नु भनेको थियो तर धेरै हुल तथा झैझगडा होला जस्तो भयो । एक जना अर्को बसबाट आएको यात्रीले उनीहरुलाई ल्याउने गाइडको घाटी समातेर लाने कि नलाने ? नलाने भए यहिँ मारिदिन्छु । हामीलाई किन ढाँटेको भनि लछारपछार गरेपछि पुलिसले सहायक डिष्ट्रिक्ट मजिष्ट्रेटलाई बोलायो । उहाँले पनि जिम्मा लिन नसक्ने प्लेन चढ्दा जुन दिन टिकट काटेको छ त्यही दिन मात्र प्लेन चढ्न पाइन्छ, यहाँ पनि त्यस्तै हो जसको मिति मिल्छ, उसलाई मात्र पठाउन भनी आदेश दिनु भयो । त्यसपछि हामी उत्तर काशीमा आएर बास बस्यौं ।
छैठौं दिन हामी उत्तर काशीबाट विहान ४ः३५ बजे गंगोत्री देवीकहाँ लाग्यौं । उत्तरकाशीमा रहेको विश्वमूर्ति बाबाको दर्शन गर्यौंं । त्यसपछि हामी गंगोत्री देवीतर्फ लाग्यौं । उत्तरकाशीदेखि नै बसको टाँटी थियो । हामी बीचबीचमा चिया खाँदै गयांै । कहिँ पनि खाना खान समय मिलेन बसमा बस्दै कहिले चिउरा, कहिले के खाएर यात्रा गर्र्यौं । ४ घण्टामै गंगोत्री पुग्नु पर्नेमा हामी ४ बजे तिरमात्र पुग्यौं । झण्डै १२ घण्टा लाग्यो । गंगोत्री नदीमा स्नान गर्यो । पानी साह«ै चिसो थियो । नदीमा बार बाँधेको फलामको सिक्री समातेर हात मुख धोएँ । नदीमा पुजा गरेँ । बत्ती चढाएर लाइनमा बसेर गंगोत्री देवीको दर्शन गरेँ । एउटा अचम्मको चलन के रहेछ भन्दा दर्शन गरिसकेपछि मन्दिरको पुजारीले यात्रीको शरीरमा धाप मारेर आशिर्वाद दिने रहेछ । ध्याप ध्याप आवाज नै आउने गरी हान्ने गरेको देखेँ । यो मलाई पचेन म यसबाट भाग्न खोजेँ । तर छल्न सकिन एक झापड मेरो जिउमा पनि हानी हाल्यो । अरुलाई हानेको देखेर हाँसि राखेको म आफूलाई पनि हानेपछि हाँसो रोक्न सकिनँ ।

अन्तमा त्यहाँबाट ६ बजे हामी फर्कियौँ । मन्दिर अगाडि नै भात पकाएर खाइ बेलुकी ८ बजे त्यहाँबाट हिँड्यांै । हामी भोलिपल्ट बिहान ७ बजे उत्तरकाशीमा पुगेर होटलमा आराम गरेर बस्यौं । केदारनाथ जानको लागि शक्ति संचय होस् भनी हामीले आराम गर्यौं । युमनोत्री जान नपाएकोले एक दिन बाँकि पनि थियो । त्यस दिन सुतेर बजार घुमेर बितायौं । बजार घुम्दै गर्दा पहाडमा जताततै नेपाली जस्तो लाग्ने भाषा पनि मिल्ने विशेष त पश्चिम नेपालको नेपाली भाषासँग मिल्ने । उनीहरु पनि मज्जाले हाँसेर कुरा गर्ने । मलाई त कतै नेपालमै घुमिरहेको त छैन भन्ने आभास भयो । एकजना उत्तर काशिका मान्छेले आफू पशुपतिनाथ घुमिसकेको पशुपतिनाथको महिमाको बारे शास्त्रमा लेखेको संस्कृति भाषामा हामीलाई सुनायो । साथै पशुपतिनाथ भनेको शिवको टाउको हो तपाईहरु टाउको छोडेर पुच्छर दर्शन गर्न आउनु भयो । बेकारमा तपाईहरुले दुःख गर्नुभयो । तपाईहरु धार्मिक यात्री होइन तपाईहरु त पर्यटक हो भनी हामीलाई जिल्ल पारिदिनु भयो ।
मैले भारत घुम्न गयो भने टाउको छोडेर पुच्छरको दर्शन गर्न आउनु भयो भनी नेपालीलाई गिज्याउँछन् भन्ने सुनेको थिएँ तर यस कुरामा मलाई विश्वास थिएन । तर जब आफूले प्रत्यक्ष अनुभव गरेँ । आफुलाई कस्तो कस्तो खल्लो अनुभव भयो । त्यस दिन हामी उत्तर काशीमा नै रात बितायौँ । राती हामीलाई सुत्ने बेलामा हामी भन्दा पहिला गएका यात्रीहरुको चापले गर्दा बाटो जाम भएर रातभरि बाटोमा परेर नसुतिकन केदारनाथ दर्शन गर्नुपरेको बतायो । केदारनाथमा पानी तथा हिउँ परिरहेकोले मौसम खराब छ भन्ने खबर आउना साथ हामीलाई न्यानो कपडाको व्यवस्था गर्न भनियो । माथि बस्ने हाम्रो कार्यक्रम भए पनि बस्नका लागि टेन्ट नभएकोले चिसोमा बस्न सकिँदैन जुन दिन गयौँ । त्यही दिन हामी सबै फर्किनुपर्छ भन्ने जानकारी दियो ।
त्यसपछि यात्रीहरु सबै आत्तिए । त्यही बेला केदार नाथ जान गा¥हो छ भनी पाटलो ज्याकेट मात्र लिएर आएको पन्जा पनि नल्याएको टोपी पनि ल्याएनौं । एकछिन हामी श्रीमान् श्रीमती बीच ठाकठुक पर्यो । श्रीमतीले मोटो ज्याकेट र टोपी लैजाउँ भनेको त्यही कुरा कोट्याएर भनाभन भयो । अन्तमा जाने बेला बाटोमा थप ज्याकेट पन्जा टोपी किन्ने निर्णय गरेर हाम्रो वैमनस्यतालाई समाधान गर्यौं । हामी आ–आफ्नो कोठातिर लाग्यौं । यात्रा भरि केटाहरु एउटा कोठामा र केटीहरु छुट्टाछुट्टै कोठामा व्यवस्था गरेका थिए । साथै यात्राभरि मासु लसुन अदुवा जाँड रक्सि पुर्णरुपमा बन्देज गरिएको थियो । खाली सादा खाना खाएर यात्रा गर्नुपर्ने नियम थियो । यो एक किसिमले राम्रो पनि हो ।

नवौं दिनको राति २ बजे उठेर केदारनाथको लागि प्रस्थान गर्यो । बाटो पूर्णरुपमा जाम थियो । आँखाले भ्याएसम्म हेरेँ । बाटोभरि गाडीहरुको टाँटी थियो । बिस्तारै हामी गुप्तकाशी पुगें । त्यहिँ हामी एकछिन महादेव मन्दिरको दर्शन गरी हामी केदारनाथ तर्फ लाग्यौं । बाटो जाम थियो । राती ११ः३० बजे प्रयागराजमा पुग्यौं । विहानदेखि भात खाएको थिएन । राती पनि भात खान पाएनौं । पछि होटलमा रोटी खाएर आराम गर्यौं ।
