हलिं नेवाः दबू नेपाः च्याप्टरकाे अध्यक्षमा सुरेन्द्र भक्त

हलिं नेवाः दबू नेपाल च्याप्टरको पहिलो वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिवार काठमाडौंको धिमेलोहंस्थित स्वयम्भु बैंक्वेटमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त सभाबाट सुरेन्द्रभक्त श्रेष्ठको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेवार सभ्यताको इतिहास दुई हजार वर्षभन्दा पनि पुरानो भएको उल्लेख गर्नुहुँदै आजको समयमा सरकारी नीतिकै कारण नेवार सभ्यता ओझेलमा पर्दै गएको भएता पनि विश्वभर छरिएर रहेका नेवारहरुलाई एकतृत पार्ने उद्देश्यका साथ गठित हलिं नेवाः दबू जस्तो संस्थाले नेवार गरिमालाई जोगाइ राख्न मद्दत पु¥याएको बताउनु भयो ।
उहाँले अहिले देश संघीय लोकतान्त्रिक भनिए पनि पूर्ण रुपमा नेपालीपनको संघीयता आइनसकेको समेत उल्लेख गर्दै आफूहरु निरन्तर नेपालीपनको संघीयताको लागि लागिरहेको र यसका लागि नेवार लगायत सम्पूर्ण जनजातिहरुले साथ दिन आवश्यक रहेको जिकिर गर्नुभयो ।


सोही कार्यक्रममा नेवार समुदायलाई आफ्नो ज्ञान र शीपका साथै तन, मन, धनबाट सेवा दिँदै आउनु भएका नेवार अगुवा डा. महेशमान श्रेष्ठलाई ‘हलिं नेवाः, नेपाः’ हना सिरपाःबाट सम्मानित गरिएको थियो । उहाँले नेवार जातिको उत्थानको लागि खेल्नुभएको अहम् भूमिकाका लागि उहाँलाई सो पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेवाः देय् दबूका निवर्तमान अध्यक्ष नरेश ताम्राकार, हलिं नेवाः दबू नेपाल च्याप्टरका पूर्वअध्यक्ष नरेन्द्रभक्त हाडा, केन्द्रीय उपाध्यक्ष रजनी प्रधान, केन्द्रीय महासचिव समन्त बज्राचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल च्याप्टर अध्यक्ष शाक्य सुुरेनको सभापतित्वमा भएको कार्यक्रममा सदस्य रमेशमान मुनिकारले धन्यवाद ज्ञापन र सहकोषाध्यक्ष सुदय राज शिलाकारले कार्यक्रम संचालन गर्नुभएको थियो ।
साधारणसभाबाट चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा रमेशमान मुनिकार, राधेश्याम त्वानाबासु, श्यामप्रसाद श्रेष्ठ, महासचिव सुदय राज शिलाकार, सचिव कस्तुरी श्रेष्ठ, कोषाध्यक्ष अञ्जना ताम्राकार, सहकोषाध्यक्ष मंगलरत्न ताम्राकार चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा शान्ति वैद्य, शोभा श्रेष्ठ, भागवत नरसिंह प्रधान, विकास महर्जन, खगेन्द्र प्रसाद जोशी, धर्मदेव महर्जन, पद्मलक्ष्मी ताम्रकार चयन भएका छन् ।
कार्यसमिति चयन गर्नु पूर्व सचिव रत्नकाजी महर्जनले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध