प्रदेश मन्त्री बसन्त मानन्धरसँग जीवन मानन्धरको प्रतिस्पर्धा
काठमाडौं क्षेत्र नं ७ (१) मा बाट प्रदेशसभा सदस्यको लागि नेकपा ( एमाले) का उम्मेदवार जीवन मानन्धर बहालवाला मन्त्रीसँग प्रतिस्पर्धा गर्दै चुनावी अभियानमा होमिनुभएको छ । जनतामा भिजेर आफूले गरेका सामाजिक काम र संगठनको बल नै चुनाव जित्ने मुख्य आधार रहेको भन्दै मानन्धर चुनाव अभियानमा सक्रिय भएर लागिरहनुभएको हो । मानन्धरको प्रतिस्पर्धा वाग्मती प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धरसँग हुनेछ । अघिल्लो चुनावमा नेकपा (एमाले) बाट निर्वाचित भएका मन्त्री मानन्धर अहिले सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार हुनुहुन्छ । उम्मेदवार मानन्धरले ‘यस अघि उहाँले सूर्य चिन्ह लिएर चुनाव जित्नुभएको हो । अहिले सूर्य चिन्ह लिएर म चुनावी प्रतिस्पर्धामा उत्रिएको छु । चुनाव जित्ने एउटा मुख्य आधार यही हो । अर्को आधार हो, सामाजिक क्षेत्रमा मेरो क्रियाशीलता र जनसम्पर्क’ रहेको बताउनु भयो ।
चुनावी अभियानको क्रममा मानन्धरले आफ्नो क्षेत्रका सामुदायिक र निजी विद्यालयमा विपन्न, लोपोन्मुख जाति र सहिद परिवारका सन्तानलाई निःशुल्क पढाउने, स्वास्थ्य र खानेपानीको सहज पहुँच पु¥याउने एजेन्डा अघि सार्नुभएको छ । मानन्धरले आफ्नो प्रतिबद्धता पत्रमा नेपाल भाषा, साहित्य, संस्कृतिको संरक्षण, मूर्त र अर्मूत संस्कृतिको संरक्षण र प्रवर्द्धन,फोहोरको व्यवस्थापन, पर्यटकीय उद्योग गर्ने प्रवर्द्धन, महिलाको सशक्तीकरण , बालाजु बाइसधाराको संरक्षण र युवा स्वरोजगार, नदीको सरसफाइ लगायत विषयहरूलाई प्राथमिकतामा राख्नुभएको छ । २०३८ सालदेखि सामाजिक क्षेत्रमा क्रियाशील मानन्धर कुमारी क्लबको अध्यक्ष हुँदै पछि सल्लाहकार, म्हेपी मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वडा नं १६ र १९ को सल्लाहकार समेत हुनुहुन्छ भने नेपाल निर्माण व्यवसायी महासंघको पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । २०४९ सालमा पार्टी प्रवेश गरेका मानन्धर यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका– १६ वडाका वडा सदस्य हुनुहुन्थ्यो ।