१० औं दिन राती १ बजे नै केदारनाथको लागि लाइन बस्न गएँ । जहाँ ४ बजे मात्र केदारनाथको यात्राको ढोका खुल्ने भएकोले गाडीको लागि लाइन बसेर ५ कि.मि. गाडीमा गएपछि तातोपानी आउने कुण्डबाट उकालो लाग्यौं । कोही कुुण्डमा नुहाउन गए । कोहि दर्शन मात्र गरेर हिडेँ । कुण्डमा भिडभाड थियो । हामी दर्शन मात्र गरेर मन्दाकिनी नदीलाई दायाँ पार्दै उकालो लाग्दै गयौं । मनमा एक किसिमको उत्साहको उमंग थियो । दिन भर भात नखाएको रातभर नसुतेको पनि भुलेँ । उकालो चढ्दै गएँ । बाटोभरि नेपालीहरुको भिडभाड थियो । कोहि डोको बोक्ने । स्थानिय भाषामा बास्केट भन्दो रहेछ । कोहि घोडामा मान्छे राखेर लानेको भिड । कोहि चारजनाले मान्छे बोकाएर लानेको हुल । त्यति मात्र होइन आफै हिँडेर जाने यात्रुहरुको मारामार भिड थियो । बाटो हिड्न नै गा¥हो भयो । यता भारी बोक्ने खच्चरको भीडले कहिले मान्छे बोक्ने घोडाले कुल्चन्छ कि भन्ने डर पनि थियो । हुन पनि भारी बोकेको घोडाले कुल्च्यो भने हड्डी नै भाच्छ भन्ने सुनेको थिएँ । जसले गर्दा बाटोभरि ४ घण्टा जति हामी हिँड्यौं । कोहि अगाडि कोही पछाडी कोही शुरुमा नै घोडा चढेर जानु भयो । कोही हिँडेर जाने भयो । आफूलाई अनुकूल हुने गरी समूह बनाई हिँड्यौं । हामी पनि श्रीमान् श्रीमतीसँगै लठ्ठीले टेकेर हिँड्यौं । जुन लठ्ठी ५० रुपैयाँमा किनेका थियौं ।
तर ४ घण्टा चढेपछि श्रीमतीलाई गा¥हो भयो भन्यो । मैले हिसाव गरेँ । बल्ल ५ कि.मि. मात्र पार गरि सक्यौं, २२ कि.मि.मा भनेपछि माथि झन् ठाडो उकालो छ भन्ने सुनेर हिसाव गरेँ बेलुकी ५ बजे मात्र पुग्ने देखेँ । बरु घोडा चढ्ने अठोट गरेर बीच बाटोमा रु ५५०० मा २ वटा घोडा लिएँ तर दुर्भाग्य १ जनाको पहलमा २ जना घोडा लाने भयो । कहिले मेरो खुट्टा बारमा कहिले अरुको घोडामा ठक्कर खाने कहिले मेरो घोडालाई समातेको बेला श्रीमतीको घोडाले कहिले फलामको बारमा कहिले घोडा चढ्नेसँग ठक्कर खान गएपछि ज्यानको जोखिम भएकाले १० मिनेटपछि नै भारु ५० दिएर हामी त्यो घोडा छोडी हिँडने निर्णय गर्यौं । मनमनै भगवानले हामीलाई हिँडेर नै दर्शन गर्न आउन भनेको होला भनी बुढाबुढी सल्लाह गर्दै बाटोमा हिँड्दै गयौं । हिँड्दा हिँड्दै हाम्रो समूहको एउटा जोडीलाई भेट्यौं । मेरो मनमा शाहस आयो । ल हामी मात्र अन्तिम होइन रहेछ भनी खुशी भएँ ।
बाटो हिड्दै गर्दा उहाँलाई किन ढिला भएको भनी सोध्दा मलाई अक्सिजनको अभाव हुने रोग छ त्यसैले लसुन खाएर विस्तारै हिँडेको भन्यो । मैले यसरी हिँड्यो भने रातपर्छ, हामी घोडा चढेर जाउँ भन्दा होइन घोडा चढेर धर्म गर्नु भने मन छैन, त्यो पाप हो बरु भगवानले जहाँसम्म बोलाउँछ त्यहाँसम्म जाने, नसकेको खण्डमा त्यहिँबाट नमस्कार गरेर फर्कने जानकारी दिनुभयो । यो कुरा सुनेपछि मेरो मनमा ध्याङ्ग्रो ठोक्यो १५ दिन समय लिएर भगवानको दर्शन गर्न आउदैछु अनि यात्राको सबभन्दा कथिन यात्रा केदारनाथ हो । अमरनाथ जाँदा पनि घोडा चढेर नै यात्रा गरेको मैले घोडा चढेको खण्डमा घोडा पाल्ने तथा घोडाको जिम्मा लिनेको परिवार भएपनि त पाल्ने भयो । त्यो पनि त धर्म हो । श्रीमान् श्रीमती नै घोडा चढ्ने भन्ने कुरा भयो । ठ्याक्क त्यही बेला एकजना नेपाली आएर लौ सर हाम्रो घोडा छ, चढी दिनुपर्यो हामी नेपाली काम नपाएर नेपालदेखी यहाँसम्म आएको छु । नेपालीलाई नेपालीले सहयोग गर्नुपर्यो भनी अनुरोध गर्नुभयो । उहाँले तपाई घोडा चढेको खण्डमा मेरा परिवार पाल्न थोरै भएपनि सहयोग हुन्छ म नेपालीहरुलाई ५४०० मा २ वटा घोडा दिन्छु २ जना मान्छे पनि लगाइ दिन्छु राम्रोसँग तपाईलाई पु¥याइ दिन्छु भनि अनुरोध गर्नुभयो । मेरो मनको कुरासित थ्याकै मिलेपछि घोडा चढ्ने निर्णय गरेँ । २ वटा घोडा लिएर केदारनाथ तिर लागेँ । घोडा चढेको त झण्दै घोडाबाट लडेँ । सम्हालेर बसेँ । केही भएन फेरी केदारनाथतिर लम्कँे । बीचबाटोमा घोडालाई आराम दिइ, हामी पनि चिया खाई केटाहरुलाई पनि चिया ख्वाएँ । घोडालाई केही दानाहरु दिएर त्यहाँबाट केदारनाथ पुग्दा खेरि १२ बज्यो घोडामा बसि विभिन्न पोजमा फोटोहरु लिएपछि घोडाबाट झरेँ ।
श्रीमतीले हामी हराएको खण्डमा घोडाबाट ओर्लेको ठाउँमा कुरेर बस्ने र यदि हराएको खण्डमा लठ्ठीमा आफ्नो टोपी राखेर लठ्ठी उठाएर घुमेर खोज्ने निर्णय गरी केदारनाथको दर्शन गर्न लाइनमा बसियो । लाइनमा बसेको केहि छिनपछि हाम्रा मान्छे कोही अगाडि कोहि पछाडि भएकोले अगाडिको मान्छे लाइनमा बसेको छ कि भनी हेरेँ । कोही भेटेन । अन्तमा हाम्रो टुर गाइडलाई मैले खूब खोजेँ किनकि उहाँले केदारनाथको पुजारी प्रत्येक साल काठमाडौमा आउने गर्दथ्यो र सोहि बेला अफिसमा छिरेर जानु हुन्थ्यो त्यहि पण्डितलाई भनेर दर्शनको व्यवस्था मिलाउँछु भन्नुभएकोले खोजेँ तर भेटेन । त्यही बेला केही फोटो खिचेपछि श्रीमतीलाई खोज्दा लाइनमा देखिनँ । हाम्रो कुरा अनुसार लठ्ठीमा टोपी राखेर खोज्दै गएँ । हाम्रो यात्राको एक यात्रीलाई भेटेँ तर उहाँले तपाईको श्रीमती पहिला बसेको लाइनमा गएछ तपाइँले त्यहाँ नै भेट्नु हुन्छ भन्नासाथ श्रीमतीलाई खोज्न गएँ ।
एकएक मान्छे गन्दै श्रीमतीलाई खोजेँ । लाइन सक्यो श्रीमती भेटिनँ । घोडाबाट ओर्लेको ठाउँसम्म पुग्न २ किमी जानुपर्ने । त्यहासम्म ओहरदोहर गर्दा पनि भेटिएन । पछि पहिला भेटेको आफ्नै समूहको साथीलाई भेट्न जाँदा त्यहिँ लाइनमा बसेको भेटे । त्यहिँ टोपी र लठ्ठी देखेर साथीले बोलाए पछि यसरी भेट्न सजिलो भयो । प्रयागराजबाट दिउँसो १२ बजे बद्रिनाथको लागि प्रस्थान गर्यौं । बेलुकी साँझपख बाटोमा पर्ने एउटा सितला भन्ने होटलमा बास बस्यौं । रातीको खाना खाएर सुत्यौं ।
बिहान ६ बजे बद्रिनाथको लागि प्रस्थान गर्र्याैं । बाटोमा ठाउँठाउँमा जाम थियो । कागजात चेक गर्ने ठाउँमा हामी जाममा पर्यौं । सोहि बेला हाम्रो यात्राका एक यात्री पिसाब फेर्छु भनी बसको पछाडि गएको मान्छे कसैलाई केही नभनीकन बिहानको मर्निङ्ग वाक जस्तै गरेर बसको अगाडि हिँडेछ । हामीले देखेनौं । खलासी र टुर गाइडले मात्र देखेको रहेछ । अलि परसम्म बस जाँदा पनि त्यो यात्री भेटिएन । अनि मैले बस रोक्न लगाएँ । कोही अगाडि खोज्न गए । म र टुर गाइड पहिला रोकेको ठाउँमा गएर हेर्न गएँ । त्यहाँ भेटेनौं, हामी फर्कियौं । अगाडि गएको मान्छेले भेटाएछन् र फर्काएर ल्याए । त्यसैले यात्रा गर्दा कहिले पनि एक्लै जान पनि हुँदैन एक्लै छोडेर आउनु पनि हुँदैन, जसले गर्दा समय बर्वाद हुन्छ । सहयात्री तथा परिवारलाई पनि मानसिक दबाब झेल्नु पर्ने हुन्छ । अन्ततः १२ बजेतिर हामी बद्रीनाथ पुग्यौं । लाइन हेरेँ झण्डै ४ किलोमिटरको लाइन रहेछ । त्यहाँ नेपाली आश्रम भनी खोलेर बसेको पण्डित रहेछ । त्यस्तै लाइनमा बसेर आएका व्यक्तिलाई सोध्दा ९ घण्टा लाइन बसेर दर्शन गरे भन्नुभयो । हामी त्यहि दिन फर्किनु पर्ने भयो । छलफल चल्यो कोही सो दिन बद्रिनाथमा नै बस्ने, दर्शन गरेर मात्र जाने भन्न थाले भने कसैले समयले नमिल्ने भएकोले प्रसाद तथा देउटालाई चढाउनु पर्ने पुजा सामाग्री पण्डितमार्फत् पठाइ दियौं । उनले भारु ५० लिइ जल पनि ल्याइदियो । पण्डितले भारु ५०० दिने भए साँझ ५ बजे पछि दर्शन गराइदिन्छु भन्यो तर हामी बाहिरबाट दर्शन गरि केहि फोटोहरु लिइ नदीमा जल चढाइ पुजा गरी बत्ति चढाइ मन सन्तोष गरी भगवानलाई परैबाट दर्शन गरी फर्कियौं । बद्रिनाथमा नै भात खाएर हामी ४ बजे त्यहाँबाट हिँडेर भारतको खतिमा भन्ने ठाउँमा बस्यौं । त्यहाँबाट नेपालको महेन्द्रनगरतर्फ लाग्यौं । यो यात्राको अनुभवले जब महेन्द्रनगर जाने दौरानमा फेरी महाकाली नदीलाई नमस्कार गरी नदी तरे । मन साह«ै भारी भयो । साझा नदी भनेपनि पानी जति भारतमा देखेँ । नदी नेपालको पानी भारतमा देखेँ । नेपालमा सानो कुलोको रुपमा महाकालीको पानीले हात मुख खुट्टा धोइ नेपालको महेन्द्रनगर तर्फ लाग्यौं र होटलमा बास बस्यौं ।
१४ औ दिन राती ३ बजे महेन्द्र नगरबाट काठमाण्डौतर्फ लागे बाटोमा पर्ने देवघाट नदीमा कोहि श्राद्ध गरे कोही नदीमा पुजापाठ गरि काठमाण्डौ तिर लाग्यौं ।
यात्राको दौरानमा गाडी चालक विशाल तामाङ्ग भाइको गाडी हाक्ने शैली साह«ै राम्रो लाग्यो । उहाँ मात्र २२ वर्षको हुनुहुन्थ्यो । खाना पकाउने भाई शुशिल भाइले पनि मिठो खाना पकाएर ख्वाउनु हुन्थ्यो । ट्राभलका तर्फबाट हरेक कुरामा सुधार गर्नुपर्ने देखियो । बसको व्यवस्था सा¥है दयनिय थियो । सितमा बस्न नै गा¥हो । टुर गाइडलाई पनि कसरी यात्रीको नेतृत्व तथा व्यवस्था गर्ने भन्ने बारे तालिम दिनुपर्ने देखियो । हामीलाई लाने टुर गाइड ३१ पल्ट चारधाम गइसकेको भन्ने तर व्यवस्थापनमा सारै कमजोर देखियो । चारधाम भनी लाने तीन धाम घुमाएर ल्याउने बिना मितिको पत्र लिइ यात्रा गर्न खोज्ने, जसरी पनि कसरी पैसा बचाउने भन्ने तर्फमात्र लागेको देखियो । यात्राको दौरानमा पैसा हराउन सक्ने भएकोले पैसा एक ठाउँमा राख्न नहुने तथा राखे पनि भित्री गोजीमा मात्र राख्नु पर्ने देखियो । प्रत्येक ग्रुपमा भारतको सिम कार्ड बिना घुम्ने कोशिश नगरे पनि हुन्छ । बद्रिनाथमा श्राद्ध गर्नेको घुइँचो नै थियो । हाम्रो यात्री समुहमा एकजना पुरेत थिए । भारतमा बाहुनबाट श्राद्ध गराएछ । त्यो भारतको बाहुनले श्राद्ध गर्ने बेला पाठ पनि राम्रो नपढेकोले आफैले पाठ पढ्नु परेकोले त्यो भारतीयलाई पिण्डको पैसा पनि नदिएको भनी उहाँले हामीलाई सुनाउनु भयो । एक किसिमले श्राद्ध गर्ने बाहुनलाई पैसा दिनुपर्ने हो तर श्राद्ध गराउने बाहुनले श्राद्धको पाठ राम्रो पढेन किन उनलाई पैसा दिने भन्ने भनाइ पनि ठीक जस्तो लाग्यो । जे होस हाम्रो धर्म संस्कृतिलाई मागि खाने भाँडो बनाउनु भएन । दान गर्नु पनि जजमानको कर्तव्य हो भन्ने चाहि जजमानले भुल्नु हुँदैन ।
अर्को घटना केदार यात्रामा एउटा जोडीको श्रीमती हरायो । घोडा खोज्दै थियो । हूलमूलले गर्दा श्रीमती छुटेछ । श्रीमतीको नाम लिई तलमाथि गरेर खोज्न गए । झण्डै आधा घण्टा पछि बल्ल हराएको श्रीमती भेटियो । यो घटना केदारनाथ यात्राको बेला ६ किमि हिँडेपछि भएको हो । हुन पनि स्वभाविक थियो । हामी गएको बेला भारतमा गर्मी विदा दिएको रहेछ । हूलका हुल भारतीयहरु आएपछि बाटो भरि मान्छे, खच्चर, घोडाबीच थेलमथेल, त्यसमाथि बाटो चिप्लो, त्यसले गर्दा यात्रीले यात्रामा सा¥है दुःख पायो ।
श्रीमतीलाई भेट्न नसकेको कारण थाहा पाएँ – वहाँ टिकट लिन जाँदा लाइन छुटेछ । यही बेला म पनि वहाँलाई खोज्न हिँडे ।
केदारनाथ यात्रामा कोही केदारनाथ गयो कोही केदारनाथ जान सकेन । बीच बाटोमा नै छोडेर आए । केदारनाथ यात्राका दौरान कसैको सँगै सुतेको स्वास्नी पनि हराएछ । कोही हूलले गर्दा ५ जनाको समूहमा गएकाहरु १ जना भरियासँगै गएको बाँकि ४ जनासँगै हिँडेको तर भरियासँग हिँडेको मान्छे छुटेछ डेढ घण्टापछि भेटघाट भयो । जसले गर्दा केदारनाथ दर्शन गर्न सकेन ।
अर्को घटना हाम्रो यात्रा समूहमा श्रीमान् र श्रीमती आएका थिए । बीच बाटोबाट नसकेर फर्केर होटलमा सुत्न गएछन् । हुन त मैले घोडा चढेर जाउँ भनेको तर घोडालाई दुःख दिएर धर्म गर्नु छैन, जहाँसम्म भगवानले तान्छ त्यहाँसम्म जाने, नसके त्यहिँबाट भगवानलाई नमस्कार गरेर फर्कने भन्नुभयो । भने जस्तै फर्किनु भयो । आएर कोठामा श्रीमतीसँग एउटा कोठामा सुतेका रहेछन् तर राती बिउँझदा सँगै सुतेको श्रीमती नै हराएछ । उनले राती २ घण्टा खोजे । बिचरा हारगुहार गर्दा पनि केही लागेन । अन्तमा होटल मालिकलाई अनुरोध गर्दा पनि नभने पछि सँगै सुतेको स्वास्नी हरायो भनी पुलिस रिपोर्ट गर्छु भनेपछि अन्तमा टूर गाइडलाई फोन गरेर बोलाइ दियो । पछि थाहा भयो हाम्रो यात्राको दौरानमा केटाहरु एउटा कोठामा केटीहरु अर्को छुट्टै कोठामा सुत्दथे । तर त्यो दिन श्रीमान्श्रीमतीसँगै सुतेछ । राती केदारनाथबाट मान्छेहरु फर्कँदैछ भनेपछि स्वास्नीलाई उठाएर केटीहरु सुत्ने कोठामा पठाउनु भएको रहेछ । फेरी श्रीमान्को बानी सुतेको बेला कसैले उठाउन आयो भने उठाउन आउने व्यक्तिलाई हान्ने रहेछ । त्यो कुरा स्वयम् म र वहाँसँगै २ रात २ जना मात्र सुत्दा मलाई भन्नुभएको थियो । सायद त्यसैले श्रीमती अन्त कोठमा जाँदा श्रीमान्लाई नउठाइकन गइछिन् । बिचरा श्रीमान् २ घण्टा रुनु न हास्नु भइ मानसिक तनाबले रन्थनिन पुग्यो । त्यसैले एउटा टूर गाइडको सानो भूलले यात्रीले अनायास मानसिक तनाव झेल्नु प¥यो । टूर गाइड त्यही होटलमा बसी राम्रो जानकारी आदानप्रदान गरी काम गरेको भए राम्रो हुन्थ्यो । त्यो भएन । केदारनाथ जाँदा पनि जति पूर्णरुपमा जानकारी दिनु पर्ने हो त्यो जानकारी नपाएर यात्रीहरुले निकै दुःख पाए ।








