दोलखालाई जीवन्त राख्न एकताको आवश्यकता

प्राचीन ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पृष्ठभूमिले भरिएको एक धरातल हो दोलखा । जहाँ हिन्दू र बौद्ध धर्मको बाहुल्यता रहेको छ । साथै पछिल्लो दशकमा आएर अन्य धर्मको पनि आ–आफ्नै स्थायीत्व रहेको छ । किरातकालीन सभ्यतादेखि रहेको पाटी, पौवा, धारा, गुफा, ओढार, कुवा र पँधेरोले प्राचीनताको व्याख्या गरिरहेको छ । जसको प्रमाणीकरण दोलखाको भीमसेन मन्दिर र त्यहाँ रहेका अनगिन्ती देव देवालय, बहाल, (बाहार), बहिल (बहिर), बिहार, चैत्य, स्तुपा, मञ्जुश्री प्रतीक चैत्य (सेङ्चा) र पहिले तिलिन्चो भनी नाम कहलाइएको मञ्जुश्री (मञ्जेश्वरी) सरस्वती मन्दिर परिसर जुन ठाउँलाई ‘मन्नेश्वरी’ पनि भन्ने गर्दछन् ।
दोलखाको हालको सीमाङ्कनको हिसाबले भीमेश्वर नगरपालिकाको ९ वटा वडाहरुमा विभाजन भएको छ । जुन साबिकको आ–आफ्नै स्थलगत नामबाट पहिचान खुलेको थियो । त्यस स्थलगत नामको पहिचानलाई भीमेश्वर नगरपालिकाको वडा नम्बरको संख्याले पतकर र स्याउलाले छोपिएको सामुदायिक वन सरह बनाइ दियो । अर्थात् दोलखाको त्यो शताब्दीमा प्रचलित रहेको ‘च्वाफे ग्वँस’ (खरेटो जुँगे), ‘तुफी ग्वँस’ (कुचो जुँगे), ‘हाइहाइ राजा’ र ‘सुइसुइ राजा’ जस्ता महान शक्तिशाली कमाण्ड गर्ने राजाहरूले राज्य चलाएको एक स्वाभिमान र समृद्धशाली राज्य रहेको प्रमाणित हुन्छ ।
लिच्छवी कालीन सभ्यतामा उपत्यकामा नरेन्द्रदेव राजाले राज्य शासन चलाएको वखतमा दोलखामा को राजा थिए भन्ने इतिहासमा स्पष्ट उल्लेख गरिएको तथ्य फेला नपरे पनि त्यसबेला पनि दोलखामा कुनै शक्तिशाली राजा रहेको थियो भन्दा यही कालको सेरोफेरोमा कीर्तिसिंह राजाको नाम अगाडि आउँछ । त्यसपछिका इतिहासमा अनेकन राजाको नाम आए जसमध्ये उद्धवदेव, नन्ददेवदेखि लिएर नेपालको इतिहासमा पहिलो चाँदीका सिक्का चलनचल्तीमा ल्याउने राजा इन्द्रसिंह देवसम्म आएर वासुदेव अनि रुपनारायण देवको पालासम्म दोलखा एउटा विशाल आधिपत्य राज्यको रूपमा स्थापित राज्य थियो ।
कालान्तरमा दोलखालाई इलाका नं. २ अर्थात् पूर्व २ नं. दोलखा इलाकाको नाममा गाभियो । जतिबेला तिब्बत या भोटतिर व्यापार गर्ने मार्गको इलाका नं. २ को मध्यमार्गी प्रवेशद्वारको रूपमा परिणत भएको थियो । जतिबेला दोलखालाई सीमित संकुचनको घेरामा राखियो जब कि त्यतिबेला अड्डा अदालतको काम कार्वाही सिद्ध गर्न रामेछापको भंगेरीसम्म धाउन बाध्य हुनुपथ्र्यो । निकै लामो समय पश्चात् दोलखामा अदालत, प्रशासन, सेनाको बन्दोबस्ती त भयो तर त्यो दोलालघाट, रामेछाप, सोलुको नाम्चे सिमानासम्म फैलिएको दोलखाको सीमांकन अस्तित्व ९ वडाको गाउँ पञ्चायतमा परिणत भयो ।
देशमा लोकतान्त्रिक पद्धति, जनवादी गणतान्त्रिक प्रक्रियाले गाउँ विकास समितिमा बदलियो । प्रमुख बदलिए, सचिव बदलिए, सिस्टम, गतिविधि र नीति बदलिँदै जाँदा यस परिवेशको स्थिति नै बदली दियो । गुणस्तरीय शिक्षाको नाममा एउटै गा.वि.स.मा ३÷४ वटा माध्यमिक विद्यालयहरू स्थापना हुँदै गए । त्यस माथि नयाँ शिक्षा र नयाँ चेतनाको शंख बजाएर जग्गाधनी तल्सिङ र मोहीको बीचमा हक र अधिकारको तगारो तेस्र्याउन पुगे । नारा आए, ‘जसको जोत उसको पोत’ भनेर । यसले सदियौँदेखि हलीको रूपमा जोत्ने र मेहनतको फल पाउन धौधौ पर्नेको लागि त फलदायी रह्यो । तर त्यो प्रक्रियाले दोलखाको साँस्कृतिक परम्परालाई भने पूर्ण विराम लगाईदियो । जसको कारणले दोलखाको गुठीबाट चल्ने विभिन्न परम्परालाई जोगाउन अनेकन् कठिनाइ झेल्न बाध्य हुनपर्यो ।
यति हुँदा पनि स्थानीय गुठियार स्थानीय निकायले हात बाँधेर बसेनन् । सम्बन्धित निकाय, राज्य प्रशासन र केन्द्रीय तहसम्म आवाज उठाएर भए पनि परम्परालाई यथावत् राख्दै आएका छन् । भलै पहिलेको जस्तै सोही प्रक्रियाले चलाउन नसक्दा हुन् । तर पूर्णविराम हुन भने दिएनन् । यो नै मातृभूमि प्रति र धार्मिक परम्पराप्रतिको आत्मीयपन थियो । जसको श्रेय तत्कालीन स्थानीय निकाय, समाजसेवी, गुठियारलाई नै दिनुपर्दछ ।
पछिल्लो चरणमा जब चर्णावती त्रिवेणीदेखि उत्तर, सिन्धुपाल्चोक मुडे प्रवेशद्वार खरिढुंगाबाट पूर्व, कालिन्चोक गाउँपालिका सुस्पा सिमानाबाट दक्षिण र दोल्ती खोलाबाट पश्चिम भित्रका सबै गाउँपालिकालाई वडामा परिणत गरेर भीमेश्वर नगरपालिकाको कार्यपालिका क्षेत्र भित्र पारेर नगरपालिकाको प्रारुप बनाएपछि भीमेश्वरको परिधि त ठूलो देखियो तर नेवार साम्राज्यको एउटा आधिपत्य राज्य वडामा सीमित भयो ।
एउटा विशाल राज्यको राजधानीको रूपमा इतिहासमा लोकप्रिय रहेको दोलखा शहर वडामा खुम्चिएसँगै यस शहरमा परम्परागत पर्व, जात्रा र गुठी सञ्चालन गर्न मुश्किल बढ्दै जान थाल्यो । जात्रापर्व, विद्यालयमा स्तरीय शिक्षा र ग्रामीण विकासलाई निरन्तर सञ्चालनका लागि जनशक्तिको कमी हुँदै जानुमा पहिलो कारण दोलखामा कुनै उद्योग धन्दा नहुनु, खेतीपातीका लागि किसानी जनशक्तिको कमी हुनु देखिन्छ । दोस्रो कारण भनेको उच्च शिक्षाका लागि सुविधायुक्त शहरतिर आकर्षण हुनु, शैक्षिक स्तरमा योग्य भएपछि शहरमै नोकरी, व्यापार गरेर प्रत्यागमन नगर्नु, शहरमै घर बनाएर जन्मघरतर्फ मन नलगाउनु, बिहेवारी पनि शहरतिरै गरेर बालबच्चालाई उतै शिक्षा दिलाउनु रहेको देखिन्छ ।
तेस्रो कारण भनेको विविध राजनीतिक गतिविधिले स्थानीयपनमा पार्टीगत विभक्त गर्नु र सैद्धान्तिक अपव्याख्या गरी दासप्रथा, नोकरी दलाली जस्तो व्यवहारबाट उम्कन जरुरी भन्दै समुदाय बीच र परम्परामा भाँजो हाल्ने खालको गलत सन्देश दिलाएर फाटो ल्याउनाले पनि स्थानीय विकासको गतिशीलतामा प्रत्यक्ष असर परेको देखिन्छ । जस्तो कि स्थानीय विकासको कुरामा कुनै उपभोक्ता समितिले धाराका पुननिर्माण गर्दा होस् या स्थानीय निकायकै पहलमा बाटो मर्मतको क्रममा ढुंगाको प्रसङ्ग कोट्याएर होस् या आवश्यक पर्दा खोलिने अनावश्यक समयमा बन्द गरिने मन्दिर परिसरकै धाराको सन्दर्भमा होस् हौवा फैलाएर कौवाको पछि कुदाउनेहरूको जमातले विकासको गतिमा अवरोध नपुर्याउलान् भन्न सकिन्न ।
आफ्नो ठाउँको वकिास गर्न, संरक्षण र सम्वद्र्धन गर्न हामी सबैको दायित्व हो भन्ने खुल्ला र स्वच्छ मानसिकता आजमाउनु जरुरी छ  । ‘म बिना कुनै काम सम्भव छैन, त्यसको चाबी नै मसँग छ’ भन्ने ‘अहं’ताको जालो बोकेर कुनामा बसेर स्थलभक्तको दर्शन छाँटेर घाटा कसलाई हुन्छ त ? पूर्खाले इतिहास रचेर त्यत्रो बडेमानको पत्थर स्तम्भ ठड्याए, सिंहको मूर्ति कुँदेर मन्दिरलाई शोभनीय बनाए । त्यसलाई संरक्षण गर्नका लागि पूर्खाकै बिर्ताको इतिहास खोजी हिँड्ने कि भौतिक रूपमा आफू पनि खटेर भावी पुस्ताका लागि इतिहास रच्ने त ? यतातिर अलिकति समय खर्चिंदा भलाइ त हाम्रै समुदायको लागि हुने होइन र ?
हामीले जबसम्म ‘म’ भन्ने भावना छोड्दैनौं, जहिलेसम्म ‘मेरो पर्खाल’, ‘मेरो इँटा’, ‘मेरो बाटो’, ‘मेरो साँध सिमाना’, ‘मेरो कुरा नै मान्नु पर्छ’, ‘मलाई सम्मान’, ‘मेरो अपमान’, ‘मैले गरेको’, ‘मैले ल्याएको’, ‘मेरो पुर्खाको इतिहास…’ आदि इत्यादि शब्द र वाक्य त्यो दिमागबाट बाहिर निकालेर मस्तिष्कमा ‘हामी’ र ‘हाम्रो’ भन्ने सकारात्मक सोच पैदा हुँदैन तबसम्म न आफू सफल होइन्छ न त समुदाय नै । यी यावत् कुराका कारण एक अर्कामा कान भर्ने र गाल थुपार्नेमै समय बर्बाद हुन्छ । जसको कारणले समाजमा एक पछि अर्को हुँदै नकारात्मक प्रभावले डेरा जमाउन थाल्दछ । अनि स्थानीयको विकास हुने कसरी ?
एक जमानामा दोलखामा एउटै मात्र घरेलु उद्योग तथा साना विकास आयोजनाको कारखाना र कार्यालय हुँदा दोलखाको रौनकता कस्तो थियो ? कति उत्साहित थिए स्थानीय श्रमिक तन मनहरू । कालान्तरमा ‘जन’वाद अथ्र्याउँदै गणतन्त्रको हक अधिकारको नारा भट्याउँदै नयाँ सृजनशील कदम अपनाउन खोज्दा ‘विद्रोही’को अपव्याख्या गरेर घाम तापेर तलब पकाउन नपाइने भयो भन्दै कारखाना सञ्चालन गर्न त परै जावस् कार्यालय समेत भूतले गुफा छोडेसरी सदरमुकाम सारेर हैकमवादी प्रशासनको चरित्र देखाउँदा त्यो स्थलको हालत के भएको थियो होला ? कल्पना गरौँ त !
घरेलु दोलखामा नै राख्नुपर्छ भनी स्थानीयहरूले बुलन्द आवाज सहितको माग राख्न जाँदा तत्कालीन जिल्ला प्रशासनले ‘सार्वजनिक मुद्दा’ लगाउने धम्की दिएर आलटाल गरी करोडौँ रकम लगानी गरी आफ्नो नीजि भवन तैयार हुँदा पनि चरिकोटमा भाडामै बसेर राज्यको अर्थदोहन गर्नेहरूलाई खै त अख्तियारले न्याय दिलाएको ? यतिबेला ‘मै हुँ’ भन्ने राजनीतिज्ञहरू कता लुकेका थिए त ? जसले अहिले आएर हाम्रो पूर्खाले आर्जेको धन सम्पत्ति भनेर धमिराले झैं खोक्रो बनाउन अनेकौं चाल चलिरहन्छन् ।
अब त सबैले घरेलु लगायत अन्य कार्यालयको आवश्यकता भएको सबैले महशुस गरिरहेका छन् । एकता नै बलियो आधार भन्ने धेरैले जानिसकेका छन् । नेतृत्व पंक्तिलाई एकताको बलको आवश्यकता छ । यतिबेला ‘तेरो’ र ‘मेरो’ को बयान होइन ‘हामीलाई हाम्रो घरेलु हाम्रै ठाउँमा सञ्चालन गर्नु गराउनु छ ।’ यो नै हाम्रो आजको आवश्यकता हो । हामी एक जुट भए अनेक कलकारखानाका पूर्जाहरू फेरि चल्न थाल्नेछ । सबैको समयको सदुपयोग हुनेछ । त्यसैले प्रण गरौँ ‘एकता नै आजको आवश्यकता हो’ भनेर ।
समय, परिस्थिति, अवस्था र व्यवस्थाले नीति, गतिविधिमा परिमार्जन आए पनि हामीले फराकिलो र खुल्ला हृदय बनाउन जरुरी छ जस्तो लाग्दछ । कुनै योजना आयोजना आउँदा वा ल्याउँदा सबै माझमा पारदर्शी ढंगले समन्वय हुन जरुरी हुन्छ । आफ्नो ठाउँको लागि यदि कसैले कुनै कार्यक्रम या कार्ययोजना ल्याएको छ भने ल्याउनेले पनि समुदायमा जानकारी गराउने गर्दा सबैको प्रियपात्र हुन्छ जस्तो लाग्दछ । यदि कुनै कार्यले समाज, समुदाय र स्थानलाई नै घात हुने खालको छ भने त्यसलाई समझदारीपूर्वक हटाउने प्रक्रिया अपनाउन जरुरी हुन्छ । अनि मात्र हाम्रो ठाउँ स्वर्ग भन्दा स्ुन्दर हुनेछ । अस्तु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध