नागार्जुन नपामा एक मात्र महिला वडा अध्यक्षको उम्मेदवार
वि.सं. २०३८ सालदेखि कम्युनिष्ट आन्दोलनमा विद्यार्थी संगठनमा आवद्ध भई निरन्तर नेपाली जनताको हक, अधिकारको रक्षा र सामाजिक क्रियाकलापमा सक्रिय सविना थापा (जमुना)ले नागार्जुन नगरपालिकाको वडा नं. १० मा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
हाल नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश समिति सदस्य रहनु भएका उहाँले २०४३ सालमा कम्युनिष्ट पार्टीको आधिकारिक सदस्यता लिनुभएको थियो ।
वडामा कुनै किसिमको भष्टाचार, कमिशन, घुसखोरी जस्ता क्रियाकलाप गर्ने र गर्न नदिने प्रमुख प्रतिबद्धता जनाउनु भएकी उहाँले मासिक रुपमा प्राप्त हुने आर्थिक सुविधा वडा भित्रका असहाय, टुहुरा, गरिब बालवालिकाहरुको लागि समर्पित गर्ने पनि बताउनु भएको छ ।
वडावासी, बुद्धिजीवी र अनुभवी व्यक्तिहरुको सरसल्लाह लिंदै वडा विकास अन्तर्गत बाटो निर्माण तथा स्तरियकरण, सडक बत्ती, सरसफाई, वडा भित्रका प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षण र सुधारमा जोड दिँदै महिला नेतृत्वमा वडाको विकास नमूना योग्य बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ ।
उहाँले वडामा सुत्केरी भत्ता पाँच हजार उपलव्ध गराउने साथै राजनीतिक आस्थाका आधारमा भेदभाव नगर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
२०४५ सालमा अखिल नेपाल महिला संघको केन्द्रिय महासचिवको जिम्मेवारी सम्हाल्नु भएकी उहाँ २०६२÷६३ सालको जनआन्दोलनका समयमा आन्दोलनको लागि गठित कलंकी जनआन्दोलन संयन्त्रमा राष्ट्रिय जनमोर्चाको तर्फबाट संयोजक भई नेतृत्व गरेको, २०६३ बैशाख ७ को प्रहरी दमनमा सख्त घाइते भएका थिए ।
सामाजिक क्रियाकलापमा पनि क्रियाशील उहाँ वि.सं.२०६५ सालमा स्थापित “हाम्रो महिला आदर्श विद्यालय” को संस्थापक तथा प्रिन्सिपल पनि हुनुहुन्छ । यसै गरी नागार्जुन न.पा. वडा नं. १० मा रहेको “तारकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति” को २ कार्यकाल कोषाध्यक्ष र हाल उपाध्यक्षको भूमिकामा रहेर स्थानीय खानेपानीको समस्या समाधानको लागि पनि उहाँ क्रियाशील हुनुहुन्छ भने घ्याम्पेकुवामा स्थापना गरिएको “क्रियापुत्री भवन” को निर्माण कमिटिमा रही काम गरेको, हाल संरक्षक समितिको सदस्यका रुपमा कार्यरत हुनुहुन्छ । यसका साथै अन्य थुप्रै संस्थामा पनि विभिन्न रुपमा सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ ।
हाल अर्थशास्त्रमा पीएचडीको अध्ययन गरीरहनु उहाँले अर्थशास्त्रमा एम.ए.का साथै शैक्षिक योजना तथा व्यवस्थापनमा एम.एड गर्नुभएको छ।
उहाँ वि.सं. २०६४ र २०७० मा राष्ट्रिय शिक्षा पुरस्कारद्वारा सम्मानित हुनु भएको थियो भने नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा वि.सं.२०६५ सालमा विशिष्ट शिक्षा सेवी पुरस्कारद्वारा पनि सम्मानित हुनु भएको थियो ।








