विद्यालयमा ब्याग वितरण

श्री चक्रमान स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय आधारभूत विद्यालयमा व्याग वितरण गरिएको छ ।
समाजसेवी चक्रमान डंगोलको नवौं पुण्यतिथिको अवसरमा उक्त विद्यालयमा अध्ययनरत १३५ जना विद्यार्थीहरुलाई ब्याग हस्तान्तरण गरिएको हो ।


काठमाडौं मनपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले चक्रमान डंगोलको कार्यबाट प्रेरित भएर नै आफू पनि राजनीतिक क्षेत्रमा अग्रसर भएको बताउनुहुँदै समाजसेवी डंगोलको सम्झनामा स्थापित प्रतिष्ठानले निरन्तर कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरु संचालन गर्नका लागि वडाबाट समेत सहयोग गर्ने बताउनु भयो ।
राष्ट्रिय आधारभूत विद्यालयको प्रगतिप्रति असन्तोष जनाउँदै वडा अध्यक्ष महर्जनले विद्यालयको स्तर उन्नतिका लागि आवश्यक योजना तयार गर्नका लागि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई अनुरोध गर्नुभयो । एक समय मर्जरमा लाने प्रस्ताव भएको विद्यालय स्थानीय बालबालिकाका लागि आवश्यक भएको कारणले आफूहरुकै पहलमा मर्ज गर्न नदिएको बताउनु हुँदै वडा अध्यक्ष महर्जनले विद्यालयको गुणस्तर वृद्धिका लागि समेत आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताउनु भयो ।
विद्यालय प्रांगणमा नै रहेको इचंगु नारायणको मन्दिर जीर्ण अवस्थामा रहेको र सो मन्दिर पुनःनिर्माण गर्नका लागि आफू निर्वाचित हुनु पहिले नै घोषणा गरेपनि विविध कारणले काम रोकिरहेकोमा यसवर्ष कामपाबाट सो मन्दिर पुनःनिर्माणका लागि डीपीआर तयार गर्ने कार्य हुने बताउनु भयो ।

प्रतिष्ठानका अध्यक्ष न्हुछे महर्जनको सभापतित्वमा भएको कार्यक्रममा कामनपा १२ वडाका सदस्य पुष्परत्न प्रजापति, नानिहेरा डंगोल, स्थानीय समाजसेवी अमिरमान डंगोल, विद्यालयकी प्रधानाध्यापक नमिता राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलकृष्ण श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठानका सचिव चमितमान डंगोलले संचालन गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध