आधा जीत भएको छ – अध्यक्ष बस्नेत

नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल घोषणा गर्न माग गर्दै उहाँको १०६ औं जन्मजयन्ती नेपाल पत्रकार महासंघको सभाकक्षमा पौष १३ गते मंगलवार एक कार्यक्रमको आयोजना गरेको थियो ।
हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुख समेत हुनुहुन्छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा सम्बोधन गर्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघकै सभाकक्षमा कार्यक्रम गर्नुले मागले आधा जीत हासिल गरीसकेको बताए । उनले महासंघका अध्यक्षको अन्यत्रै कार्यक्रम भएकाले सहभागी नहुनु भए पनि इतिहासलाई आत्मसाथ गरेर अगाडि बढ्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बचन पनि दिनुभयो ।
अध्यक्ष बस्नेतले पत्रकार महासंघको संस्थापक बहसबारे महासंघका सम्बद्ध पक्ष पन्छिन नहुने बताउनुभयो । ‘नेपाली सञ्चारवृतमा उठिरहेको महासंघको संस्थापक अध्यक्ष बारेको बहसमा सम्बद्ध पक्षले जवाफ दिन आलटाल गर्ने होइन । यसबारे गम्भीर बहस र छलफल गर्नुपर्दछ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उहाँलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेवाः पत्रकार राष्ट्रिय दबूको माग छ । स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक हुनुहुन्थ्यो । उहाँकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ ।
उहाँकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि नेपाल पत्रकार संघको पुर्नगठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति हुनुभएको थियो । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।
समारोहका वक्ताहरुले २०१२ चैत्र १६ गते स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापित नेपाल पत्रकार महासंघ सोही पत्रकार संघलाई पुनःगठन गरी बनाइएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक रुपमा सम्मान गर्नुपर्ने माग गरेका थिए ।
समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले संस्थापक अध्यक्षको बहसको उद्देश्य २०१२ सालमा महासंघको नेतृत्व गर्नुहुने स्वर्गीय भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासमा बंग्याइएको तथ्यलाई स्थापित गर्ने हो । नेपाल पत्रकार महासंघले आफ्नो संस्थापक अध्यक्षको प्रश्नमा पुनःविचार गर्न जरुरी रहेको पनि वरिष्ठ उपाध्यक्ष राईको भनाई रहेको छ ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिँहले सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन नगरेको बताउँदै भन्नुभयो ‘महासंघको अहिलेको संस्थापक अध्यक्षमा देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले स्वर्गीय श्रेष्ठको योगदानको इतिहासको बिस्मृतिमा परेको हो ।’
स्वर्गीय श्रेष्ठकी छोरी सुजिता मानन्धरले सो विषयमा थप अध्ययन र प्रमाणहरु जुटाउँदै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले इतिहासको तथ्यलाई मेट्न खोजिएकोले पत्रकार महासंघको संस्थापकको मुद्दा न्यायको लडाईका रुपमा रहेको बताउनुभयो । उहाँले संचारग्राममै संस्थापक अध्यक्षको मान दिई सत्यनारायण बहादुर श्रेष्ठको प्रतिमा स्थापना गर्नुपर्ने बताउनु हुँदै जन्मजयन्ती मनाउने जिम्मेवारी पनि पत्रकार महासंघले नै लिनुपर्ने बताउनु भयो ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले इतिहासको अपव्याख्या गर्न नहुनेमा जोड दिँदै भन्नुभयो “२००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरुका संगठन गठन गर्नुभयो । यो उहाँको दुरदर्शीताको प्रमाण हो । इतिहासको यो कालखण्डको अपव्याख्या गर्नुहुन्न ।”
उहाँको तस्वीरमा अतिथी तथा उपस्थिति पत्रकारहरुले माल्यार्पण गरी समारोहको शुरुआत गरिएको थियो।सोही समारोहमा प्रमुख अतिथीको रुपमा व्यक्ति विशेष कसैलाई उल्लेख नगरी उहाँलाई प्रतिकात्मक रुपमा कार्यक्रमको मुख्य व्यक्ति रुपमा सम्बोधन गरिएको थियो ।
नेपाली सञ्चारवृतमा गृष्मबहादुर देवकोटाको नेपाली छापाखानाको इतिहास नामक पुस्तक र केही अन्य दस्तावेजलाई आधार लिएर महासंघको संस्थापक अध्यक्ष बारे बहस हुँदै आएकोमा एक दशकयता पत्रकार राष्ट्रिय दबूले ‘न्यायको लडाई’ को रुपमा अभियानलाई निरन्तरता दिदैैँ आउनुका साथै विगत ३ बर्षदेखि प्रत्येक पुस १३ गते उहाँको जन्मजयन्ती समारोहको आयोजना पनि निरन्तर गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध