सार्क जर्नलिष्ट फोरमको सम्मेलन दिल्लीमा हुँदै
सार्क राष्ट्रका पत्रकारहरुको संगठन सार्क जर्नलिष्ट फोरमको बैठकले आगामी जनवरीमा आफ्नो सम्मेलन दिल्लीमा गर्ने निर्णय गरेको छ । सम्मेलनमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानलगायत देशका पत्रकारको सहभागिता रहने छ । माघमा हुने यस सम्मेलनको लगभग सबै तयारी अन्तिम चरणमा पुगेको र पत्रकार संघसंस्थासँग राय समेत माग गरिएको छ ।
दिल्ली विश्वविद्यालयको हिन्दी विभाग, खालसा कलेजलाई यस सम्मेलनको संयुक्त आयोजकका रूपमा चयन गरिएको छ । सङ्गठनका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले तयारीमा सन्तोष व्यक्त गर्दै सम्मेलन अत्यन्तै सफल हुने विश्वास व्यक्त गरे । सम्मेलनबाट सार्क मुलुकमा पत्रकारिताको अवस्था र यसअघिका चुनौतीका बारेमा पनि जानकारी हुनेछ ।
फोरमको भारत च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधांशुले सार्क राष्ट्रका पत्रकारलाई एउटै मञ्चमा ल्याउँदा पत्रकारिता क्षेत्रमा नयाँ क्रान्ति हुने बताए । उनले भने, ‘हामीले यस सम्मेलनमा भारतको प्रतिनिधित्व मात्र गर्दैनौं, भारतका विभिन्न भागमा कार्यरत सबै पत्रकारहरूको पनि प्रतिनिधित्व गर्दैछौं । भारतभरका पत्रकारहरुलाई सम्मेलनमा सहभागी भई पत्रकारिताको अधिकारको संघर्षमा उभिन आमन्त्रण गर्दछौं । पत्रकार र पत्रकारितामाथि दिनानुदिन हुने हमलाको प्रतिकार गर्न पत्रकारको हितमा कानुन बनाउन पनि माग गर्दछौं ।’
यसैबीच सार्क जर्नलिस्ट फोरम भारत र भुटानका पत्रकारहरुको प्रतिनिधिमण्डलले नयाँदिल्लीको एक होटलमा भेटवार्ता गरेको छ । भुटानी प्रतिनिधिका प्रमुख रिङ्जिङ वाङ्चुक र इन्डिया च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधांसुले दुवै देशका पत्रकारका लागि भेटघाट निकै महत्वपूर्ण भएको बताए । सो क्रममा भुटानको पत्रकारिताको अवस्थाबारे छलफल भएको थियो र त्यहाँका पत्रकारलाई पनि भारत आउन आमन्त्रण गरिएको थियो ।
भारत आएका यी भुटानी पत्रकारहरू भारतका विभिन्न भागमा गएर नयाँ कुरा सिक्न र जान्न उत्सुक थिए । यो भेटमा उनी खुसी भए र भारतमा हुने सम्मेलनमा सहभागी हुन पनि सहमत भए ।
सोही क्रममा भारत च्याप्टरका उपाध्यक्ष जकारिया जीले सम्मेलनमा सबै प्रकारले सहयोग गर्दै संस्थालाई उचाइमा पु¥याउने बताउनुभयो ।








