इन्द्रायणी र बालाचतुर्दशीको सम्बन्ध
राजा गुणकामदेवले कलिगत सम्वत् ३८२५ मा काठमाडौंको निर्माण गरेको समयमा नगरको रक्षाका लागि भनेर काठमाडौंको आठ कुनामा तान्त्रिकविधि अनुरुप खड्गाकारमा आठ मातृकाहरु (अजिमाहरु) स्थापना गरेर बनाएको भन्ने प्रचलन रहेको पाइन्छ । राजाले आठ अजिमाहरु स्थापना गर्ने क्रममा काठमाडौंको ढल्को नजिकै लुँति अजिमा स्थापना गरेका थिए । लुँति अजिमालाई इन्द्रायणी माइ भनेर पनि सम्बोधन गरिँदै आएको छ । वर्षभरि विभिन्न चाडबाड तथा जात्रापर्व मनाइरहने नेवारहरुले बाला चतुर्दशीको समयमा गर्ने लुँति अजिमाको जात्रा र त्यहाँ हुने सर्पाहुति होम पनि एक भिन्न र रोचक संस्कृति हो ।
कछलागा चतुर्दशि अथवा मंसिर कृष्ण चतुर्दशिया दिनलाई नेपालमा बालाचतुर्दशि भनेर मनाइने गरिन्छ । नेवारहरुले यस दिनलाई बालाचः¥हे भनेर यस दिन वर्षदिनभित्र स्वर्गारोहण भएका परिवारजन तथा आफन्तको आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिया श्लेष्मान्तक वनमा अथवा देशको विभिन्न शिवालयमा सतबीज छर्न जाने चलन रहेको छ । यसलाई नेवार समुदायले ‘बालू वनेगु’ भन्ने गर्दछन् ।
सतबीज छर्न जाने क्रममा जौ, धान, तिल, गहुँ, मास, सानो केराउ, लावा, मुला, लेबु, सखरखण्ड, पिडालु, बेसार आदि राखेर पशुपति क्षेत्र अथवा शिवालयमा छर्दै घुम्ने गरिन्छ ।
बाला चतुर्दशीका दिन मृगस्थली वा श्लेष्मान्तक वनमा यसरी शतबीज छर्नाले स्वर्गवास भएका आफ्ना पितृहरुले खान पाउने सामग्रीका रुपमा बिजारोपण गरिने जनविश्वास रहेको छ । ती शतबीजबाट उम्रिएको अन्न बाट नै स्वर्गबास भएकाहरुले वर्षदिनसम्म खान पाउँछ भन्ने समाजमा विश्वास रही आएको पाइन्छ । बाला चतुर्दशीका दिन एउटा मात्र बियाँ छरे पनि एक टुक्रा सुन दान गरे जति पुण्यफल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । यसरी एउटा बियाँ छर्दा एक टुक्रा सुन दान गरेजति पुण्य प्राप्त हुने दिनका रुपमा लिइएको बाला चतुर्दशीका दिनमा नै काठमाडौंको लुँति अजिमाको जात्रा हुने गर्दछ । यसैकारणले काठमाडौंको लुँति अजिमाको सम्बन्ध पनि यही ‘लुँ ति’ (सुन जतिकै) पुण्यसँग जोडिएको हो कि, त्यही अनुरुप नै ‘लुँति अजिमा’ भनिएको हो कि भन्न सकिन्छ ।
हुन त लुँति अजिमालाई किन लुँति अजिमा भनियो भन्ने सन्दर्भमा एउटा किम्वदन्ति हाम्रो समाजमा प्रचलित रहेको छ । जनश्रुति अनुरुप लुँति अजिमालाई एक पटक बछला माइले भोज बोलायो । धेरै बालबच्चा भएकी र सम्पत्ति नभएकी गरिब लुँति अजिमा आफ्ना सबै बालबच्चाहरु सहित भोजमा पुग्दा भोज सकी सकेको रहेछ ।
धेरै बालबालिकाहरुका साथमा झुत्रो लुगा लगाएर आएकी लुँति अजिमालाई बछला माइले कोदोको रोटी राखेर खुवाए ।
अपमानित महसूस गरेर लुँति अजिमाले त्यो कोदोको रोटी त्यहिँ भुइँमा भएको इँटा उप्काएर त्यसैको मुनि दबाएर लुकाइ दिए र रुँदै फर्किए ।
यसरी रुँदै फर्किरहेको समयमा एक जना ज्यापुले देखेर के भयो भनेर सोध्दा लुँति अजिमाले ज्यापुलाई सबै कुरा बताए । सबै कुरा सुनिसकेपछि ज्यापुले लुँति अजिमालाई एउटा फर्सि दिएर पठाए । यसरी फर्सि दिएको ठाउँ आजभोलिको फसिक्यब (रञ्जना हल) हो ।
ज्यापुसँग फर्सि लिएर घरमा गएर बालबच्चाहरुलाई खुवाउन भनेर पकाउँदै गर्दा उक्त फर्सि सुनमा परिणत भइ दियो । त्यसपछि त्यही सुनका कारणले लुँति अजिमा पनि धनी भइन् । त्यसपछि सबै दिदीबहिनीहरुले पनि लुँति अजिमालाई सम्मान गर्न थाले ।
कतै कतै भने लुँति अजिमाले फर्सि पकाउँदा सुन भएको नभई भोकले ब्याकुल बनेका बच्चाहरुलाई यही भए पनि पकाएर खुवाउँछु भनेर बाटोमा मरिरहेको सर्प एउटा लगेको र पछि त्यही सर्पलाई काटेर बनाइरहेको समयमा सुन भएको भन्ने गरिएको पनि पाउन सकिन्छ ।
जे भएता पनि लुँति अजिमाको कथामा सुनको सन्दर्भ जोडिएर आइरहेको पाउन सकिन्छ । त्यही सून प्राप्त भइसकेपछि गरीब लुँति अजिमाको जीवनमा सुख आएको भन्ने मनशाय स्वरुप लुँति अजिमा भनिँदै आइरहेको छ ।
बालाचतुर्दशीका दिनमा लुँति अजिमाको जात्रा हुने समयमा सर्पाहुति होम गरिने भएकाले पनि लुँति अजिमाले ल्याएको मरेको सर्प सुन भएको कुरालाई जोड दिइरहेको पाइन्छ ।
लुँति अजिमाको जात्राका क्रममा बाला चतुर्दशीको एक दिन अगाडि त्रयोदशीको अर्धरातमा यहाँ अन्य विभिन्न सामग्रीहरुका साथमा पशुपंक्षीहरुका साथै सर्प पनि होम गर्ने चलन रहेको छ । बालाचतुर्दशि एक दिन अगाडि त्रयोदशिको आधारातमा बिष्णुमति खोला छेउमा रहेको लुँति अजिमाको मन्दिर अगाडि रहेको यज्ञकुण्डमा ३२ थरी अन्नका साथमा फट्याङ्ग्रा, माछा, भंगेरा, राँगाको टाउकोका साथै सर्प पनि होम गर्ने गरिन्छ ।
यसरी गर्नुका पछाडि सांस्कृतिक धार्मिक मान्यता आफ्नो ठाउँमा हुन सक्छ । तर कुनै पनि नेवार संस्कृतिलाई हेर्ने हो भने सो संस्कृतिमा तान्त्रिक मतले ठाउँ लिइरहेकै पाउन सक्छौं । साथै उक्त संस्कृतिले हाम्रो दैनिक जीवनयापनका लागि आवश्यक शिक्षा पनि दिइरहेको हुन्छ ।
अजिमा भन्नासाथ नै शाक्त परम्परा अनुरुप नै पुजिने देवी भइ हाल्यो । जसरी शाक्त परम्परामा पुरुष भन्दा पनि स्त्रीशक्तिको नै धेरै स्थान हुने गर्दछ, त्यही अनुरुप हाम्रो नेवार समाजमा पनि देवता वा सांस्कृतिक परम्परामा महिला देवता वा स्त्रीशक्तिलाई नै महत्व धेरै दिइएको पाउन सकिन्छ ।
सबैभन्दा तल शक्ति पृथ्वी तत्वको रुपमा र सबैभन्दा माथि पुरुष वा शिव आकाश तत्वको रुपमा रहेर त्यसको बीचमा जल, वायू र अग्नि भएको स्थानमा भइरहने श्रृष्टि नै तन्त्र हो ।
बालाचतुर्दशीको सर्पाहुति होममा पनि यसरी नै पञ्चतत्वको बीचमा श्रृष्टिको प्रक्रियालाई नै निरन्तरता दिँदै आएको पाउन सकिन्छ ।
यस होममा ३२ थरी अन्नका साथमा चार वटा जीवको होम गरिन्छ । होम भन्ना साथ नै बलिरहेको आगो हो भन्ने कुरा त भनिराख्नु आवश्यक रहेन । होमको अग्नि तत्व आकाशमा उडीरहने परेवा, हाम्रो वरपर खेत तथा करेसाबारीमा उडी राख्ने, हामीले श्वास फेर्ने हावामा उडीरहने फट्याङ्ग्रा, पानीमा रहने माछा पनि होम गरिन्छ । अनि जलेर खरानी र माटो भएर जाने राँगाको टाउको होम गरिन्छ ।
सर्पलाई हेर्ने हो भने यो उड्न पनि सक्छ, पानीमा पनि बस्न सकछ, भुइँमा पनि बस्न सक्छ अनि जलेर खरानी पनि हुने गर्दछ । यसरी पञ्चतत्वको नै प्रतीकका रुपमा बाला चतुर्दशीका दिनमा गरिने सर्पाहुति होम गर्ने गर्दै आएको पाइन्छ । यस होमबाट पनि पृथ्वीतत्व र आकाशतत्वका बीचमा भइरहने सृष्टि र संहारलाई नै प्रतिविम्बित गर्दै आएको पाइन्छ ।
जीवनलाई समाजमा सहज अनि व्यवस्थित ढङ्गबाट अगाडि बढाउन नै मानिसहरुले वा समाजले संस्कृतिको विकास गर्ने गर्दछन् । यसैकारणले समाजमा चल्दै आएका कुनै पनि संस्कृति अर्थहीन हुँदैनन्, यसभित्र गहिरो सामाजिक, दार्शनिक शिक्षा समाहित भइ नै रहेको हुन्छ । यसलाई गहिरिएर हेर्नु आवश्यक छ अनि यसलाई बुझेर ग्रहण गर्न सक्नुपर्दछ ।








