नेवाः संस्कृतिसम्बन्धी जानकारी दिनका लागि नेवाः तजिलजि ब्वज्या : प्रिन्सिपल सुनिता मानन्धर
मातृभाषाको माध्यमबाट पठनपाठन गरिने पहिलो विद्यालय जगत सुन्दर ब्वनेकुथिमा नेवाः तजिलजि प्रदर्शन गरिएको छ । सो प्रदर्शनी र ब्वनेकुथिले संचालन गरिरहेका गतिविधिहरुको सम्बन्धमा ब्वनेकुथिका प्रधानाध्यापक सुनिता मानन्धरसँग मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
आज तपाईले जगत सुन्दर ब्वनेकुथिमा नेवाः तजिलजि देखाइरहनु भएको छ । यस्को उदेश्य के हो ?
जगत सुन्दर ब्वनेकुथि भनेको ने.सं. ११११ त्यसो भनेको २०४७ सालको संविधानमा नेपालभाषा अर्थात् मातृभाषाबाट पठन पाठन गर्न सकिन्छ भन्ने प्रावधान राखिसकेपछि स्थापना गरेको स्कुल हो । यस स्कुलले स्थापना कालदेखि नेपालभाषा कलासंस्कृतिको उत्थान गर्ने उदेश्य लिएको हो । जसलाई निरन्तर गर्न पहिला देखि पहल गर्दै आएको र हुँदै आएको छ । गत वर्ष संकिमिला पुन्हिको अवसर पारि नेवाः तजिलजि ब्वज्या भनेर नेवाः संस्कृति, लुगा, गरगहणा विभिन्न भाँडाकुडा राखेर प्रदर्शनि भएको हो । त्यो बेला धेरै जनाले माया गरेर अवलोकन गर्न आएको भएर हामीलाई प्रोत्साहन मिलेको हुँनाले यो वर्ष पनि हामीले नेवाः तजिलजि ब्वजा गरेको हो । यसको उद्देश्य भनेको प्रत्येक व्यक्तिले नेवाःको बारेमा जानकारी पाओस र नेवाः संस्कृति भनेको विश्वलाई नै देखाउन मिल्ने संस्कृति हो यसको सवैमा ज्ञान होस भनेर हामीले यो कार्यक्रम गरेको हो ।
यस प्रर्दशनको लागि सामाग्रीहरुको कसरी व्यवस्थापन कसरी गर्नु भयो ?
हुनत हामीले केही वर्ष अगाडि देखि जगत सुन्दर मिनि म्यूजियम भनेर राखेका छौ । सवभन्दा पहिला यस म्यूजियम हामीले सानो दराजबाट शुरु गरेको हो । त्यो दराज मल्ल प्रधानाङ्ग प्रतिस्थानबाट प्राप्त भएको हो । हामीले थोरै सामानबाट शुरु गरेको म्युजियम पछि अरुलाई पनि हाम्रो म्युजियमको लागि आफुसित भएको सामान सहयोग स्वरुप दिन अनुरोध गर्दा सहयोग प्राप्त भएको हो । दराज भरिएपछि सिकागोका केशर मान ताम्राकारलाई हामीले अर्को दराजको लागि अनुरोध गर्यो । हामीसित अर्को दराज भयो भने सामान व्यवस्थापन गर्न सजिलो हुन्छ भनेपछि तत्काल उहाँले त्यो कुरा पुरा गरिदिनुभयो । त्यो दराज भरिएपछि अरु नेवाःसमुदायका मानिसहरुलाई अनुरोध गरें उहाँहरुले लुगा राख्ने दराज दिनुभयो । यसरी सहयोग प्राप्त भएको सामान हामीले सानो म्यूजियममा सुरक्षित का साथ राख्ने गर्छो । जसले गर्दा हामीले त्यहि सामान आँगनमा ल्याएर सजाउने मात्र भएर केहि असजिलो भने हुँदैन ।
मिनी म्युजियममा राखिएका सामाग्रीहरु प्रदर्शन भएको एकदिन मात्र हेर्न सकिन्छ कि अरु बेलामा पनि हेर्न सकिन्छ ?
यस मिनी म्युजियममा राखिएको सामाग्री यदि कसैले हेर्न चाहेमा हामीलाई एउटा चिठ्ठी लेख्न सक्नु हुन्छ । उहाँहरु हाम्रो स्कूल खोलेको समयमा आउनु हुन्छ भने स्वागत छ ।
यस नेवाः तजिलजि प्रर्दशनिमा भाग लिनुभएका सहभागिहरुको के कस्ता प्रतिक्रिया पाउनु भएको छ ?
गत वर्ष प्रर्दशन गरेको बेलामा केहि मात्रामा टुट फुट पनि भएको थियो । तर सहभागिहरुले हामीलाई राम्रो छ भनि प्रशंसा गर्नुभयो । जसको कारण यस वर्ष पनि प्रदर्शन गर्न हामीलाई हौसला प्राप्त भएको हो । उहाँहरुले दिनुभएको सल्लाह सुझावलाई हामीले मनन गरी यस वर्ष राम्रो. पार्न कोशिस गरेका छौ । यस वर्ष झन पहिलाको भन्दा धेरै स्कूलहरु र मानिसहरुको सहभागिताले हामीलाई अर्को वर्ष पनि प्रदर्शन गर्न हौस्याएको छ ।
महानगर पालिकाले नेपालभाषालाई पठनपाठनको माध्यम बनाइरहदा आजको यस प्रदर्शनीमा पाठ्यक्रममा मिल्दो जुल्दो सामाग्रीप्रदर्शन गर्नुभएको छ । यो सन्ँदर्भ मिलेको हो कि तपाईले पाठयक्रमको आधारमा शिक्षा मिलोस भनेर प्रदर्शन गर्नुभएको हो ?
हुनत जगतसुन्दर ब्वनेकुथि नेपालभाषाको भाषा, संस्कृति पहिरन रहनसहन प्रवद्र्धन गर्न स्थापना भएको स्कूल हो । गत वर्षका प्रदर्शनिमा भाग लिनुभएका शिक्षकहरुले उहाँहरुको स्कुलमा देखाउन नसकेपनि तपाईको स्कुलमा प्रदर्शन गरेको देखाएर भएपनि हामीले पढाउन सक्छौ भन्ने अनुरोध गर्नुभएको कारण हामीले पाठ्यक्रमको सन्दर्भमा मिलेका र थप सामग्रीहरु राखि प्रर्दशन गरेका छौ । काठमाण्डौ महानगर पालिकाको येँ देय् म्हसिके पाठयक्रममा मिल्दोजुल्दो पनि राखिएको हो । जगत सुन्दर र हामीहरु निकै भाग्यमानि छौ । हामीले अहिलेसम्म स्कूलको बजेटले केहि सामान किनेको छैन । जो कोहि म्युजियम हेर्न आउनु हुन्छ उहाँहरुले म्युजियम हेरिसकेपछि केहि सामानको आवश्यकता छ भनि सहयोग गर्न खोज्नु हुन्छ र हामीले यो सामान भए राम्रो भन्ने वित्तिकै ल्याइदिनु हुन्छ । जसको हामी गर्व गर्छौ भोलि के हुन्छ थाहा छैन तर अहिलेसम्म हामीले हामीलाई डोनेसन आएका सामाग्री राखेका छौ ।
जगत सुन्दर ब्वनेकुथि नेपालभाषाबाट पठ्नपाठन गराउने स्कूल । मातृभाषाबाट पठनपाठन गराउँदा पहिला र अहिलेको अवस्थामा के अन्तर छ ?
स्थापनाकालदेखि अहिलेसम्म धेरै भिन्नता छ किनकि ३०, ३२ साल अगाडि उपत्यकामा नेवाः समुदायको वस्ति बाक्लो छ । घर घरमा नेवाः समुदायमा नेपाल भाषाको प्रयोग हुन्थ्यो । अहिलेको अवस्थामा नेवाः समुदायकै मानिसहरु आफ्ना छोराछोरीसित नेपालभाषामा कुरा गर्दैन । यस स्कूलमा नेवाः समुदायका मात्र विद्यार्र्थि नभइ गैर नेवाः समुदायका विद्यार्थिहरु पनि भएकोले हामीले त्रिभाषिक माध्यममाबाट पठन पाठन गराउँदै आएका छौ । जसमा नेपालभाषा, नेपालीभाषा र अंग्रेजि भाषाको माध्यम हुन्छ तर कामकाजीभाषा भने नेपाली नै हो ।
पहिला नेवाः समुदायका विद्यार्थीहरु बढि भएको अवस्था र अहिले गैर नेवाःसमुदायका विद्यार्थिहरु बढि भएको अवस्थामा के कस्तो अन्तर पाउनु भएको छ ?
हाम्रो तथ्याङ्कको हिसावले भन्ने हो भने पनि नेपाल भाषा र गैर नेपाल भाषाका विद्यार्थी ५०÷५० प्रतिशतले छ । नर्सरि देखि पढेकोले सजिलै नेपाल भाषा बोल्छन् । पछि सहभागि भएका विद्यार्थिको हकमा भने केहि मात्रामा कथिन छ जसलाई हामीले नेपालीभाषाबाट बोलेर नेपालभाषाबाट उल्था गरि सिकाउने गरेका छौ ।
नेवाः तजिलजि ब्वज्या जस्तै अरु यस स्कूलले के के कार्यक्रम गर्दै आउनु भएको छ ?
हामीले नेवाः समुदाएको हेरक चाडपर्व विद्यार्थिहरु सित मिलेर मनाउँदै आइरहेका छौ । जसमा विद्यार्थिको साथमा अभिभावकले पनि सहभागिता जनाइरहेको छ । जस्तै योमरि पुन्हिमा हामीले विद्यार्थि र अभिभावकको साथमा मिलेर योमरि बनाउँछौ अनि सवैले बाँडेर खान्छौ । त्यस्तै सकिमिला पुन्हिका दिनमा विद्यार्थीहरु मिलेर गेडागुडि भुट्छौ अनि सवै मिलेर खान्छौ । त्यसै गरि सिति नखको दिनमा हामीले विद्यार्थीहरुलाई सिकाउँदै पकाउँछौ । जसलाई नर्सरीदेखि १० कक्षाका सवै विद्यार्थीलाई बाँडेर ख्वाउँछौ । हामीले हरेक महिना जति पनि चाडबाड छ नर्सरी देखि सवैलाई यो यस्तो चाडपर्व हो भनि जानकारी सहित मनाउँछौ । यसरी हामीले व्यवहारिक ज्ञान पनि सिकाउँदै आएका छौ ।
यस जगत सुन्दर ब्वनेकुथिका विद्यार्थिले शिक्षा मात्र नभई नेवाः संस्कृति पनि सिकेर जान्छन् ?
विद्यार्थिहरुले शिक्षाको साथमा सस्कृति मात्र होइन बाजागाजा पनि सिक्ने गरेको छ । हामीले कति तहको लागि बाजा सिकाउने भनि पनि राखेका छन् जसमा धिमे, नाय्खि र मादल पर्दछ ।
तपाईले समय दिनुभएकोमा धन्यवाद । अन्तमा तपाईलाई भन्न छुटेको जस्तो लागेको छ भने भनिदिन अनुरोध गर्दछु ?
जगत सुन्दर ब्वनेकुथि हामी सवैको हो । यसको सम्वद्र्धन गर्नु भनेको हामी सवैको कर्तव्य हो । जगत स्ुन्दर ब्वनेकुथिलाई माया गरि उत्थान गरिदिन सवैलाई अनुरोध गर्दै हामीलाई समय दिइ हाम्रो बारेमा जानकारी लिनुभएकोमा मेरो साप्ताहिक परिवारलाई धन्यवाद ।








