नागरिकता वा राहदानी लिन जाँदै हुनुहुन्छ ?

मेरो संवाददाता
काठमाडौं

काठमाडौं जिल्लामा तपाईं नागरिकता वा राहदानी लिनका लागि जाँदै हुनुहुन्छ भने अब बार हेरेर मात्र जानु होला । किनभने जिल्ला प्रसाशन कार्यालय काठमाडौंले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालिग परिचय पत्र, राहदानी, हातहतियार दर्ता नविकरण आदि सेवाहरु नगरपालिका अनुसार विभिन्न बारमा मात्र प्रदान गर्ने भएको छ ।
जिप्रका काठमाडौंले साउन १४ गते जारी गरेको सूचना अनुसार काठमाडौं महानगरपालिकाको उल्लिखित कार्यहरु आइतवार, मंगलबार र बिहीवार हुनेछ ।
यसैगरी कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाको सोमवार, बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाको बुधवार काम हुनेछ ।
यस्तै गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाको भने शुक्रवार मात्र उल्लिखित कार्य हुने जनाइएको छ ।
कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै कार्यालयमा हूलमूल हुन नदिन यसरी समय तालिका तय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा जनाइएको छ ।
यसैगरी जिप्रका काठमाडौंले नयाँ संघसंस्था दर्ताका लागि सोमवार र बुधवार तय गरेको छ भने संस्था नविकरणका लागि आइतवार, मंगलवार र बिहीवार तय गरेको छ ।
नयाँ पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधनका लागि शुक्रवार तय गरिएको छ भने प्रतिलिपि पत्राचारका लागि प्रत्येक दिन ४ बजेपछिको समय तोकिएको छ ।
यस बाहेक शान्ति स्ुरक्षाको निवेदन र कानून बमोजिम हुने मुद्दा सम्बन्धी कार्यहरु र सरकारी कार्यालय, आयोजनासँग सम्बन्धित समन्वय र छलफल भने सबै कार्यालय दिनहरुमा हुने जनाइएको छ ।
कार्यालयको भीडभाड र कोभिड–१९ संक्रमणको अवस्था अनुसार तालिकामा आवश्यक अनुसार परिमार्जन गरिने पनि सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध