नेवाः देय् दबूकाे भवन निर्माणका लागि जग्गा किन्न सहयाेग गर्नेहरू सम्मानित
नेवार राष्ट्रिय संगठन नेवाः देय् दबूकाे भवन निर्माणका लागि जग्गा खरीद गर्न सहयाेग गर्नुहुने महानुभावहरूलाइ यही असार ७ गते शुक्रवारका दिन एक कार्यक्रममा सम्मान गरिएकाे छ ।
काठमाडाैं महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयाेग उपलब्ध गराउने भएपछि जग्गा प्राप्तिका लागि देय् दबूले पहल थालेकाे थियाे । चःमति जग्गा एकीकरण आयाेजनासँग ४ आना जग्गा एक कराेड ८० लाखमा खरीद गर्न लागिएकाे देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले बताउनु भयाे ।
उहाँले साे आफू अध्यक्ष हुनु अगाडी नै भवन निर्माणकाे लागि एक कराेडकाे काेष तयार भएकाे भएता पनि आफ्नै भवन नभएका कारण घरभाडामा लिएर कार्यालय संचालन गर्नुपर्ने तथा प्रशासनिक खर्चहरू रहेकाले साे काेषलाइ यथावत राखेर जग्गा खरीदका लागि दाताहरूलाइ आह्वान गर्ने कार्य गरिएकाे र हालसम्म १ कराेड ५० लाख भन्दा बढी रकम संकलन भएकाे बताउनु हुँदै २५ हजार भन्दा माथि सहयाेग गर्नुहुने महानुभावहरूलाइ कार्यक्रममा सम्मान गरिएकाे बताउनु भयाे ।
देय् दबूका महासचिव सत्यनारायण डंगाेलले संचालन गर्नुभएकाे कार्यक्रममा उपाध्यक्ष उमेश स्थापितले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।
सम्मान कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि राखिएकाे थियाे ।








