नेपाली संगीतका मुर्धन्य श्रष्टा योगेश वैद्य रहेनन्
नेपाली संगीत क्षेत्रका मुर्धन्य व्यक्ति गायक योगेश वैद्यको बिहिवार राति उपचारका क्रममा निधन भएको खबर प्राप्त भएको छ ।
विहीबार दिउँसो बान्ता भएर बेहोस भए पनि यस्तो समस्या पहिले पनि देखिएकाले ठीक हुने आशा परिवारले गरेको तर पछि श्वास फेर्न गार्हो भएकोले काठमाडौं भ्याली अस्पताल लगे पनि उपचारका क्रममा राति १२ः३० बजे उहाँको निधन भएको उहाँकी शिष्या रिता महर्जनले बताउनु भयो ।
गायक वैद्य ७७ वर्षका हुनुहुन्छ । उहाँको दुई छोरी र एक छोरा छन् । यही माघ १ गते मात्र उहाँलाई गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानले ‘धुस्वां सायमि सिर्जना सिरपाः’ प्रदान गरेको थियोे ।
स्व. योगेश वैद्यले नेपालभाषा र खस नेपाली भाषाका धेरै लोकप्रिय गीत गाउनु भएको छ । नेपाली भाषामा उहाँको ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ…’, ‘मेरो आँशुमा नहाँसे….’, ‘नेपाल मेरो उपहार भो…’ अत्यन्त लोकप्रिय छन् । यस्तै नेपालभाषामा ‘जय नमो सिरि बुद्ध भगवान…’, ‘जिमि यःम्ह थौं जिथाय् वइ….’ आदि लोकप्रिय छन् ।
पछिल्लो समय उहाँ गायिका रीता महर्जनसँग मिलेर नयाँ नेवार गीत कम्पोज गर्ने र पुराना गीत नयाँ ढंगले गाउने कार्य गर्दै आउनु भएको थियोे ।








