देश संकटग्रस्त अवस्थामा

यतिखेर देश अत्यन्त संकटग्रस्त अबस्थाबाट गुज्रिरहेको छ । घरघरमा समस्या छ, परिवारमा समस्या छ, देशको राजनीति डामाडोल छ, पार्टीहरु सबैले आफ्नो सिद्धान्त गुमाएको अबस्था छ । कर्मचारीहरु राजनीति र भ्रष्टाचारको कुकर्मले ग्रसित छन् । जनताले सेवा सुविधा केही पाउन सकेका छैनन् । विकासका काम सबै ठप्प छन् । युवाहरु विदेशीको दासदासीका रुपमा बेचिएका छन् । परिवार क्षतविक्षत छ । पहिलेदेखी मिलेर बसेको समाज विभाजित तथा खण्डित छ । सहयोग र सद्भाव हराउँदै गएको छ । आज परिवारका सदस्यहरु तितरवितर छन् । सँगै बसेर दुःखसुखमा साथ दिन पाइरहेका छैनन् ।
समय अनुसार देशमा औद्योगिकिकरण हुनु पर्ने । लाखौं युवाहरुलाई रोजगारी दिलाउनु पर्ने । तर पंचायतको पालामा खुलेका उद्योगहरु सबै बन्द छन् । स्कुल कलेज, सरकारी संस्थाहरु सबै दलहरुको भर्तिकेन्द्र बनेका छन् । नेताहरुका दासहरुले मात्र भरिएका विश्वविद्यालयहरु अहिले विद्यार्थी विहिन भै सकेका छन् ।
देशलाई आवश्यक सकृय जनशक्ति बाहिर भएकोले देशको हरेक व्यवसाय संकटमा छन् । कुनै पनि व्यवसाय राम्ररी चल्न नसकेर कमाई हुन नसकेकोले मानिसहरु बैंकहरुको ऋण तिर्न सकेका छैनन् । सहकारीहरुले जनताका पैसा डुवाएर आफैँ पनि समाप्त भैसके । बैंकहरु लगानी गर्न नपाएर संकटमा परिसके । केही बैंक र वित्तीय संस्थाहरु जनताका सहयोगी हुनुको सट्टा चक्रवर्ती व्याज लिने नयाँ खालका सामन्त तथा शोषक बनेका छन् । शोषणको विरुद्ध जनता सडकमा आउँदा पनि समाधान निकाल्न सकेको अवस्था छैन । जुनै सरकार बनोस् यो समस्याको समाधान हुन सक्ने देखिदैन । देशमा यावत समस्याहरु छन् । कलेजहरु बन्द भइरहेका छन् । विद्यार्थीहरु सबै विदेश तिर लागिरहेका छन् । विश्वविद्यालयहरु नै बन्द हुने हुन् कि भन्ने अवस्थामा छन् ।
सरकारमा रहेकाहरु सत्ता कसरी टिकाई राख्ने भन्नेमा छन् । पार्टीहरुमा जनताको विश्वास छैन । पार्टीहरु नै पनि आफ्नो अस्तित्वलाई कसरी जोगाउने भन्ने अवस्थामा छन् । सत्ता बाहिर रहेमा पार्टीहरु टिक्न सकिन्न भनेर डराएको अवस्था छ । त्यसैले जसरी पनि सत्तामा रहिरहने प्रयासमा छन् । जनतालाई सिद्धान्तका कुरा गरेर जनतालाई पटकपटक झुक्याएर चुनाव जितेर त आए । अहिले सिद्धान्त विहिन गठबन्धन गरेर सत्तामा टिक्ने खेल मात्र रचेका छन् । जनताका समस्या समाधान गर्छौं भने तर कुनै पनि समस्याको समाधान गरेनन् । हरेक सेक्टरका जनता यतिखेर समस्याले प्रताडित बनेका छन् । राज्यले जनताको अविभावकत्व प्रदान गर्नु पर्ने हो तर पार्टी भित्र नै खराव नेताहरु हावि भएकोले पार्टीहरु नै राम्ररी चल्न सकेका छैनन् । प्राय सबै शिर्ष नेताहरु भ्रष्टाचारको चंगुलमा फँसेर बदनाम बनेका छन् । जनताको विश्वास गुमाएका छन् । सुनकाण्ड, जहाज काण्ड, भुटानी शरणार्थी काण्ड आदि काण्डैकाण्डमा नेताहरु फँसेका छन् ।
हाम्रो परम्परागत शिक्षा प्रणालीलाई नयाँ शिक्षाको नाममा २०२८ सालबाटै ध्वस्त पारियो । अहिले न हाम्रो मौलिकताको शिक्षा रह्यो न तथाकथित आधुनिक शिक्षामा नै अगाडि बढ्न सक्यो । शिक्षा प्रणाली नै खराव भएकाले यसको प्रभाव समाजमा परिररहेको छ । शिक्षा देशलाई काम लाग्ने छैन । पढेका युवाहरु बेरोजगार छन् । हाम्रो पुरानो पद्धति पनि रहेन । नयाँ शिक्षा पनि देशको आवश्यता अनुसारको हुन सकेन । यो पढाईले स्वदेशमै काम पाउने अवस्था रहेन । यहाँ बसेर काम गर्ने अवस्था नरहेकोले सबै विदेश पलायन हुने अवस्था रहेको छ ।
शिक्षामा बाआमाले, परिवारले, समाजले र देशले जे जति लगानी ग¥यो सबै खेर गएको छ । न अविभावक, न परिवार न राज्य कसैले लगानीको प्रतिफल पाउन सकेको छैन । जति पढेका भए पनि विदेशीका खेताला भएका छन् । कोही पनि देशमा नै रहेर पुरानो बाउबाजेले गरेको पेशा व्यवसाय गर्न तयार छैन । हाम्रा विद्यार्थीहरुलाई पश्चिमा शिक्षा सिकाइएको कारण उनीहरु बाआमाले अँगालेको पेशा व्यवसाय गर्न तिर नलागी विदेशमा नै जाने भएका छन् । विदेश जानबाट रोक्ने कुनै प्रयास गरिएको छैन । विदेश जाउन भनेर खुकुलो नीति बनाएर युवाहरुलाई विदेश नै पठाउने नीति लागु गरिएको छ । आज एक तिहाई जनसंख्या विदेशमा छ । परिवार खण्डित बनेको छ । व्यक्तिहरु एकलकाटे बनेका छन् । पहिले एक आपसमा मिलेर बस्ने, एकले अर्कोलाई सम्मान आदरसत्कार गर्ने हाम्रो परम्पर तोडिएको छ ।
२०५२ सालको आन्दोलन, ०६२÷६३ पछिको गलत राजनीतिले त झनै समाजलाई संकटग्रस्त बनाएको छ । मिलेर बसेको समाज र परिवार खण्डित बनेको छ । गाउँहरुमा जुन प्रकारले मिलेर बसेको समाज थियो, आपसमा जुन सद्भाव थियो त्यो सबै समाप्त भयो । पेशा व्यवसाय गरेर बसेका गाउँलेहरुलाई गाउँमा बस्न नसक्ने अवस्था बन्यो सबै सहर तर्फ लाग्ने अवस्था सिर्जना गरियो । जस्ले गर्दा गाउँ रित्तियो र सहर पनि संकटग्रस्त बन्यो । सहरमा पनि सहरिया गरिवहरुको संख्या बढ्यो, सुकुम्वासी समस्या चर्को रुपमा देखा प¥यो । खानेपानी समस्या, बेराजगारी समस्या, फोहरमैलाको समस्या, अपराधिक क्रियाकलापको समस्या झनै बढ्दै गयो । न रह्यो बाँस न बन्यो मुरली भने जस्तै भएको छ । गाउँका संरचना सबै समाप्त भए । गाउँमा बस्ने कोही छैन । न सहरहरु नै व्यवस्थित बन्न सके । जताततै तहसनहस छ ।
देशको कृषि प्रणाली सबै ध्वस्त बन्यो । गाउँका सबै जसा जमीनहरु बाँझा रहेका छन् । कृषिमा हामी पहिलेदेखि आत्मनिर्भर थियौं । यसमा पनि अहिले आएर परनिर्भर रह्यौं । आत्मनिर्भर हाम्रा गाउँहरु सबै परनिर्भर बने । अहिले देशको आर्थिक अवस्था नै संकटमा छ । जस्ले गर्दा समाज र परिवार सबै प्रताडित बनेको छ । सबैमा व्यक्तिबादि चिन्तन बढेको छ । सहयोग र सद्भाव हराएको छ । यसले गर्दा जातीय, धार्मिक, क्षेत्रीय द्वन्द्व बढाइरहेको छ । सामाजिक, आर्थिक, राजनीतिक सबै क्षेत्र यतिखेर संकटग्रस्त बनेको छ ।
यो सबै समस्यालाई समाधान गर्न राज्य सक्रिय भएर लाग्नु पर्ने, त्यो हुन सकेको छैन । यी समस्याका समाधानको लागि त सबै दलहरु एक भएर लाग्नु पर्ने, एक हुन सकिरहेका छैनन् । दल भित्रै गुट उपगुट खडा भएका छन् । दल भित्रकै नेताहरुमा फुट छ । देशको पुनर्निर्माणको लागि राष्ट्रिय सहमति जुट्न त धेरै परको कुरा देखिएको छ । दलहरु पनि आफ्नो धरातलमा टेकेर राजनीति गरेको देखिन्न । सबै दलमा बाहिरी शक्तिका एजेन्टहरु प्रबेश भएकाले सही निर्णय गर्न सक्ने कुनै दलहरु देखिन्नन् । आपसी मिलाप गरेर देशका मुद्दाहरुको समाधान गर्ने अवस्था देखिँदैन । देशकोे अवस्थालाई नियाल्दा के देखिन्छ भने जनता परिवर्तन खोजिरहेका छन् । दलहरु प्रिवर्तन दिन सक्ने अवस्थामा छैनन् । यसले गर्दा यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने पनि देखिन्छ । जनताले धेरै समय पर्खिसके तर प्रजातन्त्र पुनस्र्थापना भएको यतिका बर्ष हुँदा पनि विकास र सम्वृद्धि तर्फ मुलुक अगाडि बढ्दैन भने जनताको धैर्यको बाँध टुट्न सक्दछ । नेपाली जनता अत्यन्तै धैर्यवान भएर मात्र हो अव धैर्यताको स्थिति रही रहन सक्ने अवस्था छैन । अब सबै दलहरुले बुझ्ने बेला आएको छ । साना मसिना विवादहरुमा अल्झेर अब बस्नु हुँदैन मिलेर देश बनाउने काममा जुट्नु पर्दछ । आर्थिक सामाजिक सुधारमा सबै दल एक भएर अगाडि बढ्नु बाहेक अर्को विकल्प देखिदैन । यो नयाँ बर्षले हाम्रा नेताहरुको विचारमा परिवर्तन ल्याउन सकोस् । यही शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध