नेवार एकता अपरिहार्य ः अध्यक्ष बज्राचार्य
नेवाः अधिकार, पहिचानका लागि क्रियाशील रहँदै आएको नेवाः देय् दबूको आफ्नै भवन नभएका कारण नेवारहरुले नै नेवाः देय् दबूको बारेमा जानकारी लिन नसकेको हुनाले आफ्नो कार्यकार्यमा सबैको सहयोग प्राप्त भएमा नेवाः देय् दबूको घर बनाउने दबूका अध्यक्ष पवित्र बज्राचार्यले बताउनु भएको छ ।
शनिवार यहाँको जगतसुन्दर ब्वनेकुथिमा दबूको काठमाडौं जिल्ला शाखाको साधारणसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बज्राचार्यले नेवारहरुबीचको एकता आजको अपरिहार्य विषय भएको पनि औल्याउनु भयो । उहाँले काठमाडौंमा गुठी विधेयकका विरुद्धमा भएको आन्दोलनले नेवार एकताको शक्ति चिनाउन सफल भएको पनि बताउनु भयो । सोही उदाहरणलाई आत्मसाथ गर्दै उपत्यका बहिरका नेवारहरुबीच देखिएको एकता गौरवयोग्य भएको जनाउनु भयो ।
नेवाः देय् दबू उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः देय् दबूको पहलमा अडान पत्र प्रदान गरेको नतिजा स्वरुप बाग्मति प्रदेशमा नेवार भाषा कामकाजी भाषाको रुपमा प्रयोग गर्न दुई जना विशेषज्ञ सरकारले चुन्ने कार्य भइसकेको बताउनु भयो ।
लोककवि राजभाई जकमिले नेवाः देय् दबूसँग सम्बन्धित कविता वाचन गरी शुभकामना व्यक्त गरेको कार्यक्रममा सचिव धनबिर महर्जनले वार्षिक कार्य प्रगतिप्रतिवेदन तथा कोषाध्यक्ष धर्मराज शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदनमा आएका प्रश्नहरुको अध्यक्ष धनबहादुर महर्जनले जवाफ दिनुभएको थियो । अध्यक्ष महर्जनले जिल्लाको भावी कार्यक्रमहरुको बारेमा पनि साधारणसभामा मन्तव्य राख्नुभएको थियो ।
सोही कार्यक्रममा नेवाः संस्कृति र भाषालाई कलाको माध्यमबाट संरक्षण र प्रवद्र्धन गर्न टेवा पु¥याउँदै आएको नेपालभाषाकै लामो टिभी सोका रुपमा रहेको ख्वताबजिलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला सदस्य एवम् अतिरिक्त क्रियाकलाप संयोजक बालकृष्ण श्रेष्ठले कविता वाचन गर्नुभएको थियो भने सदस्य मन्दिरा श्रेष्ठले नेवाः देय् दबू कीर्तिपुर नगरका अध्यक्ष बुद्धिलाल ज्यापुले रचना गर्नुभएको गीत सुनाउनु भएको थियो । कार्यक्रम सचिव सुनिता महर्जनले संचालन गर्नुभएको थियो ।










