खर्च घटाउन चितवनमा नेवाः पुचःद्वारा सामूहिक ब्रतबन्ध गर्दै

चितवन नेवाः पुचः नारायणगढले संस्कृति र संस्कारको जर्गेनासंगै मितव्ययी बनाउने उद्देश्यले चितवनमा सामूहिक ब्रतबन्ध र बेलविवाहको आयोजना गर्ने भएको छ ।

पुचःले यही फागुण २५ गते ब्रतबन्ध (कय्ता पुजा) र २८ र २९ गते बेलविवाह (इही गर्ने ) को आयोजना गर्न लागिएको पुचःका अध्यक्ष शुक्रकुमार श्रेष्ठले पत्रकार भेटघाटमा बताउनुभयो।

नेवाः समुदायमा बालकको ब्रतबन्ध र बालिकाको बेलविवाह गर्ने परम्परा रहेको छ।तडकभडक गरी कर्मसंस्कार गर्ने प्रवृति बढ्दै गएको स्थितिमा त्यस निरुत्साहित गर्न सामूहिक रुपमा सो कार्यक्रम गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

काठमाडौंका देव ब्राम्हणद्वारा सो कर्म संस्कार सञ्चालन गरिनेछ ।

ब्रतबन्धका लागि ४ हजार र बेलविवाहका लागि ३ हजार रुपैया दर्ता शुल्क तोकिएको जनाउँदै उपाध्यक्ष देवन्द्रकुमार श्रेष्ठले भन्नुभयो ‘ हामीले तोकेको रकम पर्याप्त छैन । तैपनि विधिका लागि आवश्यक सामान जुटाउन शुल्कको व्यवस्था गरिएको हो ।’

यस्ता कार्यले कर्मसंस्कारको लागि धेरै खर्च गर्ने परिपाटीको क्रमशः अन्त्य हुँदै जाने पनि उपाध्यक्ष श्रेष्ठको विश्वास रहेको छ।

सामुहिक बेलविवाह कार्यक्रम संयोजक सुष्मा पियाले ५, ७, ९ र ११ वर्षका बालिकाहरुलाई सामुहिक बेलविवाह गर्न जानकारी दिनुभयो ।

पुचःका प्रवक्ता रमेश श्रेष्ठका अनुसार ५ देखि १५ वर्षको उमेरमा बालकहरुको ब्रतबन्ध गरिनेछ । पुचःका महासचिव प्रविना श्रेष्ठले विभिन्न जिल्लाबाट बसाई सरेर चितवनमा बसोबास गर्दै आएका नेवाः समुदायलाई परम्परा मान्न आर्थिक कठिनाई नहोस् भनेर सामुहिक बेलविवाह र ब्रतबन्धको आयोजना गरिएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध