मछिन्द्रनाथको जात्राले महामारी हटाउँछ ः बाराही

नेपालकै सबैभन्दा लामो जात्राका रुपमा प्रख्यात रातो मछिन्द्रनाथको रथजात्रा यसवर्ष यो जात्रा अन्यौलमा परेको छ । विगत १४०० वर्षदेखि यो जात्रा अहिलेसम्म नरोकिएको यस जात्रासँग सम्बन्धित व्यक्तित्वहरुको भनाइ रहेको छ । हुनत बैशाख शुक्ल प्रतिपदाकै दिन रथारोहण गरेर जात्रा सुरु गर्नु पर्ने भए पनि कोभिड–१९ महामारीका कारण जात्रा रोकिएको थियो । जात्राको क्रममा अहिले लकडाउन लूजडाउनतर्फ लागेको अवस्थामा जात्रा सञ्चालन गरिने समाचारहरु बाहिरिएका छन् । यसै सन्दर्भमा मेरो साप्ताहिकका लागि सम्पादक रत्नकाजी महर्जनले रातो मच्छिन्द्रनाथको रथजात्रासँग सम्बन्धित बाराही गुठीका नाइके दिलकुमार बाराहीसँग गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
बाराही गुठी के हो ?
बाराही गुठी रातो मछिन्द्रनाथको रथ जात्रा लागि चाहिने रथ निर्माण गर्ने समूहको गुठी हो । यस गुठीले रथजात्राका लागि आवश्यक काठहरुको लगत इष्टिमेट गर्नेदेखि लिएर रथ निर्माणमा काठको सम्पूर्ण कामको जिम्मेवारी बहन गर्दछ । यसैगरी रातोमच्छिन्द्रनाथको देवाली पनि यही गुठीले ज्योतिषहरुले उपलब्ध गराएको साइत अनुसार गर्ने परम्परा रही आएको छ ।
यस वर्षको जात्राको लागि रथ निर्माणको कार्य के भइरहेको छ ?
रातोमछिन्द्रनाथको रथ करिब ९५% निर्माण सकिएको छ । असार १० गतेबाट हामीले रथ निर्माणको कार्य थालेका थियौं । हुनत चैत्र २८ गतेबाट नै रथ निर्माण थाल्नु पर्ने थियो । तर त्यतिबेला लकडाउन भएका कारण काम अगाडि बढाउन सकिएन । लकडाउनकै बीचमा गुठी संस्थानसँग पटक पटकको बैठकका बीच सहमति भए पनि रथ निर्माण थालिएको हो । यसैबीच जेठ ९ गते नगरपालिकामा बसेको बैठकमा असारबाट लकडाउन लूजडाउनमा जाने र त्यही समयमा रथ निर्माण अगाडि बढाउनु उपयुक्त होला भन्ने निर्णय भएको थियो । जेठ ३२ गतेपछि लूजडाउन भए पछि यसअघि रोकिएको मीननाथको धःमाः असार ३ गतेबाट बनाउने काम थालेका थियौं । यसैगरी ८ गते एक बैठक बसेर जिल्ला प्रशासन कार्यालयमा जानकारीको पत्र दिएर १० गतेबाट रथ निर्माण थालेका थियौं । त्यहीक्रममा असार २४ गते नै रथारोहण गराउने भन्ने साइत जुरेको थियो । त्यही अनुरुप हामीले काम सकाउने गरी काम गरेका थियौं । तर २३ गते हामीलाई २४ गते हुने रथारोहण लगायतका काम कोभिडको जोखिमलाई ध्यानमा राखेर तत्काललाई रोक्न निर्देशन दिई पत्र दिएका कारण रोकिएको अवस्था रहेको छ ।
अब जात्रा कहिले हुन्छ ?
यस विषयमा ज्यापु समाजमा २३ गते नै ५ बजे बैठक बसेको थियो । सो बैठकमा १९ जातीय खलःपुचःहरुको उपस्थिति रहेको थियो । बाराही, ञवा, घःकू, पानेजु लगायत सबै बसेर छलफल हुँदा प्रहरी, प्रशासनलगायत सबै ठाउँमा निवेदन दिँदा श्रावणको ७ गतेपछि धार्मिक क्षेत्रमा फुकुवा हुन सक्ने र त्यसपछि निर्माणको लागि पनि स्वीकृति दिन सकिने भनिएको जानकारी मलाई आएको छ । त्यही छलफलमा त्यसो भए ७ गते रथारोहण गराई १० गते तान्नु पर्ला भन्ने छलफल भएको हो । त्यतिबेला धेरैको धेरै थरि प्रस्ताव आएको थियो । जसमध्ये जात्रालाई सकेसम्म छिटो सकाउनका लागि पहिले २ दिन राखिने ठाउँमा एक दिन मात्र राखेर भए पनि जात्रा सम्पन्न गर्ने कुरा आएको थियो । जात्रामा धेरै मान्छे सहभागी नगराउनका लागि तान्नका लागि ६०–७० जना मात्र राख्ने, जात्रा हेर्न आउनेहरुलाई पनि घरघरमा राखेर मात्र देखाउने, जात्राको टेलिभिजनहरुबाट लाइभ प्रशारण गर्न लगाउने, सकेसम्म हूल गर्न नदिने विषयमा छलफल भएको थियो ।
अर्कोकुरा ७ गते रथारोहण गराएर १० गते तान्ने र कसै कसैले २४ गते नै भोटो जात्रा गर्ने समेतको कुरा ल्याएको थियो । जसको मैले खण्डन पनि गरेको छु ।
रथारोहणपछि अरु समयमा रथ तानिने मात्र गरिने भए पनि लगनखेल पुगीसकेपछि नरिवलले अभिषेक गर्ने दिनका लागि मछिन्द्रनाथको देवालीको साइत हेर्नु पर्छ । सो साइतमा मात्र नरिवल अभिषेक गरिन्छ । देवाली पूजा बिहीवारका दिन मात्र हुने गर्दछ भने सोही दिन ज्योतिषबाट लगनखेलबाट जावलाखेल रथ तान्ने दिनको साइत निकालिन्छ । त्यही दिन रथ तानेर लगनखेलबाट जावलाखेल पु¥याइन्छ । जावलाखेल पुगेको चौथो दिन भोटो जात्रा हुन्छ । यसरी जात्रा गर्नु पर्ला भन्ने विषयमा छलफल मात्र भएको हो, गर्न सकिने अवस्था छैन ।

देवताको रथारोहणका लागि साइत आवश्यक छैन भनिन्छ नि ?
मछिन्द्रनाथको हरेक क्रियाकलाप महास्नान, रथारोहण, रथ तान्नेदेखि लिएर देवाली र जावलाखेल यात्राका लागि समेत ज्योतिषबाट साइत हेराउने चलन छ । यसमा हामीले यो दिन गर्नुपर्छ भनेर हुँदैन । ज्योतिषहरुकै सल्लाहमा जात्रा सञ्चालन गरिँदै आएको छ । मलाई जानकारी आएसम्म दुई चार दिनपछि ज्योतिषसँग सल्लाह गरेर एक दिन जुन दिन हुन्छ त्यो दिन राख्नु पर्छ भन्ने गुठी संस्थानबाट जानकारी प्राप्त भएको छ ।
रथारोहण अगाडि एक पूरै दिनको काम बाँकि रहेको छ । असार २३ गते काम रोक्नु भन्ने पत्र आइसकेपछि पुनः सुचारु गर्नु भन्ने पत्र नआएसम्म हामीले काम गर्न सक्ने अवस्था छैन ।
यो जात्रा रोक्दा केही फरक पर्छ र ?
मछिन्द्रनाथको जात्रा भएको करिब १४०० वर्ष भइसकेको छ । अहिलेसम्म कुनै पनि समयमा यो रोकिएको भन्ने सुनिनमा आएको छैन । फेरि मछिन्द्रनाथको रथजात्रा भनेकै अनिकाल हटाउनका लागि यहाँ ल्याएर जात्रा गरिएको भन्ने किंवदन्ति छ । यसैले यो जात्रा भएको खण्डमा अहिले फैलिरहेको महामारी पनि हटेर जान्छ भन्ने सबैको धारणा रहेको छ ।
रातोमछिन्द्रनाथको रथजात्रा रोकिएको खण्डमा भक्तपुरमा लान्छ भन्ने चर्चा छ, के यो सत्य हो ?
यस्तो हल्ला चाहिँ चलेको छ । खासमा यस्तो कहिल्यै भएको छैन । मछिन्द्रनाथलाई दशैंको लागि बुंगमतिमा लानु पर्छ भन्ने भनाइ छ । बुंगमति लगिएन भने भक्तपुर लान्छ, यसोत्यसो भनेर हल्ला चलाएको मात्र हो । यो हल्ला देउटा चाँडै बुंगमति पु¥याउनका लागि गरेको हुन सक्छ । यसअघि कहिल्यै भक्तपुर लगिएको छैन । हल्ला मात्र हो ।
यो जात्रा सञ्चालनका लागि अरु पनि विकल्पहरु छन् कि ? जस्तै खतमा राखेर नगर परिक्रमा गराउन सकिन्छ कि ?
खास गरेर मछिन्द्रनाथको रथै तानेर जात्रा गरिनु पर्छ । थ्यासफूहरुमा लेखिए अनुसार मछिन्द्रनाथ १४०० वर्षको लागि यहाँ आउने, त्यसपछि मन लागे बस्ने मन नलागे जहाँबाट आएको हो त्यहिँ फर्किने भन्ने छ । मछिन्द्रनाथलाई खतमा राखेर घुमाइयो भने मछिन्द्रनाथ यहाँबाट गइसकेको भाव हुन्छ भनेर भनिएको छ । यसैकारण रातोमछिन्द्रनाथको रथ जात्रै हुन्छ । यो जात्रा रोकिएको खण्डमा रातो मछिन्द्रनाथ फर्किएसरह नै हुन्छ ।
अन्तमा मेरो साप्ताहिकका पाठकहरुका लागि यहाँको कुनै सन्देश भए राखीदिनु हुन अनुरोध छ ।
मछिन्द्रनाथको जात्रा भनेको नेपालको धार्मिक परम्परा हो । यसलाई सबैको साथ र सहयोगले जोगाई राख्नु पर्दछ । संस्कृति सम्पदाले देशलाई चिनाउन मद्दत गर्दछ । रातो मछिन्द्रनाथको जात्रा विश्वमै प्रख्यात जात्रा हो । यसैले यो जात्रा सबै मिलेर जोगाउन आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध