परिवारको मेरुदण्ड मेरी माँ

मेरो माँ (गीता) को जन्म १९९५ को मंसिर महिनाको सप्तमी तिथिमा लगनको यताबहाल टोलमा आमा बुबाको पहिलो सन्तानको रूपमा भएको थियो । जन्म त लिनु भयो तर विधिले लेखेको भाग्य रेखामा मेरो माँले ७ बर्षको कलिलो उमेरमा आमा गुमाउनु प¥यो । आमा बितेको बर्ष दिन दिन नबित्दै बुबाले दोस्रो विबाह गर्नु भयो । तर दोस्रो विवाह गरेको केही बर्षमै मेरो माँले बुबा पनि गुमाउनु भयो । बुबा बितेको दुःखको घाउ निको नहुँदै दोस्रो आमाले घरमा भएको सम्पत्ती सबै लिएर घर छोडेर जानुभयो ।
यसरी आफु ११ बर्षको हुँदा मेरो माँ अनाथ हुनुभयो । माँको एउटा बहिनी द्वादशी र एक भाई धर्म पनि थियो । ११ बर्षको कलिलो उमेरमा नै आमा, बुबा गुमाउनुको पिडा त छ नै, त्यसमाथि अब घरको ठूलो नै मेरो माँ हुनुभएकोले भाई, बहिनीलाई समेत पाल्नु पर्ने समस्या प¥यो । आफूले जसोतसो गरेर त्यस बेलाको चलन चल्तीमा लगाउने तीन तहको खास्तो, सिरक र लुगा सिलाएर आय आर्जन गरेर भाई बहिनी र आफ्नो जीवनयापन गर्दै आउनु भयो । त्यस्तै परिस्थितिमा जब मेरो माँ १७ बर्ष पुग्नुभयो, २०१२ माघ महिनामा बुबा मोहनकृष्ण डंगोलसँग बिबाह भयो ।
माँको बिवाह भएको घर मेरो बुबापत्ति ठूलो परिवार थियो । मेरो जिजुबुवा सुकुराम, हजुरबुबा देवकृष्ण र बुबा मोहनकृष्ण गरेर तीन पुस्ताको ठूलो परिवारमा माँको एउटा छुट्टै संसार थियो । त्यो संसारमा रमाइलोसँग बिबाहको सम्बन्ध अघि बढ्दै गयो । बुबा मोहन कृष्ण र कान्छाबुबा गोपालकृष्ण दाजुभाईको सँगै बिबाह भएको थियो ।
मेरो माँको विवाह भएको घर, बुबा मोहनकृष्ण डंगोलको घर परिवारमा पूख्र्यौली काम ‘अजी’ को काम गर्नु पनि रहेछ । मेरो जिजुबज्यै हजुर आमा हुँदै मेरो माँसम्म पनि त्यही कुलको कामको रुपमा ‘अजि’ काम गर्दै आउनु भएको थियो । यो ‘अजि’ को काम अहिले समाजबाट लोप हुँदै गएको छ । ७५ बर्ष अघिको समाजमा अहिले जस्तो न्थलबअययिनथ म्यअतयच थिएन । गर्भवती भएको बेलामा जाँच गराउने चलन पनि थिएन । त्यस्तो बेला ‘अजि’ देखाएर बच्चाको अवस्था कस्तो छ र कहिले पाउँछ भनेर जाँच पनि ‘अजि’ले नै गर्नुहुन्थ्यो । त्यति बेला अजि भनेको किताब नपढेको तर प्राक्टीस र अनुभवको आधारमा एक किसिमले डाक्टरको नै काम गर्नु हुन्थ्यो । मलाई माँले सुनाउनु भएको एउटा घटना अहिले पनि सम्झना छ ।
असनमा बस्ने तुलाघर परिवारको एकजना बुहारी गर्भवती थिइन् । उनको बच्चाको अवस्था कस्तो छ भन्ने जान्नको लागि सासु चाहिँले हाम्रो घरमा मेरो हजुरआमालाई ‘अजि’ मेरी बुहारीको बच्चा जन्मिने समय नजिकिए जस्तो छ, कहिले बच्चा पाउने होला ? एक चोटी आएर हेरि दिनु प¥यो’ भनेर बोलाउनु भएको थियो । तर मेरो हजुर आमालाई अलि सन्चो नभएकोले मेरो माँलाई हेर्न पठाउनु भएको थियो र राती नै हुने हो भने अस्पताल पठाउन भन्नु भएको रहेछ । उहाँ त्यहाँ गएर गर्भवतीको परम्परागत विधिबाट जाँच गर्नुभयो र माँले तपाईंको बुहारीले भोलि बिहान बच्चा पाउने छ, तपाईहरू खाना खाएर बिस्तारै अस्पताल जानु भए नि हुन्छ भन्नुभएको थियो । साच्चै भोलिपल्ट बिहानीपख वहाँले बच्चा जन्माउनु भएको रहेछ । पछि न्वारनमा हजुर आमा ‘अजि’ भएर जाँदा वहाँहरुले मेरो माँले जाँच्दा बिहान पाउँछ भनेको कुरा आफूहरुले पत्याउनु भएको थिएन रे, किनकि त्यतिबेला मेरो माँ भर्खर २५–२६ वर्षको उमेरको हुनुहुन्थ्यो । त्यसैले परिवारले आमालाई सानै देखेर के हो कसो हो भनेर पत्याएका थिएनन् ।
बुबा ई. मोहनकृष्ण डंगोल र माँ गीता डंगोलबाट हामी पाँच दाजुभाइ दिदीबहिनीहरुको जन्म भएको थियो । सबैभन्दा ठूलो दिदी मेनुका अनि बिजय, दोस्रो दाजु बंशि, म रेणुका र सबैभन्दा सानो भाई राजेन्द्र । तर अहिले हामी चार सन्तान मात्र छौं । एक जना दाजु बिजयले बिफरका कारणले मृत्युवरण गर्नुभयो र आमाले ठूलो छोरा गुमाउनु प¥यो । त्यस पछि हामी चार जनालाई आमाले च्यापेर हुर्काउनु भयो ।
मैले थाहा पाएदेखि बुबा नगर पालिकामा ईञ्जिनियर भएकोले जहिले पनि बेफुर्सदी हुनुहुन्थ्यो । त्यही कारणले हामी बच्चा बेला बुबासँग भन्दा आमासँग नजिक थियौं । त्यति बेला आमाले खाना पकाउँदा पकाउँदै भान्छामा बसेर नै मलाई कपाल कोरी दिने गर्नुहुन्थ्यो । अनि आमाको बेफुर्सदले गर्दा एक चोटी कोरेको कपाल ले हामीलाई ३ दिनसम्म नबिग्रने गरेर कपाल बाटिदिने गर्नु हुन्थ्यो । सबै सगोल परिवारमा त्यति बेला घरगृहस्थीको काममा बाहिरबाट कसैको मद्दत पाइँदैन थियो ।
म दश कक्षामा पढ्दै गर्दा आमाले अब एसएलसी दिनको लागी तयारी गर्नुपर्छ भनेर ट्यूसन पढाउनको लागी कता, कोसँग ट्यूसन पढ्न पठाउने भनेर सोचेर आमाले आफ्नो फुफुको छोरी ‘सरस्वती’ कहाँ पढाउनु पर्ला भनेर आमा आफै गएर मलाई ट्यूसन पढाउन पठाउनु भयो । अहिले यो सबै कुरा सोच्दा त्यति बेला आमाले आफूले नपढे पनि बच्चाहरुलाई राम्रो शिक्षादिक्षा दिनु पर्छ भनेर के गर्दा राम्रो हुन्छ पछिसम्मको विचार गरेर आफन्तसँग पढाई दिनु भनेर सहयोग माग्न जानु भयो । मेरो ट्यूसन टिचर नाम पनि सरस्वती काम पनि शिक्षा नैदिने प¥यो ।
बुबा नगरपालिकाको ईञ्जिनियर भएकोले धेरै कागजपत्रहरु घरमा हुने, बुबा आफैले सबै मिलाएर राख्न गा¥हो हुने, त्यति बेला आमा आफूले त्यस्तो कागजहरू के भनेर थाहा नभए पनि कागजको रंग, ल्याएको मिति, कस्ले राख्न दिएको सबै याद गरेर मिलाएर, राख्नु हुन्थ्यो र पछि बुबाले खोज्दा दिनु हुन्थ्यो ।
२०७८ कार्तिक ११ गते माँसँगै अमेरीका भ्रमण गर्ने सौभाग्य जुरेको थियो । अहिले सोच्दा माँसँग त्यो भ्रमण अन्तिम हुन गयो । त्यतिबेला माँ ८२ बर्ष पुगिसक्नु भएको थियो तर त्यति उमेरमा पनि माँ आफ्नो सानो छोरा र त्यसको परिवार साथै ठूलो छोरी र त्यसको परिवार भेट्ने रहरले २०–२२ घण्टाको हवाइ उडानमा एकचोटी पनि गा¥हो नमानी बसेर जानु भयो । बरु मलाई हवाई जहाजमा बान्ता भएर आँखा खोल्न गा¥हो भयो । त्यति बेला माँले मलाई नानी नखाई नबस यो पाउरोटी खाउ अनि वाइन एक पेग मलाई पनि अर्डर गर्नु, तिमी पनि खाउ र सुत भनेर भन्नु भएको कुरा मलाई हिजोको कुरा जस्तै लाग्छ । जब हामी अमेरीकाको एटलान्टा पुग्न लागेका थियौं माँले मलाई नानी नानी भनेर उठाएर कति टाइम भयो । हामी एटलान्टा पुग्न लागेको हो भनेर सोध्नु भयो । मैले जहाजको टाइम हेर्दा अबको १ घण्टामा पुग्ने रहेछ भनेँ । माँले ब्यागबाट ब्रस र पेष्ट निकालेर मलाई दियो, र नानी तिम्रो मुख गन्हायो ट्वाइलेट गएर ब्रश गरेर फ्रेश भएर आउ भनेर भन्नु भयो र आफु पनि फ्रेश भएर कपाल कोर्नु भयो र लिपिष्टिक लगाएर आफ्नो ह्याण्डक्यारी मिलाउनु भयो । अमेरीका पुगेर त्यहाँ तिहार पनि मनाएको सम्झना ताजा नै छ । माँसँग एक हप्ताको क्रुज ट्रीप गएको पनि माँसँगको मेरो सुनौलो अनुभब सङ्गाल्ने मौका भयो ।


आमा छोरी त्यसरी अमेरीका पुग्यौं । माँसँग दिन रातसँगै बसेर सँगै सुतेर २८ दिनमा म नेपाल फर्के र माँ त्यहिँ अमेरिकामा भाईकहाँ बस्नु भयो ।
भगवानले दिएको मेरो आमाको सरिर र दिमाग दुबै बलियो थियो जस्तो मलाई लाग्छ । किनकि शरिरले जे गर्नु परे पनि तयार र कुनै समस्या आई परेको खण्डमा समाधान गर्न लाई सुझाब दिन सक्ने क्षमता उहाँमा थियो ।
२०४७ सालमा बुबाले आमालगायत हामी सबैलाई एक महिना लगाएर बद्री, केदार तीर्थ घुमाउन लग्नु भएको थियो । त्यति बेला दिनभर बसमा बसेर जानु पथ्र्याे । राति भयो कि कुनै धर्मशालामा बसिन्थ्यो । हामी सबै जना थकित भएर ओछ्यानमा पल्टन हतार गर्ने तर मेरो माँ सबै भोको छ कि भनेर खाना पकाउन तम्सेर सबै जोरजाम गरेर पकाएर खाना खान दिनुहुन्थ्यो । त्यस्तो मेरो माँको शरीरलाई २०६५ को राती एकास्सी आमालाई ब्रेन स्ट्रोक (Brain stroke) भयो । हामी परिवार सबै जना डराएर डाक्टर देखाउनलाई यताउता दगुर्दै आमालाई देखाउन हस्पिटल, नर्सिङ्ग होम लगेर देखायौं । आमाको आत्मबल बलियो भएकोले गर्दा हामी परिवार सबै मिलेर द्यचबष्ल क्तचयपभ जस्तो रोगलाई जित्न सफल भयो । त्यति बेलाको एउटा कुरा अहिलेसम्म पनि मलाई याद आउछ ।
आमा Brain stroke भएको ले हामी सबै डराएको बेला माँले मलाई “नानी तिमी नडराउ मलाई केही हुँदैन, तिम्रो माँ बलियो छ” भनेर सम्झाउनु भएको थियो ।
९ महिनाको माँको अमेरीका बसाइँबाट फर्केपछि मैले अब फेरि हामी अमेरीका जानु पर्छ है माँ भन्दा अब म अमेरीका जान सक्दिनँ मैले तिम्रो भाईको साथीले अब माँ कहिले आउने अमेरिका भनेर सोध्दा मैले “अब म आउँदिन जहाँ जन्म भएको हो त्यहिँ मेरो मरन हुन्छ, त्यहि भएर अब नेपाल नै बस्ने भनेर आएको हो”, भन्नुभयो । जसरी बोल्नु भयो त्यहि नै भयो २०७९ को माघ, फागुनतिरबाट माँले बिस्तारी बिस्तारी खाना खान छोड्नु भयो । पहिला २–२ घण्टामा जे भएपनि खाना खानु पर्ने पछि खानाको रुचि नै कम हुँदै गयो । वैशाख १४ गते माँहरुको देवाली पूजा थियो, यसपाली म देवालीको कूलदेवता भुरुंखेलमा जान्छु भनेर जानुभयो । त्यसको भोलिपल्ट अलि गाह्रो भयो मलाई मालीस गरि दिनु भनेर गराउनु भयो । त्यहि निहुमा ओछ्यानमा थला पर्नु भयो ।
त्यसको लगत्तै खुट्टाले टेक्नु भएन र बिस्तारै बिस्तारै बोल्न छोडनु भयो । हामीले माँलाई नशाको समस्या भएको होला भनेर स्टार अस्पतालमा नशाको डाक्टर देखायौं । नशाको औषधिले निद्रा लगाउने रहेछ । झन माँ सुतेको सुत्यै भयो । पछि खाना खान छोड्नु भयो र पछि अन्तिममा लाजिम्पाटको मेट्रो अस्पतालमा २०८० सालको असार १० गते माँले भौतिक शरीर त्यानु भयो र माँको स्वर्गबास भयो । यो संसारबाट माँको आत्मा स्वर्गमा बुबा मोहनकृष्णको आत्मामा विलिन हुन गयो ।
आफु विरामी हुँदा पनि आफ्नो बच्चाको अगाडी म ठिक छु भनेर देखाउन सक्ने मेरो माँले आफ्नो इच्छा अनुरुप नै नेपालमा भौतिक देह त्याग गर्नु भयो । मेरो माँलाई कोटी कोटी नमन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध