नयाँ गठबन्धन सरकारबाट जनताको अपेक्षा

यतिखेर नेपालमा नेपाली कांग्रेससंँगको सरकार बदलेर प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले, रास्वपा आदिसंँग मिलेर अर्को गठवन्धनको सरकार बनाएका छन् । अनायास त्यो गठबन्धन किन तोडियो र यो किन बनाइयो भन्ने बारेमा मानिसहरुले आआफ्नै खालका तर्कहरु दिइरहेका छन् । तर नयाँ सरकारले देशमा रोजगारी दिन, युवालाई विदेश पलायन हुनबाट रोक्न, भ्रष्टाचार रोक्न, उद्योगधन्दा खोल्न, देशले बेहोरी रहेको आर्थिक संकट हटाउन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको वेथितिलाई रोक्न, सहकारी र वित्तिय संस्थाहरुमा देखिएका समस्याहरुको समाधान गर्न सक्ला भन्ने कुरामा भने धेरैले आशंका गरेका छन् । मन्त्रीहरु केही सिमित व्यक्ति बाहेक अरु भने पुरानै परिचित पात्रहरु नै छन् ।
मन्त्रीहरु नै विभिन्न काण्डहरुमा प्रत्यक्ष वा परोक्ष रुपमा मुछिएका विवादित व्यक्तिहरु छन् । उनीहरुलाई फेरी पनि मन्त्रीमा ल्याउनुको कारण यिनीहरुबाट देश र जनताले आशा गर्न सक्ने देखिन्न । कोही नागरिकता काण्ड, कोही सुन काण्ड, कोही सहकारी घोटला काण्ड, कोही ठेक्कापट्टा काण्ड, मानव तस्करी काण्ड आदि काण्डै काण्डमा विवादित बनेका मानिसहरुबाट त के पो अपेक्षा गर्न सकिन्छ र ? यो देशमा सज्जन नागरिक नै नभए जस्तो ठग, फटाहा, बेहिमानहरुलाई नै मौका दिनु थियो भने यो गठबन्धन किन चाहिएको हो यसको औचित्य बुझाउन सक्ने कोही छैन ।
अमेरिका लगायत विदेशमा भएका नागरिकलाई स्वदेशमा फर्काएर ल्याउँछौँ भनेर जनताको भोट खानेले अहिलेसम्म एकजना मानिस फिर्ता ल्याउन त सकेका छैनन्छैनन् उनैले आफ्नो तर्फबाट युवाहरुलाई विदेश पठाउन कन्सल्ट्यान्सी कम्पनी खोलेर पेशा चलाउँदै आएका मानिसलाई नै श्रममन्त्री बनाएका छन् । गृहमन्त्री नै पटकपटक विवादित छन् । अर्थमन्त्री पनि विवादित, भौतिक योजना मन्त्रीको पनि त्यस्तै । यसरी हेर्दा पार्टीहरुले राम्रो निस्कलंक मानिस त नेपाल भित्र देखेकै रहेनछन् भन्ने लाग्दछ । यो गठबन्दनको सरकार पनि पहिलेको भन्दा राम्रो हुने कुनै संकेत देखिन्न ।
हामी कहाँ एउटा भैरहेको सरकार ढालेर अर्को गठबन्धनको सरकार बनाउने प्रचलन पचासको दशकबाटै चल्दै आएको हो । भन्नलाई त नेताहरु देशको आवश्यकताले मागेर यो गरेको हो भन्न पछि पर्दैनन् तर जतिखेर पनि उनीहरुको स्वार्थ सिवाय केही भएको देखिन्न । स्वार्थ र विदेशीहरुको इशारमा हुने यो खालको गठबन्धनले देशलाई अधोगति तर्फ धकाल्दै लगेको छ । यस्तो किन भैरहेको छ दुनिया दंग परेको छ । हाम्रा नेताहरुको चालामाला देखेर । कुनै बेला एकआपसमा कटाक्ष गर्ने । भन्न हुने नहुने सबै भन्न,े तल्लो स्तरमा झरेर गाली गलोज गर्ने अनि एउटा गठबन्धन भत्काएर अर्को बनाई हाल्ने । स्वार्थ मिलेको वेला, यो गठबन्धन, यो हाम्रो ऐतिहासिक गठबन्धन, देश र समयले मागेको गठबन्धन हो । यो तीस बर्षसम्म चल्छ भन्ने अनि आफूले भनेको नहुँदा भने गठबन्धन टुटाई हाल्ने यो हाम्रा पार्टीहरुको परम्परा बनी सकेको छ । हाम्रा पार्टीका नेताहरु भन्छन् एक, गर्छन् अर्को । यो हाम्रो लागि अब नौलो छैन । आपसमा सत्तो सराप गर्ने, एकले अर्कोलाई भन्न हुने नहुने सबै बोल्ने त्यसको केहीदिनमै गलाजोड्ने । यो देखेर नेपाली जनता यी पार्टीहरुसंँग हैरान भइसकेका छन् । तर विकल्प देख्न भने अझै सकिरहेका छैनन् । यो देशमा राम्रा मानिसहरुलाई बस्ने वातावरण यिनैले बनाउन दिएका छैनन् । युवाहरु, सक्रिय नागरिक, सबै विदेश पलायन भै सके । त्यसैले त फटाहाहरुले नै यो देश दोहन गरिरहेका छन् । सबै निर्लज्ज छन् । यिनीहरु कसैलाई लाज छैन, घिन छैन, सोझा नेपाली जनताहरुलाई यसरी नै कहिलेसम्म झुक्याई रहने हुन् ? हामी नेपाली जनता पनि कहिलेसम्म बेकुफ बनिरहने हो ? यो अहिलेको हाम्रो विडम्बना बनेको छ ।
यो गठबन्धन पनि कति समयसम्म चल्ने हो त्यो पनि केही थाहा छैन । कतिबेला कताबाट के इशारा आउने हो? कुन शक्तिले कसरी खेल्ने हो ? कुनै निश्चितता छैन देश अत्यन्न नाजुक अवस्थाबाट गुज्रेको छ । देशले परिवर्तन त चाहेको छ । यसरी यो देश अब चल्दैन भन्ने त आम जनताले बुझेका छन् तर यो देशमा परिवर्तन ल्याउन सक्ने युवा शक्ति नै नभएर भ्रष्ट र दुष्टहरुले राज गर्न पाइरहेका छन् ।
अहिले सम्मका जति पनि सरकारहरु बने एक पछि अर्को झन खराव बन्दै गएको मात्र देखिन्छ । यो पटकको सरकारबाट पनि खासै अपेक्षा त नगरे हुन्छ । तर पनि राम्रो गरुन, पहिले कमजोरी गर्नेहरुले पनि अब महसुस गरेर गल्ती नदोहोर्याउन भनेर हामीले शुभकामना दिनु चाही पर्छ । यसको लात्पर्य सबैको सकारात्मक शुभभावनाले उनीहरुबाट राम्रो काम हुनसक्यो भने देशले केही प्राप्ति गर्न सक्ला भन्ने नै हो ।
हामीले हाम्रो रितीरिवाज, परंपरा र संस्कृति त गुमाई सकेका छौँ यसको जगेर्ना होस्् । हाम्रो जल, जमीन, जंगल र जनशक्ति सबै गुमाउँदै गएका छौँ । यस तर्फ यो गठबन्धनको सरकारले काम गरोस् । आर्थिक संकटमा हामी फसिसकेका छौंँ । कुनैपनि बेला हामी समस्यामा पर्न सक्दछौँ । यसको लागि यो सरकार सचेत भएर अगाडि बढोस् । सम्बृद्धिको नारा जप्दैमा हामी सुखी सम्पन्न र सम्मृद्ध बन्न सक्दैनौँ । सम्मृद्धिको आधार भनेको जल, जमीन, जंगल र जनशक्ति हो । तिनीहरुको उपयोग गर्न सके मात्र हामी सम्पन्न बन्न सक्दछौँ ।
यो हाम्रो अपार जलको उपयोग गर्नु सट्टा हरेक बर्ष हामीले त्यसमाथिको अधिकार नै गुमाई रहेका छौँ । हरेक सरकारको प्रमुख जव विदेश जान्छ केही न केही विदेशीलाई बुझाएरै आउँछ । जमीनको पनि रक्षा गर्न सकेका छैनौँ विदेशीले मिच्दै गै रहँदा पनि हेरिरहेर बसेका छौँ । यो सरकार अव चनाखो भएर अगाडि बढोस् । खेतीयोग्य जमीनको सदुपयोग छैन । मलिला फाँटहरुमा बस्ती र बाटा बनाएका छौँ । कि त बाँझो छाडेर सहर पसेका छाँै । जंगल भित्रका काठ र जडिवुटी उपयोग र संरक्षण गर्न सकिरहेका छैनौँ । जनशक्ति विदेश पठाएर हामी अहिले नाक फुलाई रहेका छौँ । कसरी त्यो स्रोत साधनको उपयोग गर्ने भनेर योजनाहरु आउन् । विगतका सरकारहरुले हाम्रो आफ्नो जनशक्तिको देशभित्रै उत्पादनको क्षेत्रमा कसरी उपयोग गर्ने भन्ने सोच्नुको सट्टा विदेश पठाउनमा होडबाजी गरे । मन्त्री र प्रधानमन्त्री युवालाई विदेश पठाउन सकेको भनी गर्व गर्दै गरे । यस्तो अव यस्तो गल्ती नगरियोस् । युवालाई रोगारी दिएर देशमै राख्ने कदम चालियोस् ।
विदेश गएका युवाहरुलाई स्वदेश ल्याउँछौँ भन्नेहरु पनि यो सरकारमा सामेल छन् । चुनावी मुद्दा बनाउने नयाँ पार्टी (रास्वपा) का नेताहरुले यो बारेमा योजना ल्याएर देखाउन् शुभकामना छ । बलेको नगर्ने हो भने मिसन ८४ कसरी सम्भवहोला ? त्यसको लागि मौका पाएको वेला गरेर देखाउनु नै पर्ला । त्यस्तै भ्रष्टाचारका फाइलहरु खोल्दै बन्द गर्दै गरियो भनेर सदनमा सुनिएको थियो अवका गृहमन्त्रीलाई फायल केलाएर हर्ने र भ्रष्टाचारीलाई कारवाही गरेर देखाउने मौका मिलेको छ । शिक्षा र स्वास्थ्यमा देखा परेका विसंगतिहरुको अन्त्य गरियोस् । बैंक र वित्तीय संस्थाहरुले जनसाधारणहरु माथि गरेका अत्याचारको अन्त्य होस् ।
नागरिकहरु सुखी र सुरक्षित महसुस गर्न पाउँन् । हामी जनतालाई त यहि चाहिएको छ । यो सरकारले यस तर्फ कदम चालोस् । जनताको अगाडि गरेका बाचाबन्दन पुरा गर्न सकियोस् । जनतालाई त जस्को सरकार भए पनि केही फरक पर्दैन । परिवर्तनको लागि काम गर्ने अवसर यो सरकारले पनि पाएको छ । यो अवसरको सदुपयोग गरेर आजैबाट द्रुत गतिमा कामहरु अगाडि बढाओस् । यदि यो सरकारले पनि केही गरेन भने जनताको धैर्यताको बाँध टुट्ने छ । आन्दोलनको आँधीवेहरी आउने छ । त्यस्ले सबै फटाहाहरुलाई बढार्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध