छिट्टै बन्दै विश्व सम्पदा जोड्ने पदमार्ग
विश्व सम्पदा हनुमानढोका देखि अर्को विश्व सम्पदा स्वयम्भु सम्मको पदमार्गको काम अब छिट्टै सुरू हुने भएको छ ।
पदमार्गको कामको थालनी गर्न आज शहरी विकास मन्त्री रामकुमारी झाक्री सहितको उपस्थितिमा शहरी विकास मन्त्रालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मन्त्री झाक्रीले अब यो योजना अगडि बढाउन आवश्यक बजेटको व्यवस्था मिलाएर छिट्टै सुरू हुने बताउनु भएको छ ।
वैठकमा संघीय प्रतिनिधि सभाका सदस्यहरू जीवन राम श्रेष्ठ, गगन थापा, सचिव मणिराम गौतम, पुरातत्व विभाग महानिर्देशक दामोदर गौतम, कामपाका प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वर मान डंगोलको उपस्थित हुनुहुन्थ्यो ।
विश्व सम्पदा सुचिमा रहेको हनुमानढोका दरवार क्षेत्र र स्वयम्भु क्षेत्रलाई हेरिटेज ट्रेलको रुपमा विकास गर्ने निर्णय नागरिक उद्द्यन मन्त्री प्रेम बहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा पर्यटन मन्त्रालयमा मंसिर २३ गते बसेको वैठकले गरेको थियो ।
मंसिर २३ गतेको वैठकले माननीय जीवन राम श्रेष्ठको संयोजकत्वमा ५ जनाको स्टेरिङ्ग कमिटी गठन गरेको थियो। कमिटीका सदस्यहरु ईश्वरमान डंगोल, दामोदर गौतम, टेक नारायण पौडेल, पदम मैनाली रहनु भएको छ ।








