भौतिकसंगै मानवीय विकास आवश्यक रहेको ललितपुर  – ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठको जोड

ललितपुर महानगरपालिका वडा – ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले भौतिक पूर्वाधारसंगै सामाजिक एवं  मानवीय विकासलाई सन्तुलनमा राखेर काम गरिरहेको बताउनुभएको छ ।
वडाको सहयोगमा बोधिचर्या नेपालले लगनेखलस्थित बुद्धि विकास मण्डलको सभाहलमा आयोजना गरेको चार दिने सिद्धिसाधना तालिमको समापन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो।
ललितपुरको लगनखेल, कुमारीपाटी, मानभवन, थसिखेल लगायत क्षेत्र समेटिएको वडामा मानवीय र भौतिक विकास दुवैको खाँचो रहेको पनि वडाअध्यक्ष श्रेष्ठको भनाई रहेको छ । जिल्लाका भएभरका कार्यालय, ठूलठूला विद्यालय, कलेज,अस्पताल संगै कोर पाटन र पछिल्लो विकसित बस्तीलाई जोड्ने  वडाको रुपमा चिनाउँदै वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ यसको अवस्थितिबाट वडाबासीलाई मात्र नभई सिंगो नगरबासीलाई लाभ दिन वडा तल्लीन रहेको छ ।यस कार्यमा वडाबासी सबैको सहयोग चाहिन्छ । ’
 वडाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग मिलेर स्वास्थ्य सेवालाई घरघरमा पु¥याउने योजना बनाइरहेको पनि उहाँले जानकारी दिनुभयो।वडाध्यक्ष श्रेष्ठले मानिसलाई शिक्षा, स्वास्थ्यसंगै आत्मिक विकास, तनावरहित जीवन जीउन उपायहरुको सिकाई र अभ्यास पनि जरुरत रहेको धारणा राख्नुभयो । वडामा प्लास्टिकका  झोला निषेधित गरिएको,स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन प्रयास गर्दै आएको र जेष्ठ नागरिकको हितमा काम गर्दै आएको बताउँदै वडाअध्यक्ष श्रेष्ठले यसमा वडाबासीको पृष्ठपोषणको जरुरी रहेको बताउनुभयो।सो अवसरमा वडाअध्यक्ष श्रेष्ठ तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो।
बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले जीवनमा सफल, तनावरहित भई बाँच्न आफनो मन र त्यसको प्रक्रियालाई बुझ्नुपर्नेमा जोड दिँदै तालिमले यसतर्फ केही न केही सिकाएको बताउनुभयो। तालिमका सिकेका ज्ञान, सीपलाई व्यावहारिक रुपमा अभ्यास गर्दै अझ फराकिलो र गहन बनाउनुपर्ने पनि अध्यक्ष शाक्यको सुझाव रहेको छ ।
 वडा कार्यालयको तर्फबाट कार्यक्रमको लागि संयोजन भूमिका निर्वाह गरेका वडाका महिला सदस्य शोभादेवीप्रधान श्रेष्ठले शान्त र सुखी हुने ज्ञानले  व्यक्तिको कार्यदक्षता वृद्धि हुनुका साथै र शान्ति र मैत्रीमा आधारित समाज निर्माणमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो। वडा सदस्यहरु अशोकुमार श्रेष्ठ, पुनम निरौलाले मानिसले चिन्ता नभई चिन्तनको विकास गर्नुपर्नेमा जोड दिँदै आ आफ्नो भनाई राख्नुभयो। ४५ जना सहभागी रहेको सो तालिमको मुख्य प्रशिक्षक आशारत्न शाक्य‘मैत्री’ हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध