शरीर, मन र अध्यात्मचेतका लागि योग

हाम्रो शरीरलाई हाम्रो मनसँग लगेर जोड्ने प्रयास गर्नु नै योग हो । त्यो भन्दा अझ अगाडि गएर हाम्रो आत्मालाई परमात्मासँग लगेर जोड्ने प्रयास गर्नु नै सही योग हो । शरीरलाई आत्मासँग जोड्ने र आत्मालाई परमात्मासँग जोड्ने मूल ध्येय राखेर गरिने विविध क्रियाकलाप नै योगसाधना हो । वास्तवमै भन्नुपर्दा योगले मानिसलाई आध्यात्मिक चेतनाले परिपूर्ण बनाउँदै शारीरिक एवम् मानसिक स्वस्थ बनाउन सिकाउँछ । योगले मनका विकारहरुलाई परित्याग गर्न घच्घच्याउँछ । भनिएको छ योगस्चित्त वृत्तिः निरोध अर्थात् योगले मनका वृत्तिहरुलाई निरोध गर्दछ । योग विभिन्न प्रकार छन् । राजयोग, हठयोग, पतञ्जली योगलगायतका विविध योगमध्ये प्रस्तुत पंक्तिहरु पतञ्जली योगमा केन्द्रित छन् ।
परापूर्वकालमा योगलाई एउटा अदृश्य शक्तिका रुपमा चित्रण गरिएको पाइन्छ भने हिजोआज पतञ्जली योगले विश्वका आम सर्वसाधारणका लागि योग अति सुलभ, सरल र सरस बनाइदिएको छ । योगमा पारंगत हुन आवश्यक व्यायाम, यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्यागआदि जस्ता विविध विधिविधानलाई वर्तमान समयमा सबैका लागि अति सुगम तौरतरिकाले ग्रहणयोग्य बनाइदिएको छ । योगसाधनालाई एउटा प्याकेजकै रुपमा विकास गरेर बडो सुन्दर, सुगम र सुरम्य बनाइदिएको छ । नेपालपुत्र पतञ्जली ऋषिद्वारा प्रादुर्भाव पतञ्जली योगलाई वर्तमान समयसापेक्ष व्यवस्थित बनाउने कार्यको श्रेय भने योगऋषि बाबा रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णलाई जान्छ ।
उहाँहरुको अथक सद्प्रयासले आज विश्वका करोडौं मानिसमा योगचेतनाको विकास गर्न ठूलो मद्दत पुगेको छ । बदलिंदो जीवनशैली, अस्वस्थकर खानपान र व्यायामको कमीले मानिसलाई अस्वस्थ बनाउने रहेछ भन्ने चुरो कुरो योगले इंगित गरेपछि त्यसको निराकरणमा सहयोगसिद्ध योगसाधनाप्रति आममानिसको मोह बढ्दै गएको छ ।
हिजोआज स्वस्थ रहने, आत्मविश्वास बढाउने, अन्तस्करणको प्रतिभा प्रस्फुटन गर्ने, मानसिक तनावको व्यवस्थापन गर्ने, आध्यात्मिक चेत उजागर गर्ने, शरीरलाई आत्मासँग र आत्मालाई परमात्मासँग मिलनको प्रयास गर्ने अर्काे मार्गको नाम नै योगको रुपमा परिभाषित बन्न पुगेको छ । त्यसैले त आजका दिन हरेक घरघरमा, टोलटोलमा, बस्तीबस्तीमा गर्दै देशैभरि र विश्वका विभिन्न कुनामा योगाभ्यासका दृश्यहरु देख्न सक्छौं । आउनोस् तपाईं पनि योगसाधनाको माध्यमबाट आफूलाई शारीरिक रुपमा सशक्त, मानसिक रुपमा शान्त र आध्यात्मिक रुपमा सचेत बनाउने महान् यज्ञमा समाहित बनाउन चाहनुहुन्छ भने योग गर्नुस् । गरौं योग रहौं निरोग ।
दैनिक योगाभ्यासका सामान्य प्याकेज
पतञ्जली योग समितिद्वारा निर्धारित दैनिक योगाभ्यासको प्याकेजमा ७९ आइटम रहेका छन् । अपितु साधना केन्द्रहरुमा सामान्यरुपमा १२ दण्ड र ८ बैठक गरी २० वटा आइटममध्ये एक वटा (मिश्र दण्ड) मात्र गर्ने प्रचलन रहेको हुँदा कुल ६० आइटम दैनिक अभ्यास गराइने गरिएको छ । त्यसका लागि डेढदेखि २ घन्टाको समय निर्धारण गरिएको हुन्छ । साधारणतया शुरुआती समय बिहानको ५ बजे निर्धारण गरिएको छ । दिनको प्रथम प्रहरमा प्रकृतिमा अक्सिजनको मात्रा बढ्ने हुँदा योगमा श्वासप्रश्वासको क्रियाकलापका लागि बिहानी समय उपयुक्त मानिन्छ । वनस्पतिले बिहान कार्बन डाइअक्साइड सोस्ने र अक्सिजन छोड्ने अनि प्राणीले श्वासप्रश्वास गर्दा अक्सिजन लिने र कार्बन डाइअक्साइड छोड्ने कुरा विज्ञानले पनि प्रमाणित गरेको कुरा हो । त्यसैले बिहानी समय योगाभ्यासका लागि अति उपयुक्त मानिएको हो ।
हरेक बिहान ५ बजेदेखि अधिकतम ७ बजेसम्म २ घन्टाको समयावधिभित्र साधना गराइने ६० आइटम नियमित रुपमा गर्नुपर्ने हुन्छ । योगमा श्वासप्रश्वासलाई विशेष महत्व दिइएको हुन्छ । अभ्यासका हरेक आइटम श्वासप्रश्वासलाई ध्यान राखेर गराइन्छ । वास्तवमा अभ्यासरत नरहेको अवस्थामा पनि हाम्रो श्वासप्रश्वास त निरन्तर चलिनै रहेको हुन्छ, तथापि त्यो आफ्नै ढंगले मात्र चलिरहेको हुन्छ जसमा हाम्रो ध्यान नै गइरहेको हुँदैन । तर योगाभ्यासका क्रममा श्वासप्रश्वास गर्दा एउटा सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ । जस्तो सामान्य श्वासप्रश्वासमा श्वास लिँदा र छोड्दा समयावधिको कुनै होस गर्दैनौं तर योगाभ्यासरत अवस्थामा भने श्वास लिँदा होस्पूर्वक गहिरो रुपमा लिने र छोड्दा अथवा प्रश्वास गर्दा हलुका रुपमा छोड्नुपर्छ । श्वास लिंदा अलि लामो समय लिने र छोड्दा छोटो समयमा छोड्ने गर्नुपर्छ । गहिरो श्वास लिँदा ५ सेकेन्डजति लिएका छौं भने छोड्दा ३ सेकेन्डजतिमा छोडिदिनुपर्छ । योगाभ्यासमा हरेक श्वासप्रश्वास क्रिया होस्पूर्वक हुनै पर्छ ।
माथि भनिएको ६० आइटमको योगाभ्यासको शुरुमा लामो गहिरो श्वास लिँदै विस्तारै छोड्नै तीन पटक ओम्को उच्चारण गराइन्छ । त्यसपछि गायत्री, महामृत्युञ्जय, स्वाध्याय र प्रार्थना मन्त्रको उच्चारण गराउँदै सर्वे भवन्तु सुखिनको मंगलकामना पाठ गराइन्छ । तत्पश्चात् यौगिक जगिंगको १२ आइटम अभ्यास गराइन्छ ।
यौगिक जगिंगको १ नम्बरमा दुबै हात अद्र्ध मुठ्ठी पारेर गोडा र हात पालैपालो तलमाथि गराइन्छ ।
नम्बर २ मा दुबै हात माथि उठाएर कुर्कुचाले हिप छुने प्रयास गर्दै तलमाथि गराइन्छ ।
३ नम्बरमा दुबै हात कम्मरमा राखी गोडा माथि उठाउँदै घुँडाले छाती छुने प्रयास गराइन्छ ।
चौथो पोज कुर्सी आसनको पोज हो । यसमा दुबै हात कम्मरमा राखेर गोडा जोड्दै कुर्सीको आकार बनाई उठबस गराइन्छ ।
५ नम्बरमा दुबै हात अगाडि फैलाई गोडा साढे २ फिटजति फटाएर दायाँबायाँ बस्ने प्रयास गराइन्छ ।
अर्काे ६ नम्बर पोजमा दुबै हात कम्मरमै राखेर दायाँबायाँ मोड्दै एउटा गोडा तन्काउने र अर्काे गोडा खुम्चाउने गर्दै माथि आकाशतिर हेर्न लगाइन्छ । यसले हाम्रो कम्मर पिडुँलालगायतका अंग तन्दुरुस्त बनाउँछ ।
७ नम्बरमा गोडा साढे २ फिटजति फटाएर दुबै पाखुरा तन्काउँदै नमस्कार गरेजसरी अगाडि ल्याउने र फेरि दुबै हात तनक्क तन्काउँदै आकाशतिर दृष्टि फैलाउने कार्य गराइन्छ । यो प्रक्रियाले हाम्रो बक्ष अर्थात् छातीको भाग तन्दुरुस्त हुन्छ ।
त्यसपछि ८ नम्बरमा त्रिकोणासनको पालो आउँछ, जसमा दुबै गोडा साढे २ फिटजति फटाएर देब्रे हात कानसँग जोडेर माथि उठाउँदै दायाँतर्फ निहुरिएर दायाँ हातले गोडा छुने प्रयास गराइन्छ र सोही प्रक्रिया बायाँतिर पनि गराइन्छ ।
अर्काे ९ नम्बर आइटममा पनि कोणकै आसन गराइन्छ जसमा गोडा साढे २ फिटजति फटाएर दायाँ हातले बायाँ पैताला छुने अनि बायाँ हात माथि उठाएर हत्केला हेर्ने र सोही प्रक्रिया अर्काे तर्फ पनि गराइन्छ ।
१० नम्बरमा पादहस्तासनको पालो आउँछ । यसमा जयजयकार गर्दा जस्तै दुबै माथि उठाएर टाउको र कम्मर उत्तानो पर्नेजस्तो गर्दै फेरि अगाडिबाट निहुरिँदै दुबै हातलाई पाउसम्म छुन लगाइन्छ । अर्काे चर्चित अभ्यास पीटी ११ नम्बरमा आउँछ । पीटी अर्थात् फिजिकल थेरापीको व्यायाममा दुबै हात र गोडा फैलाउने, हातहरु माथि लगेर जोड्ने र त्यसको विपरीत गोडा फटाउने अनि फेरि हात फैलाउने गोडा जोड्ने कार्य गराइन्छ । यो प्रक्रियालाई मन्द, मध्य र तीव्र गरी तीन तहमा गराइन्छ, ताकि तीव्र गतिसम्म पुग्दा शरीरमा पसिना आवस् । पीटी अभ्यासले हाम्रो शरीरका सबै अंगप्रत्यंगमा राम्रो रक्तसञ्चार हुँदै तन्दुरुस्त हुन मद्दत गर्छ ।
यौगिक जगिंगको अन्त्य अर्थात् १२ नम्बरमा यौगिक नृत्यको पालो आउँछ ।
यौगिक नृत्यमा हातहरु दायाँबायाँ फैलाएर पैताला टेकेर कुर्कुचा उचाल्दै कम्मरदेखि तलको भाग दायाँबायाँ मर्काउँदै नृत्य गराइन्छ ।
यसरी यौगिक जगिंगले दैनिक योगका ६० आइटममध्ये २० प्रतिशत पूरा हुन्छ । यौगिक जगिंग शारीरिक अभ्यासले विशेष गरेर हाम्रो शारीरिक स्वस्थताका लागि मद्दत गर्छ । योगसाधनाका अन्य ८० प्रतिशत प्रक्रियाबारे अर्काे आलेखमा प्रस्तुत गरिनेछ ।
योगका कुनै पनि साधना, अभ्यास गर्दा केही ध्यान दिनुपर्ने पक्षहरु पनि छन् । जस्तो कुनै पनि अभ्यास गर्दा त्यसको तौरतरिका विधि स्पष्ट हुनुपर्छ । त्यस्तै त्यसबाट हुने लाभको पनि जानकारी राख्नुपर्छ । योगलाई श्वासप्रश्वासको खेल पनि भन्ने गरिन्छ । त्यसैले यसमा कहिले श्वास लिने र कहिले श्वास फाल्ने भन्ने हेक्का राख्नु अत्यन्त जरुरी छ ।
साधारणतया तन्किँदा तान्ने फुस्किँदा फाल्ने अर्थात् जिउ तन्किने अवस्थामा श्वास तान्ने वा लिने र जिउ खुकुलो हुने अवस्थामा श्वास फाल्ने अर्थात् प्रश्वास गर्ने कुरा सम्झिनु उपयोगी हुन्छ । र, अभ्यास गर्दा के के सावधानी अपनाउनुपर्छ त्यसको पनि हेक्का राख्नुपर्छ अन्यथा अभ्यास नमिल्दा योगले वियोगको सामना गर्नुपर्ने अवस्था पनि आइपर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध