काठमाडौंको रूद्राभिषेक पद्धती पुस्तक सार्वजनिक
महादेवको रूद्राभिषेक विधि अन्तर्गत काठमाडौंको पद्धती पुस्तक सार्वजनिक भएको छ । राजोपाध्याय समाजले गत मंगलबार काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव मन्दिर परिसरमा आयोजना गरेको पञ्चाभिषेक रूद्री समापन समारोहमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
काठमाडौं चिकंमुगल निवासी ओमधरानन्द राजोपाध्यायबाट संकलित उक्त पुस्तकको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लोकार्पण गर्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले पूजामा पनि सामेल हुनुभएको थियो ।
पुस्तक विमोचन र पूजा पछि संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले पवित्र र भव्य धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदा निकै आनन्द र खुसी लागेको बताउनुभयो । नेपालको मौलिक पहिचान र संस्कृतिको संरक्षण र प्रवर्ध्दन गर्न यस अनुष्ठानहरुको आयोजना गरिरहनुपर्ने विचार मन्त्री श्रेष्ठले राख्नुभयो ।
मंगलबार महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन गरिएको थियो । राजोपाध्याय समाजले एक वर्षसम्म मासिक रुपमा आयोजना गरेको पञ्चाभिषेक रूद्रीको भव्य धार्मिक अनुष्ठान गर्दै औपचारिक रुपमा समापन गरेको हो ।
उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै पंचाभिषेक रूद्रीको समापन गरिएको हो ।

१०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ख पाठ गरिएको थियो भने १० हजार संख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो ।
काठमाडौं उपत्यकाका आदिवासी राजोपाध्याय ब्राह्मणहरुको छाता संगठन राजोपाध्याय समाजले कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गत वर्षबाट पञ्चाभिषेक रूद्री पाठ कार्यक्रमको सुरुवाट गरेको थियो ।
२०७८ श्रावण १२ गतेबाट सुरु गरिएको कार्यक्रममा काठमाडौं उपत्यकाका तीनवटै शहरहरुको शिवालयमा एकै दिन एकै समयमा पाँच पाँच जना देव ब्राह्मणहरुबाट रूद्री पाठ हुँदै आएको थियो ।
यस क्रममा काठमाडौंमा महिन्द्रेश्वर महादेव मखनमा, पाटनमा विश्वेश्वर महादेव मंगलबजार र भक्तपुरमा तिलेश्वर महादेव टौमढीमा मासिक रूपमा रूद्री पाठ गरिँदै आएको हो ।
मासिक रूपमा हुँदै आएको कार्यक्रम अन्तर्गत गत असार ११ गतेका दिन १२ औं पटकको कार्यक्रम सम्पन्न भएपछि मंगलबार यसको औपचारिक समापन गरिएको हो ।








